Like us!
Follow us!
Connect us!
Watch us!

ढल्केबर सवस्टेशन : आगामी कात्तिकभित्र सम्पन्न गर्ने कार्यतालिका, आशंका कायमै

शनिबार, २८ साउन २०७४, १९ : ०० मा प्रकाशित

ढल्केबर सवस्टेशन  : आगामी कात्तिकभित्र सम्पन्न गर्ने कार्यतालिका,  आशंका कायमै

  • रमेश लम्साल

अर्थ संसार, काठमाडौं  मुलुकको विद्युत् प्रसारणको ‘प्रमुख हव’को रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी), परामर्शदाता पावर ग्रीड इन्डियाले नेपालको आवश्यकता र वाध्यतालाई केन्द्रबिन्दुमा राखेर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने कार्यतालिका तय गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले अगाडि सारेका सुधारका कार्ययोजनामा अवरोध उत्पन्न भएको र ढल्केबर सवस्टेशनको काम समेत सम्पन्न नहुने हो भने आगामी हिउँदमा विद्युत्भार कटौती पुनः हुने हो कि भन्ने आशंका कायम रहेको बेला पछिल्लो पटक तय भएको कार्यतालिकाले नयाँ आशाको सञ्चार गरेको छ ।

धनुषाको ढक्केबरमा सव स्टेसन निर्माण गरिरहेको चिनियाँ ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले १५ कात्तिकभित्रमा काम सक्ने प्रतिबद्धता जनाएको छ । हाल करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

बाँकी १० प्रतिशत कार्य सम्पन्न गराउन ऊर्जा मन्त्रालय, प्राधिकरणका तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोग गरिने प्रतिवद्धता समेत जनाइएको छ ।

विगत सात वर्षदेखि निर्माणको क्रममा रहेको भरतपुर–बर्दघाट प्रसारण लाइनको ठेक्का प्राधिकरणले तोडेर ठेकेदारको बैंक ग्यारेन्टीको रुपमा रहेको रु ३० करोड रकम समेत जफथ गरेपछि ढल्केबर सवस्टेशन निर्माण कार्य रोकेको थियो ।

ठेकेदारले आफूहरुसँग भएको सम्झौता तोडेको भन्दै ढल्केबरको काम समेत नगर्ने र अलपत्र छाड्ने चेतावनी दिएको थियो ।प्रसारण लाइन निर्माण र सवस्टेशनको विषय फरक फरक योजना भएकाले समान रुपमा हेर्न नहुने भन्दै प्राधिकरणले तत्काल सवस्टेशनको काम अगाडि बढाउन ठेकेदारलाई आग्रह गरेको थियो ।


धरौटी  जफथ गरेपछि सिसिपिजीका आयोजना प्रबन्धक  गेङ जैलिङले प्राधिकरणलाई ठल्केबर सव स्टेसनको काम आंशिकरुपमा रोकिएको जानकारी गराएका मात्रै थिएनन् काम नगर्ने भन्दै निर्माण स्थल छाड्ने बताएका थिए ।

आग्रह अटेर गरे ठेकेदारमाथि थप कारवाही हुने भन्दै प्राधिकरणले चेतावनी समेत दिएको सन्दर्भमा सरोकार भएका पक्षबीच नयाँ सहमति भएको हो ।

ऊर्जा मन्त्री महेन्द्र बहादुर शाही, सचिव अनुप कुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उच्च स्तरीय टोलीले केही दिन पहिले आयोजना स्थलको  स्थलगत निरीक्षण गरि निर्माण सक्न ४ बुँदे निर्देशनात्मक निर्णय समेत गराएका छन् ।

ठेकेदारको यस्तो प्रतिबद्धतापछि हिउँदमा विद्युत्भार कटौती अन्त्यका लागि भारतबाट थप विजुली ल्याउन मार्ग प्रशस्त भएको ऊर्जा मन्त्री शाहीको भनाइ छ ।

हाल मुजफ्फरपुरमा एक सय एमभीको ट्रान्सर्फमर राखेर १४५ मेगावाट विद्युत् आयात भइरहेको छ । निर्माणाधिन सवस्टेशनको क्षमता २२० केभीको भएकाले विद्यमान ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनलाई ४०० केभीमा चार्ज गरी नेपाललाई आवश्यक पर्ने जति विद्युत् आयात गर्न सकिन्छ ।

उक्त सव स्टेसनबनेपछि भारतबाट थप विद्युत् आयात गर्न सकिने र सो प्रसारण लाइनबाट आयात हुने विद्युत् अन्यत्रको भन्दा सस्तो समेत पर्न जान्छ ।

गत भदौ १३ गते तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले चार महिनाभित्र सवस्टेशन निर्माण सम्पन्न गर्न ठेकेदारलाई सहमत गराउनुभएको थियो । अलपत्र अवस्थामा रहेको सवस्टेशन निर्माण कार्यले गति लिए पनि सम्पन्न भने हुन सकेको छैन ।

‘एक वर्षमा  सव स्टेसन निर्माणमा धेरै काम भएको छ । तर ढुक्क भएर बस्ने अवस्था भने छैन, आगामी हिँउदमा मुलकुलाई पुनः अध्यारोमा राख्ने भन्ने हुन्न । अब तोकिएकै समयमा पूरा हुनुपर्छ । कुनै पनि शर्त र वाहाना सरकारलाई मान्य हुन्न’ ऊर्जा मन्त्री शाहीले भन्नुभयो ।

उहाँले काम गर्दा कुनै समस्या आइपरे तत्काल मन्त्रालयलाई खबर गर्न आग्रह गर्दै भन्नुभयो ‘ यो आयोजना कति महत्वपूर्ण छ भन्ने कुरा हामीलाई मात्र थाहा छ । अब कुनै वाहाना र ढिलासुस्तीले काम गर्दैन ।भन्ने कुरा हामीलाई मात्र थाहा छ । अब कुनै वाहाना र ढिलासुस्तीले काम गर्दैन ।’

आयोजनाको परामर्शदाता पावर ग्रिडले सवस्टेशन भित्रको नाला निर्माणको अन्तिम नक्शा नदिएको भन्दै ठेकेदारले आपत्ति जनाएको थियो । चार बुँदे निर्णयपछि परामर्शदाताले उक्त नक्शा समेत दिइसकेकाले गरेको कामको भुक्तानी समेत हुने भएको छ ।

स्थलगत अनुगमनमा आयोजना, परामर्शदाता र ठेकेदार काम रोकिनुमा एकले अर्कोलाई आरोप लगाउँदै पन्छन थालेपछि आक्रोशित बन्नुभएका ऊर्जा सचिव उपाध्यायले भन्नुभयो ‘किन काम रोकिएको, कस्का कारणले निर्माण ढिला भयो, एकले अर्कोलाई आरोप लगाएर समस्या समाधान हुन्छ, काम अझै पनि ढिला भयो भने हामीलाई मान्य हुँदैन, जस्तो सुकै कारबाही गर्न तयार छौं ।

कारवाही भोग्न तयार हुनुहोला

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँकी काम तत्काल सुरु गर्न निर्देशन दिनुभयो । ‘बाँकी निर्माण सम्पन्न गर्न लाग्नुस, गरेको कामको भुक्तानी परामर्शदाबाट सिफारिस भएर आउन साथ उपलब्ध गराउँछौ । अब कुनै बहाना बनाएर काम रोक्न मिल्दैन ’ घिसिङले भन्नुभयो ।

सवस्टेसनका उपकरण निर्माणस्थलमा  आइसकेका छन् । भौतिक तर्फको ९० प्रतिशत काम सम्पन्न भएको  छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम सकिएको छ । नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालनलगायतका काम बाँकी रहेको आयोजना प्रमुख राधेश्याम यादवले जानकारी दिनुभयो ।

चिनियाँ ठेकेदार सिसिपिजीका आयोजना प्रबन्धक  गेङले एक वर्षमा यति धेरै काम गरेको कम्पनीलाई बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने बताउनुभयो ।

‘यो सवस्टेशनको महत्व कति छ हामीले बुझेका छौ, तर हाम्रा केही मागलाई सम्बोधन नहुँदा समस्या आएको हो तर अब कुनै दुविधा रहेन । यसलाई जतिसक्दो छिट्टो सक्ने तयार छौं’उहाँले भन्नुभयो ।  
मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव स्टेसन निर्माण भइरहेको हो ।

प्राधिकरण र चिनियाँ कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र (२९ डिसेम्बर २०१५) काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । चिनियाँ ठेकेदारले  तोकिएको समयका काम गर्न नसकेपछि प्राधिकरणले चार पटकसम्म म्याद थप गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको