Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि बिम्स्टेक बैठक शुरु, प्राविधिक तथा आर्थिक सहयोगका क्षेत्रमा छलफल हुंदै

विहीबार, २६ साउन २०७४, ०८ : १५ मा प्रकाशित

आजदेखि बिम्स्टेक बैठक शुरु, प्राविधिक तथा आर्थिक सहयोगका क्षेत्रमा छलफल हुंदै

अर्थ संसार, काठमाडौं । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को १५औँ मन्त्रिस्तरीय बैठकको सम्पूर्ण तयारी पूरा भएको छ ।

व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासका निम्ति २० वर्षअघि स्थापना भएको दक्षिण तथा दक्षिण पूर्वी एशियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको बिहीवारदेखि राजधानीमा हुने मन्त्रिस्तरीय बैठकको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

मन्त्रिस्तरीय बैठकअघि हुने उक्त संगठनको सदस्य मुलुकका विदेशरपरराष्ट्ररबाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम)को १८औँ बैठकमा भाग लिन केही देशका सचिव र अन्य राष्ट्रका उच्च अधिकारी बुधवार अपराह्न राजधानी आइपुगेको परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले बताए ।

एसओएममा भाग लिन भारतको बाह्य मामिला मन्त्रालयका सचिव प्रीति शरण, भूटानको विदेश मन्त्रालयका सचिव सोनाम छोङ, बङ्गलादेशका विदेश सचिव मोहम्मद शहिदुल हक, म्यान्माको परराष्ट्र मन्त्रालयको अन्तरराष्ट्रिय संगठन तथा आर्थिक विभागका महानिर्देशक क्वा मो तुन, श्रीलङ्काको विदेश मन्त्रालयका अतिरिक्त सचिव ग्रेस आशिर्वाथन र थाइल्याण्डको विदेश मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक मामिला विभागका नायब महानिर्देशक इकसिरी पिन्टारुची काठमाडौँ आइपुगेको जानकारी उनले दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार अपराह्न मन्त्रिस्तरीय बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बिहविार नै सबै सदस्य देशका विदेशरपरराष्ट्ररबाह्य मामिलामन्त्री राजधानी आइपुग्ने कार्यक्रम छ । म्यान्माबाट परराष्ट्र राज्यमन्त्री र थाइल्याण्डबाट उपविदेशमन्त्रीले बैठकमा भाग लिने महाशाखा प्रमुख भट्टराईले बताए ।

बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुनाकासाथै बैठकले बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको चौंथो शिखर सम्मेलनको मिति टुङ्गो लगाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, बैठकले काठमाडौंमा यसै वर्षको प्रारम्भमा भएको १७ औँ एसओएमको प्रतिवेदन अनुमोदन र बिहीवार हुने १८ औँ बैठकको प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यसूची छ ।

गत वर्ष भारतको गोवामा भएको बिम्स्टेक शीर्ष नेतृत्वको ‘रिट्रिट’ का क्रममा भएका छलफल, त्यसको प्रगति तथा उपलब्धि तथा अनौपचारिक परामर्शमा सहमति जनाइएका कार्यक्रम कार्यान्वयनका विषयमा बैठकमा छलफल हुनेछ ।

मन्त्रिस्तरीय बैठकको कार्यसूचीअनुसार सदस्य राष्ट्रबीच सहकार्य गर्न पहिचान गरिएका १४ क्षेत्रमा हालसम्म भएका प्रगति, भावी महासचिवको नियुक्ति, बहालवाला महासचिवको पदावधि, १६औं मन्त्रिस्तरीय बैठकको मिति तथा स्थान र १५औं मन्त्रिस्तरीय बैठकसम्बन्धी संयुक्त वक्तव्यलाई अनुमोदन गरिनेछ ।

आर्थिक, सामाजिक, प्राविधिक र वैज्ञानिक क्षेत्रका साझा चासोका विषयमा पारस्परिक सहकार्य र सहयोग प्रवद्र्धन, सदस्य राष्ट्रका राष्ट्रिय विकासका योजनामा जनताले अनुभूत गर्ने किसिमका सहयोगात्मक एवम् परिणाममुखी साझेदारीलाई प्रोत्साहन गर्दै सदस्य देशका जनताको जीवनस्तर उकास्ने बिम्स्टेकका लक्ष्य र उद्देश्य हासिल गर्न बैठकले फलदायी हुने विश्वास गरिएको छ ।

मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गर्नेछन् । त्यसैगरी एसओएममा मुलुकको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले गर्नेछन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको