Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डले नलिने भए त्रिमूर्ती सम्मान

विहीबार, ०५ साउन २०७४, १२ : १० मा प्रकाशित

प्रचण्डले नलिने भए त्रिमूर्ती सम्मान

अर्थ संसार, काठमाडौँ–  पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने भएका छन् ।

त्रिमूर्ति निकेतनले प्रधानमन्त्री भएको बेला प्रचण्डले त्रिभूर्ति निकेतनको उचाइ बढाउनुका साथै नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान पुर्याएको भन्दै त्यसको कदर स्वरुप सम्मान र पदक प्रदान गर्ने निर्णय गरेको जानकारी विज्ञप्तीमार्फत हिजो गराएको थियो ।

त्यसको लागि आगामी भदौ ३ गते त्रिमूर्ति दिवसको अवसरमा सत्यमोहन जोशीबाट सम्मान तथा पदक प्रदान गर्ने भन्दै हिजो प्रचण्डलाई निम्तोसमेत दिइएको थियो । तर प्रचण्डको सचिवालयले उक्त पदक र पुरस्कार ग्रहण नगर्ने औपचारिक निर्णय गरेको छ ।

‘पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो, प्रचण्डको सचिवालयले निकालेको विज्ञप्तीमा भनिएको छ, अध्यक्ष प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको व्यहोरा यसै प्रेस नोटमार्फत् जानकारी गरिन्छ ।’

प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोट
त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’द्वारा सम्मानित गर्ने समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो । तर, यसबारे पर्याप्त जानकारी लिएर मात्रै आवश्यक निर्णयमा पुग्नुपर्ने भएकाले सम्मान र पदक लिने वा नलिनेबारे अध्यक्ष क. प्रचण्ड र अध्यक्षको सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।

बुधबार अध्यक्षको सचिवालयलाई जानकारी नै नदिई पार्टीका केही नेताहरुको पहलमा त्रिमूर्ति निकेतनका पदाधिकारीहरुद्वारा अध्यक्ष क. प्रचण्डलाई भेटी भदौ ३ गते आयोजित सम्मान कार्यक्रममा निमन्त्रणा गरिएको र विभिन्न मीडिया एवं सामाजिक सञ्जालमा अध्यक्षले सम्मान र पदक ग्रहण गर्ने समाचार प्रकाशित भएकोबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो । तर, त्रिमूर्ति निकेतनको इतिहास, इतिहासका विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धि प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुले देखाउनु भएको चासो एवं सकारात्मक सुझावलाई ध्यान दिँदै अध्यक्ष क. प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई हार्दिक धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको व्यहोरा यसै प्रेस नोटमार्फत् जानकारी गरिन्छ ।

यस सन्दर्भमा प्राविधिक त्रुटीलाई लिएर नेपालको परिवर्तनको आन्दोलन, सामाजिक सांस्कृतिक रुपान्तरणमा अध्यक्ष क. प्रचण्डले खेल्नुभएको युगान्तकारी एवं ऐतिहासिक नेतृत्व र भूमिकालाई कमजोर नपार्न र अध्यक्षको प्रगतिवादी चिन्तन र व्यवहारको निष्ठाप्रति आशङ्का नगर्न आग्रह गर्दै बेलैमा सकारात्मक र रचनात्मक सुझाव प्रदान गर्नुभएकोमा सम्पूर्ण प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गर्दछौं, धन्यवाद ।
५ श्रावण, २०७४
 
जोखबहादुर महरा
स्वकीय सचिव

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको