Like us!
Follow us!
Connect us!
Watch us!

पशुपतिमा जनताको रु ५४ करोड लगानी

शनिबार, २४ असार २०७४, १८ : ५९ मा प्रकाशित

पशुपतिमा जनताको रु ५४ करोड लगानी

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय गौरवको पशुपति क्षेत्रमा चार वर्षको अवधिमा रु ५४ करोड जनताको लगानी परिचालन भएको छ ।

पशुपति क्षेत्र विकास कोषले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा गोविन्द टन्डनले प्रशासनिक सुधार गरी पारदर्शिताको सुरुआत गरिएको जानकारी दिनुभयो ।

विसं २०७० असार २५ गते नियुक्त भई काम सुरु गरेको कोषको पदाधिकारी समूहले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि यस अवधिमा पूर्वाधार विकासमा उल्लेखनीय काम गरेको जनाएको छ ।

यसैगरी वर्षौंदेखि अलपत्र बनेको भण्डारखालमा आकर्षक बगैँचा निर्माण कार्य अन्तिम चरणमा पुगेको, निर्मल अखडाअघि हंसमण्डप र विद्युतीय शवदाह गृह निर्माण गरी सञ्चालनमा आउनु पनि उदाहरणीय काम भएको डा टन्डनले बताउनुभयो ।

भूकम्पले क्षतिग्रस्त जयबागेश्वरी मन्दिर पुनःनिर्माणका लागि कल्याण शर्माले रु तीन करोड लगानी गर्ने सम्झौता कोषसँग गर्नुभएको छ भने पशुपति क्षेत्रको चार शिवालय सत्तल पुनःनिर्माणका लागि रवीन्द्र पुरीले पनि कोषसँग रु तीन करोडको सम्झौता गर्नुभएको छ ।

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले रु डेढ करोड सहयोगमा १२ कोठाको किरियापुत्री भवन निर्माणको सम्झौता गर्नुभएको छ । पशुपति सङ्ग्रहालय निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग रु चार करोड ३५ लाखको सम्झौता गरी काम सुरु भएको छ ।

पशुपतिको दक्षिण मूल ढोका निर्माणका लागि नेपाल एसबिआइ बैंकसँग रु तीन करोड २५ लाखको सम्झौता भएको सदस्य सचिव टन्डनले बताउनुभयो ।

यसैगरी स्टेट बैंक अफ इन्डिया ग्रुपका अध्यक्ष अरुन्धती भट्टाचार्यले भारतका २७ हजार एटिएममा पशुपतिनाथलाई सहयोग गरौँ भन्ने सूचना जारी गर्न सैद्धान्तिक सहमति जनाउनुभएको छ । यस सम्बन्धी छिट्टै नै सम्झौता गर्ने तयारी भएको सो अवसरमा जानकारी गराइयो ।

यसैगरी भारतको सहयोगमा तिलगङ्गामा कोषले उपलब्ध गराएको १४ रोपनी जग्गामा ४०० भक्तजन बस्नसक्ने तीनतारे धर्मशाला निर्माण सुरु भएको छ । रु २२ करोडको लागतमा निर्माण हुने उक्त धर्मशाला एक वर्षमा सम्पन्न हुने कोषले जनाएको छ ।

यसको निर्माणपछि पशुपति आउने भक्तजनका लागि सुविधा पुग्नेछ । यसले नेपालको धार्मिक, सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने कोषको विश्वास छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको