Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ! तपाईंहरु विदेश जाँदा कहाँ सार्बजनिक विदा दिइएको छ? कहाँको बाटो, एयरपोर्ट बन्द भएको छ ? जवाफ पाऊँ

शनिबार, २० कार्तिक २०७३, १६ : ३० मा प्रकाशित

सरकार ! तपाईंहरु विदेश जाँदा कहाँ सार्बजनिक विदा दिइएको छ? कहाँको बाटो, एयरपोर्ट बन्द भएको छ ? जवाफ पाऊँ

महाबीर पुन
काठमाडौं–म्यागासेसे पुरस्कार विजेता महावीर पुनले भारतीय राष्ट्रपतिलाई सरकारले गरेको चाकडीप्रति कटाक्ष गरेका छन् । उनले विदेशी पाहुना आउँदा बनाइएको कार्यक्रमले देशको अर्थतन्त्रलाई घाटा पुर्याएको बताएका छन् ।
पुनले फेसबुकमा ‘बिशेष अनुरोध’ शीर्षकमा लामो टिप्पणी लेख्दैविशिष्ट बिदेशी पाहुनाहरुलार्इ निमन्त्रणा गर्दा उनीहरुको कार्यक्रम बनाउनुअगाडि केही कुराहरुमा एकदमै गहिरीएर सोच्न आग्रह गरेका छन्  । 
उनले लेखेका छन्ः 
हुन त धेरै पहिलादेखि नै विशिष्ट बिदेशी श्रेणीका पाहुनाहरु नेपाल आउँदा सार्बजनिक बिदा दिने चलन चलिरहेकै हो। पूर्वराजाहरु विदेश जाँदा र स्वदेश फर्कदा पनि सार्बजनिक बिदा दिने चलन चलेकै थियो । हालै भारतीय राष्ट्रपतिको भ्रमणमा पनि त्यसै गरियो । यसरी सार्बजनिक बिदा घोषणा गर्दा र विशिष्ट पाहुनाहरु आउंदा गरिने कार्यक्रमहरु बनाउंदा अति ध्यान दिनु पर्ने हो। यसरी ध्यान नदिंदा देशले कस्तो कस्तो आर्थिक घाटा बेहोर्नु पर्दछ र जनताहरुले कस्तो सास्ती भोग्नु पर्दछ भन्ने कुरा सरकारले थाहा पाउनु जरुरी छ । जुन कुरा सरकारमा बस्ने महानुभाबहरुलाई थाहा छैन भने यहाँ राख्न चाहन्छु ।
सर्बप्रथम पोखरा एयरपोर्ट बन्द भएको कुराबाट सुरु गर्दछु ।
१. भारतीय राष्ट्रपति आउंदा एकदिनको लागी पोखरा एयरपोर्ट दिनभरि बन्द गरियो । यस्तो गर्दा यति, बुद्ध र अन्य एयरलाइन्सहरुको कम्तिमा पनि २० ओटा फ्लाईटहरु भएनन् । यसरी ती एयरलाइन्सले ठूलो आर्थिक घाटा व्यहोर्नु पर्यो। त्यसको साथै ती फ्लाईटबाट आउने हजारौं पर्यटकहरु नआउँदा पोखराको होटेलहरुले ठूलो घाटा व्यहोर्नु पर्यो । त्यसरी नै पोखराबाट काठमाडौँको फ्लाईट नहुँदा काठमाडौँको होटेलहरुले पनि थुप्रै आर्थिक घाटा व्यहोर्नु पर्यो । अनि फ्लाईट नभएर तोकिएको कार्यक्रमभन्दा पर्यटकहरुलाई एक दिन बढी राख्नु पर्दा टुर अवरेटर र ट्राभल एजेन्टहरुलाई एक दिनको खर्च घाटा पर्न गयो । कतिपय व्यक्तिहरुको अन्तराष्ट्रिय कनेक्टिङ फ्लाइट पनि छुट्यो । सरकारमा बस्ने महानुभाबहरुलाई पहिला यो कुरा थाहा थियो कि थिएन । अहिले थाहा छ कि छैन ?
२. सार्बजनिक बिदा भन्ने बित्तिकै स्कूल र कलेजमा पढ्ने लाखौँ बिद्यार्थीहरुको एक दिनको पढाई नोक्सान भयो । जुन घाटालाई आर्थिक रुपमा यति उति भनेर हिसाब निकाल्न गाह्रो छ । तर यो ज्यादै ठूलो क्षति हो । त्यसको साथै स्कुल र कलेजमा पढाउने सम्पूर्ण शिक्षकहरुलाई दिईने करोडौंको तलब अनुत्पादक भएर त्यत्ति कै खेर गयो । सरकारमा बस्ने महानुभाबलाई पहिला यो कुरा थाहा थियो कि थिएन ? अहिले थाहा छ कि छैन ?
३. यसरी बिदा हुँदा सरकारी अस्पतालहरुका र सरकारी कार्यालयहरुका कर्मचारीलाई दिईने करोडौंको तलब त्यसरी नै अनुत्पादक हुन्छ । जुन कुरा नेपाल जस्तो गरिब राष्ट्रको लागि ठूलो घाटा हो। सरकारमा बस्ने महानुभाबहरुलाई पहिला यो कुरा थाहा थियो कि थिएन ? अहिले थाहा छ कि छैन ?
४. बिदाको दिन नेपालभरिका सरकारी अस्पतालहरु बन्द हुँदा लाखौँ नेपालीहरुले स्वास्थ्य सेवाबाट बन्चित हुनु पर्ने हुन्छ र हजारौं सिकिस्त बिरामीहरुको ज्यान जान पनि जानसक्छ । सरकारमा बस्ने महानुभाबहरुलाई पहिला यो कुरा थाहा थियो कि थिएन ? अहिले थाहा छ कि छैन ?
५. बिभिन्न सरकारी कार्यालयहरुमा काम बिशेषले सदरमुकाम जाने लाखौँ नेपालीहरुले अचानक बिदा हुंदा एक दिन बढी कुर्नुपर्ने हुन्छ । यसो गर्दा लाखौँ नेपालीहरुको एक दिनको श्रम र सदरमुकाममा बस्दा लाग्ने खर्च त्यत्तिकै खेर जान्छ । सरकारमा बस्ने महानुभाबहरुलाई पहिला यो कुरा थाहा थियो कि थिएन ? अहिले थाहा छ कि छैन ?
६. अन्तराष्ट्रिय विमानस्थल घन्टौंसम्म बन्द गर्दा नेपाल भित्रिने र नेपालबाट बाहिर जाने यात्रुहरुले धेरै दुख भोग्नु पर्ने हुन्छ । विदेशबाट आउने हवाईजहाजलाई डाइभर्ट गरेर अन्य कुनै मुलुकमा लैजानु पर्दा अथवा हवाइजहाजलाई २–३ घण्टा आकाशमै होल्ड गरेर बस्नु पर्दा आर्थिक रुपमा धेरै घाटा हुन्छ । काठमाडौँको एयरपोर्टबाट फ्लाईट ढिलो भयो भने विदेशका बिभिन्न मुलुकमा जाने यात्रुहरुको कनेक्टिङ फ्लाइट छुट्न सक्छ । सरकारमा बस्ने महानुभाबहरुलाई पहिला यो कुरा थाहा थियो कि थिएन ? अहिले थाहा छ कि छैन ?
७. कतिपय स्वदेशी तथा बिदेशी यात्रुहरु नेपालकै बिभिन्न जिल्लाहरुबाट डोमेस्टिक फ्लाइटमा काठमान्डू आई सोहि दिनको अन्तराष्ट्रिय उडानमा विदेश जान्छन । यसरी बिदेशी विशिष्ट पाहुनाहरु आउंदा काठमाडौँको एयरपोर्ट बन्द गर्दा उनीहरुको फ्लाइट छुट्न जान्छ । जसले गर्दा उनीहरुले ठूलो मानसिक तनाब र आर्थिक घाटा व्यहोर्नु पर्दछ । सरकारमा बस्ने महानुभाबहरुलाई पहिला यो कुरा थाहा थियो कि थिएन ? अहिले थाहा छ कि छैन ?
८. अन्य मुलुकहरुमा बिदेशी विशिष्ट पाहुनाहरु आउँदा नेपालमा जस्तै गरेर ‘हाँडीगाउँको जात्रा’ जस्तै धुमधामका जात्राहरु गर्ने चलन छैन अथवा मैले थाहा नपाएको पनि हुन सक्छ । तपाई नेपालका राष्ट्र प्रमुखहरु विशिष्ट पाहुना भएर विदेशमा जाँदा कुन कुन देशमा सार्बजनिक बिदा भएको छ ? कहाँका बाटाहरु बन्द भएका छन् ? कहाँको पुरै एयरपोर्ट कैयौं घण्टा र दिनभरी बन्द भएको छ ? प्रष्ट पार्नुहोस । यो कुरा हामी जस्ता जनताहरुलाई पनि जानकारी दिनु भएमा अलिअलि भए पनि चित्त बुझ्ने थियो । तपाईं नेपालका राष्ट्र प्रमुखहरु विदेश जाँदा अरु देशका जनताहरुले पनि अलिअलि सास्ती पाएकै हो भने हामीलाई पनि चित्त बुझ्छ । यदि तपाईं राष्ट्र प्रमुखहरु अन्य देशहरुमा जाँदा सार्बजनिक बिदा भएका छैनन् । त्यहाँका जनताहरुले हामीले जस्तै सास्ती भोग्नु परेको छैन भने हामीले मात्र सार्बजनिक बिदा गर्नु पर्ने र हामीले मात्रै सास्ती भोग्नु पर्ने बाध्यता किन ? प्रष्ट पार्नु होला ।
त्यसैले अबका दिनहरुमा बिदेशी विशिष्ट पाहुनाहरुको लागी कार्यक्रम बनाउंदा यी माथि दिइएका कुराहरुमा ध्यान पुर्याउन नेपाल सरकारलाई मसहित सम्पूर्ण नेपालीहरुको अनुरोध छ । त्यस्ता कार्यक्रम बनाउंदा जनतालाई पर्ने पीरमर्का र राष्ट्रलाई पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष घाटा सकेसम्म न्यून गर्न अनुरोध छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको