Like us!
Follow us!
Connect us!
Watch us!

होस गरौं, तपाईंको एटिएमबाट पैसा चोरिएला

शनिबार, १३ कार्तिक २०७३, ०९ : ४५ मा प्रकाशित

होस गरौं, तपाईंको एटिएमबाट पैसा चोरिएला

काठमाडौं–घुमघामका लागि पोखरा पुगेका नवीन (नाम परिवर्तन) को मोबाइलमा मेसेज आयो– तपाईंको एटीएमबाट ७० हजार निकालिएको छ ।’ यस्तो म्यासेज देखेपछि एटीएम कार्ड हराएर कसैले चलायो कि भन्ने आशंकामा हेरे, कार्ड साथमै थियो । उनले पैसा निकालेकै थिएनन् ।

अर्काको एटीएमको पिन नम्बर चोरी गरेर पैसा निकाल्ने गिरोह नेपालमा समेत रहेको सुनिरहेका उनले तत्काल बैंकमा खबर गरे । नेपाल इन्भेस्टमेन्ट बैंकमा अन्य ग्राहकबाट पनि यस्ता गुनासा आइरहेका थिए । गुनासोकर्ता ग्राहकले अन्तिमपटक पैसा निकालेको स्थान बुझदा अधिकांश ठमेल र दरबारमार्गका एटीएम बुथहरू देखिएपछि पिन चोरी भएको आशंकामा बैंकका अधिकारीले प्रहरीलाई खबर गरे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटीएम बुथमा जडान भएका बैंकका क्लोज सर्किट टेलिभिजनका दृश्यबाट अनुसन्धान अगाडि बढाउँदा एक विदेशी नागरिकको गतिविधि शंकास्पद देखियो । ठमेल र दरबारमार्गमा एटीएम बुथ रहेको अन्य बैंकमा समेत घटनाबारे सर्कुलर गर्दै सीसीटीभी निगरानी गर्नेक्रममा कात्तिक ११ मा बिहानै उनै व्यक्ति ज्याठामा रहेको एटीएम बुथमा देखिएको सूचना पाएलगत्तै प्रहरी उनको पछि लाग्यो । ती विदेशी ठमेलबाट वसन्तपुरतिर लागे । उनी आफ्नो मोबाइल निकाल्थे र सेल्फी खिच्थे । केही समय घुमेपछि उनी ठमेलमै फर्किएर जगत होटलको कोठा नम्बर १०१ मा गए ।

होटलको लग बुकको विवरणअनुसार सो कोठा बुल्गेरियाका डिमो अटानासोभ स्टेफानोभको नाममा थियो । 

बिहानैदेखि उनको पछि लागेको ब्युरोको टोली कोठामा पुग्दा उनी सामान मिलाइरहेका थिए । प्रहरीले आफ्नो परिचय दिँदै उनको साथमा रहेको झोला खोतल्दा एटीएम, सपिङ कार्ड, १७ हजार अमेरिकी डलरलगायतका सामान निस्कियो ।

झोलामा जहाजको टिकटसमेत थियो । टिकटमा त्यसै दिनको मिति थियो । प्रहरी नपुगेको भए उनी बेलुका ८ बजे कतार एयरबाट बुल्गेरिया उडिसक्थे । आफ्नै देश फर्कंदा फर्कंदै अन्तिमपटक चोरीको पिन नम्बरबाट पैसा निकाल्दा उनी प्रहरीको निगरानीमा परे । ‘एक महिनाको भ्रमण भिसामा नेपाल आएका उनको धन्दा नै अर्काको एटीएम कार्डको पिन र डाटा चोरी गरी पैसा निकाल्ने देखियो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘उनीसहित ३ जना अपराधमा संलग्न देखिए पनि १ जना फर्किसकेका रहेछन् ।’

गोप्य क्यामरा बोकेर नेपाल
अर्काको एटीएम पिन र पासवर्ड प्रयोग गरी पैसा निकाल्ने धन्दामा संलग्न अन्तर्राष्ट्रिय समूहका सदस्य आफूसँगै युरोप, अमेरिका र चीनलगायतका देशका एटीएम प्रयोगकर्ताको पिन र पासवर्डसँगै ल्याउँथे । नेपालकै बैंकमा रहेका नेपालीका खाताबाट पैसा निकालिएको यो पहिलोपटक हो ।

असोज २१ गते पर्यटन भिसामा नेपाल आउँदा बुल्गेरियन नागरिक डिमोको साथमा रित्तो एटीएम कार्ड, ल्यापटप, कार्डमा डाटा सार्ने मेसिन, चिप्स र फिसआई क्यामरा थियो । डीआईजी सिलवालका अनुसार उनी नेपालका एटीएम बुथबाट अर्काको एटीएमको पिन नम्बर र पासवर्ड चोरी गरी पैसा निकालेर स्वदेश फर्कने योजनासहित नेपाल आएका थिए । 

पिन नम्बर पत्ता लगाउन उतैबाट चिप्स बोकेर आएका थिए । पासवर्ड पत्ता लगाउन फिसआई क्यामरासँगै ल्याएका थिए । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार ठमेलको होटलमा बसेर उनले प्राय: विदेशी नागरिकले बढी प्रयोग गर्ने एटीएम बुथ पहिचान गरे । अधिकांशले दरबारमार्ग र ठमेल क्षेत्रमा रहेको एटीएम बुथ प्रयोग गर्ने देखेपछि उनले तिनै एटीएम बुथलाई निसाना बनाए । ब्युरोका अनुसार उनले अधिकांश नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैंकको एटीएम बुथ छानेका थिए । 

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनी एकान्त अवस्था पारेर बिहानै एटीएम बुथमा गएर पासवर्ड टाइप गर्ने बोर्डमाथि फिसआई क्यामरा जडान गर्थे र पिन कार्ड चोरी गर्न चिप्ससमेत राख्थे । बेलुकातिर एटीएम बुथमा गएर आफ्ना सामान निकालेर होटलको कोठामा फर्केर डाटा स्किमरको सहायताबाट आफूसँग रहेको रित्तो एटीएम कार्ड र सपिङ कार्डमा पिन नम्बर सार्थे ।

पिन नम्बरसँगै क्यामरामा कैद भएको पासवर्ड टिपेर उनी ठमेल र दरबारमार्गमा रहेको एटीएम बुथमा गएर नेपाली रुपैयाँ निकालेर ठमेलमा रहेको मनिचेन्जरमा गएर पैसा साटेर अमेरिकी डलर लिन्थे ।

नेपाली एटीएम बुथ असुरक्षित
अर्काको पिन र पासवर्ड चोरी गरी नेपाली एटीएम बुथबाट पैसा निकालेको घटना नौलो हैन । यस अगाडि ब्युरोले नै २०७१ मंसिरमा टर्किस नागरिक मेहमेत गुलिन र चैतमा बुल्गेरियन नागरिक पेट्रोस्लाभ हयारिस्तोभ र २०७३ साउनमा रोमानियाली पेड्रा एरुलियन पक्राउ परिसकेका छन् । यस अगाडि पक्राउ परेका सबै विदेशी नागरिक पिन कोड र पासवर्ड चोरीमा सक्रिय अन्तर्राष्ट्रिय समूहसँग युरोप, अमेरिका, जापान, चीन लगायतका देशका एटीएम प्रयोगकर्ताको चोरी भएको पिन नम्बर र पासवर्ड किनेर नेपाल आउँथे र नेपाली एटीएम बुथको प्रयोग मात्र गरेर उनीहरूको पैसा निकालेर स्वदेश फर्कन्थे । 

बिहीबार पक्राउ परेका बुल्गेरियन नागरिक डिमोले भने पिन नम्बर र पासवर्ड चोर्न नेपाली एटीएम मेसिनको प्रयोग मात्रै गरेनन्, उनले नेपाली प्रयोगकर्ताको समेत पासवर्ड र पिन नम्बर चोरी गरे । यस अगाडि नबिल बैंकका कर्मचारीले ग्राहकको पिन र पासवर्ड चोरी गरी अनधिकृत रूपमा पैसा निकालेको घटना सार्वजनिक भए पनि प्रविधिको प्रयोग गरी एटीएम बुथमा रहेको मेसिनबाट पिन र पासवर्ड चोरी भएको घटना सार्वजनिक भएको थिएन । एक जना पक्राउ परे पनि नेपालमा बसेर नेपाली बैंकका एटीएम मेसिनबाट डाटा चोरीमा संलग्न अर्का विदेशी नागरिक भने भाग्न सफल भएका छन् । डीआईजी सिलवालका अनुसार पक्राउ परेका बुल्गेरियनले ४ नेपाली र एक अस्ट्रेलियन नागरिकको एटीएम नम्बर प्रयोग गरेर पैसा निकालेको खुलेको छ । भागेका अर्का विदेशी नागरिकले कति एटीएम कार्ड प्रयोगकर्ताको पिन र पासवर्ड चोरेका छन् भन्ने खुल्न नसकेको कान्तिपुरले छापेको छ । ।

जसले बैंकमा जानकारी गराएका छन् उनीहरूले ई(बैंकिङ सुविधा लिएकाले समयमै जानकारी पाएका हुन् । ई(बैंकिङ नलिएकाहरूले अझै जानकारी नपाएको हुन सक्ने प्रहरी आशंका छ । ‘नेपालमा यस्तो प्रकृतिको आपराधिक घटना देखिएको यो पहिलोपटक हो,’ डीआईजी सिलवालले भने, ‘अन्तर्राष्ट्रिय आपराधिक समूह नेपाल आउन थालेकाले यहाँका बैंक सजग भएर एटीएमको सुरक्षा प्रणालीमा सुधार नगर्ने हो अवस्था जटिल बन्न सक्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको