Like us!
Follow us!
Connect us!
Watch us!

बैंकले काट्यो भूकम्पपीडितको रकम

मंगलबार, २० असार २०७४, १७ : ३८ मा प्रकाशित

बैंकले काट्यो भूकम्पपीडितको रकम

अर्थ संसार, बेँसीसहर (लमजुङ) –भूकम्पपीडितको रकम बैंकले काटेको खुलेको छ । भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम कट्टा भएको भूकम्पपीडितले गुनासो गरेका छन् ।

मध्यनेपाल नगरपालिकाअन्तर्गतका भूकम्पपीडितलाई रकम वितरण गर्ने क्रममा कृषि विकास बैंक भोर्लेटार शाखाले प्रतिपरिवार रु ५०० लिएको खुलेको छ ।

रकम प्राप्तिको लागि खाता सञ्चालन गर्नुपर्ने भन्दै रु ५०० लिएको बैंक शाखा प्रबन्धक सूर्यप्रसाद गैरेले बताउनुभयो ।

भूकम्पपीडितका लागि आएको अनुदान रकमबाट बैंकले कुनै रकम कट्टा गर्न नपाउने जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीले बताउनुभयो । भूकम्पपीडितको अनुदान रकम बैंकले लिनु सम्झौता विपरीत भएको उहाँको भनाइ छ ।

“राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र बैङ्कर एसोसिएसनबीच अनुदान रकम वितरण गर्ने सम्झौता भएको हो”, रेग्मीले भन्नुभयो – “सेवा शुल्कबापतको रकम एसोसिएसनले लिएको छ, बैंकले एक रुपैयाँ पनि लिन पाउँदैन ।”

रकम वितरणसम्बन्धी स्पष्ट निर्देशिका नआएकाले बैंकको नियमअनुसार रकम वितरण गरेको बैंकका प्रबन्धक गैरेले बताउनुभयो । जिल्लाका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम रु ५० हजार वितरण सुरु गरिएको छ । जिल्लामा स्थानीय निकायअनुसार छुट्टाछुट्टै बैंकमार्फत अनुदान रकम दिने व्यवस्था मिलाइएको छ ।

पहिलो किस्ता रकम रु ५० हजार घर निर्माणको आवश्यकताअनुसार उपयोग गर्ने र घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता रु ८० हजार प्रदान गरिने बताइएको छ । त्यस्तै छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी हुनेछ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको