Like us!
Follow us!
Connect us!
Watch us!

टनेल खेतीबाट लाखौँ आम्दानी

आइतबार, ०१ साउन २०७४, १६ : ४३ मा प्रकाशित

टनेल खेतीबाट लाखौँ आम्दानी

अर्थ संसार, पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् ।

अधिकांश घरपरिवारले अहिले गोल भेँडाखेतीबाट  आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ ।

प्रत्येक वर्ष रु सातदेखि १५ लाख बराबरको तरकारी जल्पाबाट निकासी हुँदै आएकोे अगुवा किसान डोलबहादुर घर्तीले बताउनुहुन्छ । गाउँमा तरकारी संकलन गरेर तानसेन बुटबल पठाउने व्यवस्था गरेपछि तरकारी उत्पादन गर्ने किसानले भोग्दै आएको बजारको समस्या हटेको हो ।

किसानले तरकारी उत्पादन गरी जल्पाको ढोलीमारामा संकलन गरेपछि बजार पठाउने काम अगुवा किसानको नेतृत्वमा हुने गर्छ ।

स्थानीय अगुवा चित्रबहादुर सारुका अनुसार सामान्यतया तरकारीखेतीबाट किसानले एक वर्षमा रु ५० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी लिन्छन् । जल्पा तरकारीमा भन्दा पनि गोलभेँडा उत्पादनका लागि नमुना क्षेत्र बन्दै गएको छ ।

प्रत्येकको घरमा एक देखि १० वटासम्म गोलभेँडा उत्पादनका लागि प्लास्ट्रिक टनेल निर्माण गरिएको अगुवा किसान घर्तीको भनाइ छ ।

टनेलमा बाह्रैमहिना गोलभेँडा उत्पादन हुने गर्दछ । अगुवा किसान घर्ती दशवटा टनेलबाट वार्षिक रु दुई तीन लाख आम्दानी गर्न सफल हुनुभएको छ ।

तरकारीखेती गर्ने ७३ घरपरिवारमध्ये ६० ले प्लास्टिक टनेल निर्माण गरेर गोलभँेडा उत्पादन गर्दै आएका छन् । यहाँ गोलभेँडाको अतिरिक्त बन्दा, सिमी, काउली, खुर्सानीलगायतका उत्पादनमा वृद्धि हुँदा तरकारीमा गाउँ नै आत्मनिर्भर बन्दै गएको छ । भीमबहादुर सारु पेशाले शिक्षक हुनुहुन्छ र उहाँ साँझ बिहान तरकारीखेती गरेर वार्षिक रु ५० हजार भन्दा बढी आम्दानी गर्नुहुन्छ ।


श्रीमान् भारतमा काम गर्ने भएपनि घरमै बसेकी भिमीसरा आलेले घरखर्च र छोराछोरीको पढाइखर्च तरकारी खेतीबाट जुटाइरहनु भएको छ । पूर्वखोला–२ जल्पा सदरमुकाम तानसेनसँग बाह्रैमहिना सडक सञ्जालसँग जोडिँदैन । ग्रामीण सडक भएकाले वर्षाको समयमा यहाँ उत्पादित तरकारी निकासीमा समस्या आइरहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको