Like us!
Follow us!
Connect us!
Watch us!

गाडी किन्दा ठगिएको भन्दै ३४ पुग प्रहरी कार्यालय

बुधबार, ०४ साउन २०७४, १७ : ४९ मा प्रकाशित

गाडी  किन्दा ठगिएको भन्दै ३४ पुग प्रहरी कार्यालय

अर्थ संसार, भीमदत्तनगर– सवारीसाधन खरिद गरेर ठगिएका ३४ जना न्यायको माग गर्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

गत असार २९ गते प्रहरीले सरकारी कागजात कीर्ते गरी सवारीसाधान यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि निजबाट सवारीसाधन खरिद गरेर ठगिएका ३४ जना न्यायका लागि प्रहरीमा पुगेका हुन् ।

कैलाली र कञ्चनपुरलगायत देशका विभिन्न भागमा श्रेष्ठले बिक्री गरेका जिप तथा मोटरसाइकलका धनी आफ्ना लाखौँ रुपैयाँ डुबेपछि न्यायका लागि प्रहरीमा आएका हुन्

श्रेष्ठविरुद्ध महाकाली अञ्चल यातायात कार्यालयले केही दिनअघि सरकारी कागजात कीर्ते गरेर सवारीसाधन दर्ता गरेको भन्दै प्रहरीमा कीर्ते जालसाजी मुद्दा दायर गरेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये अधिकांश सवारी साधन श्रेष्ठले विक्री गरेको पाइएको छ । “रु साढे चार लाखको मोटरसाइकल सक्कली कागजात देखाउँदै डेढ लाखमा बिक्री गर्न ल्याएपछि किनिहालेँ”, श्रेष्ठबाट केही महिनाअघि बुलेट मोटरसाइकल खरिद गरेका धनगढीका एक युवकले रासससंग भने, “ निज श्रेष्ठ पक्राउ परेपछि मात्रै उनको अवैध धन्दा थाहा पायौँ ।”

उसले बिक्री गरेका नौवटा जिप÷कार र २५ वटा मोटरसाइकल खरिद गरेका अन्य स्थानीयवासी आफूहरु ठगिएको भन्दै उजुरी गर्न आएको प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाले जानकारी दिनुभयो ।

“केही व्यक्तिबाट ठगीको उजुरी आएको छ ”, प्रहरी निरीक्षक रोकायाले भन्नुभयो, “अहिले कीर्तेमा अनुसन्धान हँुदैछ । त्यसपछि ठगीमा पनि हुन्छ ।” श्रेष्ठले रु ५० लाख पर्ने जिप २० लाखमा बिक्री गरेको अनुसन्धानमा देखिएको छ ।

“श्रेष्ठले कति वटा सवारीसाधन किनबेच गरेको रहेछ भन्ने थाहा भइसकेको छ”, निरीक्षक रोकायाले भन्नुभयो, “हामीले सबै सवारीधनीलाई सवारीसाधनसहित कार्यालयमा आउन भनिसकेका छौँ ।” प्रहरीको आग्रहपछि अझै धनगढी र महेन्द्रनगरका ठगिएका व्यक्ति धमाधम प्रहरीको सम्र्पकमा आउन थालेका छन् ।

श्रेष्ठबाट सवारीसाधन खरिद गर्नेमा प्रहरीका अधिकारी, यातायात कर्मचारी, अन्य सरकारी कर्मचारी र व्यापारी छन् । कीर्ते कागजात गरी यातायात कर्मचारीसित मिलेमतो गरी किनबेच गर्दै आएको श्रेष्ठले अवैध काममा अन्य व्यक्ति समेत संलग्न रहेको प्रहरीसमक्ष बयान दिएसँगै प्रहरीले उनीहरुको पनि खोजी गरिरहेको छ ।

अभियुक्त श्रेष्ठले विगत ६ महिनायता बर्दियाको गुलरिया छोटी भन्सार कार्यालयबाट सवारीसाधन लिलाम गरेका कागजात यातायात कार्यालयमा दर्ता गर्ने क्रममा पेश गरी उक्त अवैध धन्दा गर्दै आएको थियो ।

प्रहरीले श्रेष्ठको साथमा रु एक लाख नगद, दुई थान ल्यापटप, एक दर्जन गाडीका ब्ल्यु बुक, बैंकमा राजश्व दाखिला गरेको भौचर लगायतका सामग्रीसमेत बरामद गरेको थियो ।

सवारीसाधन दर्ता गरी सक्कली बनाएर किनबेच गर्ने उक्त कार्यमा सेती र महाकाली अञ्चल यातायात व्यवस्था कार्यलयका केही कर्मचारी पनि संलग्न देखिएका छन् । चोरीका सवारीसाधन भारतबाट आयात गरी कीर्ते गरेको घटना सार्वजनिक भएपछि यहाँको नेपाल–भारत सीमावर्ती भारतीय सुरक्षाकर्मीले पनि यस विषयमा चासो लिएको छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको