आइतबार, ०२ पुष २०७४, १३ : ४३
पुष्पलालः राष्ट्रियता, स्वाधीन अर्थतन्त्र र वामपन्थी एकता
सोमबार, ०९ साउन २०७४


मुलुकको वाम एवं प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको ३९ औं स्मृति दिवेश देशव्यापी रुपमा मनाईदै छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रापेछापमा भएको थियो ।

र वहाँको निधन २०३५ श्रावण ७ गते भएको थियो । पुष्पलालले नेपाली समाजमा विद्यमान सामन्ती शोषणको अन्त्य गरी जनताको जनवादी अधिनायत्व रहने गरी गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने साेंचका साथ वि.सं. २००६ बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो ।

पार्टी स्थापना सँगसँगै थालनि भएको सामन्तवाद विरोधि आन्दोलनको ५७ वर्षपछि सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको छ । पुष्पलाल कै सोंच अनुसार वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरु वीचको सहकार्यबाट सञ्चालन भएको शान्तिपूर्ण संयुक्त जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य सम्भव भई गणतन्त्रात्मक शासन व्यवस्था थालनी भएको छ ।

संविधानले जनता सार्वभौमता सत्ता सम्पन्न हुने गणतन्त्रात्मक शासन व्यवस्थाका साथै संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र सहित आर्थिक–सामाजिक रुपान्तरण गरेर सामाजिक न्याय स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई अंगिकार गरेको छ ।

मुलुकमा युगान्तकारी परिवर्तन भएर परिवर्तनका उपलब्धिहरु संवैधानिक रुपमा संस्थागत भएका छन । आजभन्दा ६८ वर्ष अगाडि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा अगाडि सार्नु भएका विचार अनुरुप नै मुलुकमा गणतन्त्र स्थापना भई ऐतिहासिक उपलब्धि भएका छन । यस सन्दर्भमा पुष्पलाल युगान्तकारी परिवर्तनका विचारक, पथप्रदर्शक र भविष्यद्रष्टा हुनुहुन्थ्यो ।

 मुलुकमा ६५ वर्ष लामो सामन्तवाद विरोधी राजनीतिक आन्दोलनको क्रममा प्राप्त भएको गणतन्त्र संविधानसभाबाट संवैधानिक संस्थागत रुपमा भएको छ । तर राष्ट्रियताको संरक्षण गर्दै स्वाधीन अर्थतन्त्रको निर्माण नगरि गणतन्त्रको संस्थागत विकास हुन सक्तैन र सार्वभौम सत्ताको रक्षा पनि गर्न सकिन्न ।

पुष्पलालले राष्ट्रियताका बारेमा सटिक परिभाषित गर्दै भन्नु भएको छ, राष्ट्रियता भनेको लाखौं लाख झुपडीको एकता र तीनको सुरक्षा जनवाद हो भनेर उल्लेख गर्नु भएको छ । यस सन्दर्भमा गणतन्त्र - राष्ट्रियता - स्वाधीन अर्थतन्त्र - र सार्वभौमसत्ता  एक अर्कासँग अन्तरसम्बन्धित रहेका छन् ।

अतः गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि राष्ट्रियताको संरक्षण र स्वाधीन÷आत्मनिर्भर अर्थतन्त्रको निर्माण अपरिहार्य विषय हुन, र यसो हुँदामात्र नेपाली जनता साँचो अर्थमा सार्वभौमसत्ता सम्पन्न भई नेपालको राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्न सकिन्छ र पुष्पलालले देखाएको बाटोबाट मुलुकलाई अगाडि बढाउन सकिन्छ । तर यतिखेर वामपन्थी दलहरुका वीचमा एकता र सहकार्य टुट्न पुगेको छ । यस्ले गर्दा राष्ट्रियताको संरक्षण, गण्तन्त्रको सुदृढीकरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणको विषय पेचिलो बन्दै गएको छ ।

नेपाल सुगौलीसन्धीपछि झन् साम्राज्यवादी एवं विस्तारवादीहरुको प्रभावमा पर्दै आएको छ । साम्राज्यवाद र विस्तारवादको नेपाल माथि भई रहेको हस्तक्षेप र हेपाहा नीति र व्यवहारले नेपालको राष्ट्रियतामा गम्भीर प्रकारको आँच पुग्दै आएको छ ।

विश्व साम्राज्यवादी पूँजीवादले थोपरेको आर्थिक उदारीकरण र नीजिकरणको नीति, नेपालले अवलम्बन गरेको अस्पष्ट परराष्ट्र नीति, गैह्र नेपालीहरुका लागि नागरिकता वितरणमा अवलम्बन गरिएको कमजोर नीतिगत व्यवस्था र संयन्त्र, नेपाल भारत बीचको खुल्ला सिमाना र भारतीय पक्षबाट भई रहेको सिमा अतिक्रमण, सन् १९५० मा भारतसँग गरिएको सन्धी र गोर्खा भर्ती सम्बन्धी सन्धी, असमान व्यापार र पारवहन सन्धी (जसबाट दुई देशका विच हुने व्यापारबाट भारतले बढी फाइदा पाउने स्थिति) कोशी, गण्डकी नदीको असमान सन्धी, भारतीय नागरिकहरुलाई नेपालमा काम गर्न पाउने वर्क परमिटको अभाव र नेपाली राजनीतिज्ञहरुले विगतमा भारतीय शासक प्रति लम्पसार पर्ने गरेका कारण नेपालको राजनीति र कर्मचारीतन्त्रको व्यवस्थापनमा भारतले गर्दै आएको सूक्ष्म व्यवस्थापन (माइव्रmो म्यानेजमेण्ट)को नीति आदि कारणले नेपालको राष्ट्रियतामा गम्भीर प्रकारको आँच पुग्दै आएको छ ।

नेपालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएदेखि नै राष्ट्रियताको संरक्षणको पक्षमा पार्टीले जोडदार रुपमा आवाज उठाउँदै आएको छ । २० को दशकदेखि कम्युनिष्ट आन्दोलनमा विभाजन भएपछि भिन्न बनेका बामपन्थी दलहरुले साम्राज्यवाद र विस्तारवादी भारतले राष्ट्रियतामा आँच पु¥याएका घटनामा विरोध र आन्दोलन गर्दै आएका छन् ।

वामपन्थी दलहरुको अन्य बुर्जुवा पार्टीहरुको भन्दा भिन्न पहिचान भनेकै राष्ट्रियताको संरक्षणको पक्षमा दृढ अडान नै हो, यसै भएर नेपाली राजनीतिमा वामपन्थी प्रभाव बढेर गएको हो । तर राष्ट्रियताको सवाल दशकौं देखि अल्झन झैं बनेको छ, भारतले छिमेकी मुलुकप्रति हेपाहा नीति अख्तियार गरिरहेको छ ।

कैयौं असमान सन्धीहरु सुधार गर्न ध्यान दिएको छैन । वामपन्थीहरुका विचमा राष्ट्रियताको संरक्षणका सवालमा मतैक्य भए पनि एउटै मोर्चा बनाएर, राष्ट्रियताको सुदृढीकरणका लागि शसक्त आन्दोलन गरेका पनि छैनन् ।

नेपालको राष्ट्रियतालाई साम्राज्यवादी पूँजीवादले अख्यिार गरेको आर्थिक उदारीकरण र नीजिकरण नीतिले झन् कमजोर बनाउँदै लागेको छ । सन् १८१६ को सुगौली सन्धीपछि नेपालमा साम्राज्यवादले औपचारिक ढंगले प्रवेश गरेको छ, र साम्राज्यवादले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नराम्ररी प्रभाव पारेको छ ।

अझ सन् १९८५ पछि अवलम्बन गरिएको आर्थिक समायोजन कार्यक्रम र आर्थिक उदारीकरणको नीतिले नेपालको अर्थतन्त्रलाई उत्पादन, रोजगारी बढाएर आत्मनिर्भर बनाउनुको सट्टा व्यापार गरेर मुनाफा कमाउने आयातमुखी अर्थनीतिको अवलम्बन गरेपछि, नेपाल परनिर्भरताको दलदलमा फस्न पुगेको छ ।

विस्तारवादी भारतले सिमा क्षेत्रमा पारवहन सुविधामा नाकाबन्दी गर्ने बित्तिकै नेपालमा पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य वस्तुको अभाव भई जुन ढंगले मानवीय एवं आर्थिक संकट उत्पन्न भएको छ, यसो हुनुमा नेपालले अवलम्बन गरेको उदारवादी अर्थनीति, आन्तरिक उत्पादन वृद्धि गरेर आत्मनिर्भर हुनेभन्दा पनि व्यापार गरेर दैनिक उपभोग्य वस्तुको आपूर्ति गरि मुनाफा कमाउने आयातमुखी नीति कै कारण नेपालले परनिर्भरताको विरासत बोक्नुपरेको छ ।

विश्वसाम्राज्यवाद र क्षेत्रीय विस्तारवादसँग नेपालको सामन्ती एवं बुर्जुवा पूँजीवादी शक्तिले सदैव सम्झौता गर्दै साम्राज्यवादी एवं विस्तारवादीलाई सहयोग पु¥याउँदै आएको छ । विगत ७ दशकमा यही शक्तिले मुलुकको शासन सत्ताको बागडोर समाल्यो । मुलुकमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना  भएपछि पनि राज्यसंचालनमा बुर्जुवा पूँजीवादी शक्ति नै हावी भयो तर विगतका असमान सन्धीलाई पुनरावलोकन गर्नुको सट्टा उल्टै थप राष्ट्रहित विरोधी सन्धी सम्झौता हुँदै आएको छ ।

वामपन्थी दलहरुको तर्फबाट विगतमा २ दशकमा ६ पटक सरकारको नेतृत्व गर्दा पनि सरकारको तर्फबाट राष्ट्रियतासँग सम्बन्धित कैयौं असमान सन्धीको पुनरालोकन गर्ने र अन्य पक्षमा सुधार गर्न ध्यान दिइएको पाईएको छैन  । २०५१ सालमा प्रधानमंत्री मानमोहन अधिकारीले भारत भ्रमणको अवसरमा सन् १९५० को नेपाल भारत बीचकोे सन्धी पुनरावलोकन गर्ने विषयलाई उठान गरेको भए पनि त्यस विषयले मुहूर्त रुप लिन सकेन छैन ।

मुलुकको राष्ट्रियता र स्वाधीनतामा उत्पन्न गम्भीर प्रकारको चुनौतीका बिचमा भर्खरै जारी भएको नेपालको संविधान–२०७२ ले राष्ट्रियताको संरक्षण र सम्बद्र्धन गर्न, राष्ट्रियता एकता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न स्पष्ट दिशाबोध गरेको छ ।

संविधानको प्रस्तावनामा नै समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्रनिर्माण गर्ने प्रतिबद्धताका साथ देशको अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्य हुने कुरा उल्लेख गरिएको छ ।

मुलुकमा जारी भएको संविधान युगान्तकारी परिवर्तनको संवैधानिक दस्तावेज हो । नेपाली क्रान्तिलाई संस्थागत गर्ने क्रममा जारी भएको संविधानले मुलुकको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गरि राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी आर्थिक समुन्नति र समृद्ध नेपालको निर्माणको दिशामा मुलुकलाई अगाडि बढाउन दिशाबोध गरेको सन्दर्भमा आज सच्चा देशभक्त, राष्ट्रियता पक्षधर, प्रगतिशील एवं वामपन्थीहरुमा विच ऐतिहासिक अभिभारा आएको छ ।

मुलुकका सामु रहेको राष्ट्रियताको संरक्षणको ऐतिहासिक अभिभारा, वामपन्थी शक्तिहरुको सामुहिक पहल र नेतृत्वकारी भूमिकाबाट मात्र सम्भव छ । नेपालको वुर्जुवा, उदार र पूँजीपति वर्गले सदैव साम्राज्यवाद र विस्तारवादी शक्तिसँग सम्बन्ध राखी घुँडा टेक्ने नीति अवलम्बन गर्दै आएको छ । राष्ट्रियताका सवालमा गम्भीर प्रकारका समस्या उत्पन्न हुँदा पनि यो वर्गले कहिल्यै पनि विरोध गरेको छैन ।

नेपालको राष्ट्रियतार्को संरक्षण र सम्बर्धन गर्न, नेपालको स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्न अब प्रगतिशील, देशभक्त र वामपन्थी  दलहरुले वृहत एवं बहुआयमिक दृष्टिकोणका साथ राष्ट्रियताको संरक्षण र स्वाधीन अर्थतन्त्रको निर्माणका लागि न्यूनतम साझा अवधारणा सहितको नीति तथा कार्यक्रम अवलम्बन गरि अगाडि बढ्न जरुरी छ ।

राष्ट्रियता र स्वाधीनताका सवालमा तयार हुने साझा अवधारणालाई वामपन्थी दलहरुले सरकारमा रहँदा कार्यान्वयन गर्ने र प्रतिपक्षमा रहँदा माग र आन्दोलनको विषय बनाई संयुक्त मोर्चा मार्फत् राष्ट्रव्यापी अभियान संचालन गरि राष्ट्रियता र स्वाधीनताको पक्षमा व्यापक जनमत निर्माण गर्न सकियो भने मात्र मुलुकको राष्ट्रियता को संरक्षण र सम्वर्धन गरी स्वाधीन अर्थतन्त्रको निर्माण गर्ने आधार तयार हुने र पुष्पलाल  कौ सोंच र बिचार स्थापित हुने विश्वास लिन सकिन्छ ।

 

© Arthasansar.com 2016, All Rights Reserved