Like us!
Follow us!
Connect us!
Watch us!

प्रा डा केसीद्वारा ११औँ पटक आमरण अनशन शुरु

सोमबार, ०९ साउन २०७४, २० : ०८ मा प्रकाशित

प्रा डा केसीद्वारा ११औँ पटक आमरण अनशन शुरु

अर्थ संसार, काठमाडौँ – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले एघारौँ आमरण अनशन सुरु गर्नुभएको छ । 

प्रा डा केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन सुरु गर्नुभएको हो ।

शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन सुरु गर्नुभएका प्रा डा केसीले सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन गर्न असार ३१ गतेसम्मको समयावधि दिनुभएको थियो । 

अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “पटक पटक आश्वासन दिए पनि माग पूरा भएनन्, सत्याग्रह सुरु गर्नु बाध्य भएँ ।” उहाँ संसद्मा रहेको चिकित्सा शिक्षा ऐन चाँडो पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रका अनियमितता रोक्ने प्रमुख माग राख्दै पटक पटक अनशन बस्दै आउनुभएको छ । 

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा डा केसीका माग सम्बोधन गर्ने वातावरण मिलाउन आज त्रिवि उपकुलपति र डा केसी पक्षबीच वार्ता भएको बताइएको छ । बिहान भएको छलफलमा त्रिवि उपकुलपति तीर्थ खनिया र डा केसी पक्षबीच वार्ता भए पनि सन्तोषजनक कुरा नभएको डा केसीका सहयोगी डा जीवन क्षेत्रीले बताउनुभयो । 

चार सहायक डिन नियुक्त 
आजै डा केसीको माग सम्बोधन गर्दै आइओएमले एक वर्षदेखि रिक्त सहायक डिन नियुक्त गरेको छ । प्रा डा राजेन्द्रप्रसाद गुरागार्इं, प्रा डा द्वारिकाप्रसाद श्रेष्ठ, प्रा डा मधु देवकोटा दीक्षित र प्रा डा मन्दिरा वन्तलाई सहायक डिनमा नियुक्त गरिएको हो ।

यस्तै महाराजगन्ज मेडिकल कलेजका प्रमुखमा प्रा डा प्रतापनारायण प्रसादलाई नियुक्त गरेको आइओएमले जनाएको छ । डा क्षेत्रीले आफूलाई यस विषयमा जानकारी नभएको बताउनुभयो । 
उहाँले भन्नुभयो, “एक साता समय दिँदा पनि विश्वासको वातावरण बनेन, बिहानको छलफल आधिकारिक पनि नभएकाले यो विषयमा धेरै जानकारी भएन ।” 

यसैबीच लामो समयदेखि संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न व्यवस्थापिका–संसद्, महिला, बालबालिका तथा समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिले डा भगवान कोइराला, प्रा केदारभक्त माथेमा र डा केसीलाई समेत बोलाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको