Like us!
Follow us!
Connect us!
Watch us!
एघार सय मेगावाट क्षमताका ३७ आयोजनालाई निर्माण अनुमतिपत्र

नेपालमा हाइड्रोपावर निर्माण हुने क्रम बढ्दो

बुधबार, ११ साउन २०७४, ०८ : ३७ मा प्रकाशित

नेपालमा  हाइड्रोपावर  निर्माण हुने क्रम  बढ्दो

अर्थ संसार, काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७३/७४ मा ३७ जलविद्युत् आयोजनालाई निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । हालसम्म कुल १३६ परियोजनालाई त्यस्तो अनुमतिपत्र प्रदान गरिएकोमा गत आवमा मात्रै ३७ आयोजनालाई निर्माण सुरु गर्न अनुमतिपत्र दिइएको हो ।

ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म तीन हजार ६८४ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादनका लागि त्यस्तो अनुमतिपत्र दिएको छ ।आव  २०७३/७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता एक हजार १३६ मेगावाट रहेको छ ।

बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्न लागेको १४.७० मेगावाट क्षमताको पलाँखु खोला जलविद्युत् आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएर सुरु भएको आव २०७३/७४ मा बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्ने ६.६ मेगावाट क्षमताको रुदी खोला  बी जलविद्युत् परियोजनालाई गत जेठ २६ गते अनुमति पत्र दिइएको थियो ।

अनुमतिपत्र दिइएका आयोजना मध्ये सबैभन्दा ठूलो परियोजनामा ४०० मेगावाट क्षमताको गाली गण्डकी कोबाङ रहेको छ । मुस्ताङ जिल्लामा आयोजना स्थल रहेको सो आयोजना अम्बेस्वर इन्जिनियरिङ हाइड्रो पावर कम्पनीले निर्माण गर्नेछ । माथिल्लो वलेफी ३६ मेगावाट, लिपीङ खोला १६ मोवाट माथिल्लो सोलु खोला १८ मेगावाट मकरी गाड १० मेगावाटले पनि निर्माणका लागि अनुमतिपत्र प्राप्त गरेका छन् ।

यस्तै सिद्धकाली हाइड्रो पावरले निर्माण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी, सिन्धुज्वाला हाइड्रोपावर। प्रवद्र्धक रहेको ४३ मेगावाटाको नेशम खोला, ३७ मेगावाट क्षमताको राहुघाट मंगाले, १० मेगावाट क्षमताको माडी भोर्लेटार, अपर नौगाड ८ मेगावाटले पनि त्यस्तो अनुमतिपत्र पाएका छन् ।

विभागकाअनुसार ४८ मेगावाट क्षमताको खिम्ती दोस्रो, १२ मेगावाटको रुरु, ५२ मेगावाट क्षमताको माथिल्लो लाप्चे खोला, ४३ मेगावाटको आँखु खोला, सात मेगावाटको दरमखोला आयोजनाले पनि निर्माणको अनुमतिपत्र पाएका छन् ।

आव २०७३/७४मा निर्माणको अनुमति पाएका आयोजनामा १५ मेगावाटको सवाखोला, २३ मेगावाटको बलेफी, ४४ मेगावाटको सुपर मादी, ५४ मेगावाटको मध्य तमोरले पनि निर्माणको अनुमतिपत्र प्राप्त गरेका छन् ।

अनुमतिपत्र लिएका मध्य केही आयोजना निर्माणको चरणमा रहेका छन् भने केही आयोजनाले वित्तिय व्यवस्थापन गरेर निर्माण सुरु गर्ने तयारीमा रहेको विभागलाई जानकारी गराएको महानिर्देशक नविनराज सिंहले जानकारी दिनुभयो ।

यस्तै नेपाल विद्युत् प्राधिकरणकाअनुसार हाल निजी क्षेत्रका करिब तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन् । ती मध्ये १३५ मेगावाट क्षमताका १४ आयोजना आव २०७३÷७४ मा सम्पन्न भएका थिए ।

चालु आवमा प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया निर्माण सम्पन्न हुने छ । त्यस्तै निजी क्षेत्रमा नदी प्रवाहमा आधारित करिब ३०० मेगावाट बराबरका आयोजना पनि सम्पन्न हुने छ ।

तर हिउँदमा ती आयोजनाबाट उत्पादन हुने विद्युत्को मात्रा भने न्यून रहने छ । सरकारको बास्केटमा हालसम्म पनि १२८ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता चार हजार २१ मेगावाट रहेको छ । सरकारले एक हजार २४८ मेगावाट क्षमताका आयोजना अध्ययन सम्पन्न गरेको जनाएको छ  भने सात हजार १३६ मेगावाट क्षमताका ५५ आयोजना अध्ययनका विभिन्न चरणमा रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको