Like us!
Follow us!
Connect us!
Watch us!

के तपाई सेयर बजारमा छिर्ने सोचमा हुनुहुन्छ ? पहिला यि कुराहरु जान्नुहोस्

आइतबार, ११ असार २०७४, १२ : ४७ मा प्रकाशित

के तपाई सेयर बजारमा छिर्ने सोचमा हुनुहुन्छ ? पहिला यि कुराहरु जान्नुहोस्

अर्थ संसार, काठमाडौं– पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ता आकर्षित भैरहेका छन् । सेयर बजारमा आकर्षित भैरहदा  लगानीकर्ताले आफ्नो लगानी कसरी सुरक्षित गर्ने भन्ने बारेमा ध्यान दिनुपर्दछ ।

हिजो आज कसैको लहैलहैमा  लागेर सेयर बजारमा लाग्ने लगानीकर्ता बढ्दै गएको देखिन्छ ।  तपाई यदि जानेर वा नजानेर सेयर बजारमा लाग्नु भएको  छ  अथावा लाग्ने तयारीमा हुनुहुन्छ भने सेयरका यी अंकहरुको बारेमा राम्ररी अध्ययन गर्नुहोस अनि मात्र लाग्नुहोस् ।

(१) सेयर दलाल

धितोपत्र बजारमा सेयर खरिद कर्ता र बिक्री कर्तासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय हुन सेयर दलाल अर्थात् ब्रोकर । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट इजाजत प्राप्त यस्ता संस्थाहरुले धितोपत्र ऐन विनियमहरु अनुरुप लगानीकर्ताहरुलाई सेयर खरिद बिक्री गरिदिने काम गर्दछन् ।

 दर्ता क्रम अनुसार प्रायजसो नम्बरले चिनिने ब्रोकरहरु नेपालमा ५० को हाराहारीमा छन् । उदाहरणका लागि कुमारी सेक्युरिटिजलाई १ नम्बर ब्रोकरको रुपमा चिनिन्छ भने आर्यतार इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजलाई ५७ नम्बर ब्रोकरका रुपमा चिनिन्छ ।

(२) ट्रेडिङ एकाउन्ट

सेयर कारोबार गर्नका लागि ट्रेडिङ एकाउन्ट अनिवार्य रुपमा खोल्नुपर्छ । यस्तो खाता खोल्ने काम सेयर दलालको हो । यसका लागि एकप्रति नागरिकताको प्रतिलिपि र एकप्रति फोटो सेयर दलालको कार्यालयमा बुझाउनुपर्छ । नाबालकको हकमा जन्मदर्ताको प्रतिलिपि आवश्यक पर्छ । यसका लागि कुनै शुल्क लाग्दैन ।

(३) डिम्याट खाता

सेयर कारोबार गर्नका लागि ट्रडिङ एकाउन्टका साथै डिम्याट एकाउन्ट पनि अनिवार्य छ । पैसा राख्नका लागि बैङ्क खाता भएजस्तो डिम्याट खाता सेयर जम्मा गर्नका लागि हो ।

कागजी रुपमा रहेका सेयर प्रमाणपत्रहरुलाई डिम्याट खातामा अभौतीकरण गरेर राखिन्छ । कागजी सेयर प्रमाणपत्रहरुलाई डिम्याट नगरी कारोबार गर्न पाइँदैन ।  डिम्याट एकाउन्ट ब्रोकर, बैङ्क, मर्चेन्ट तथा आरटीएस कम्पनीहरुमा खोल्न सकिन्छ ।

(४) म्युचुअल फन्ड
सर्वसाधारणको पुँजीलाई केही निश्चित  शुल्क लिएर धितोपत्र बजारमा सुरक्षित लगानी गरिदिने संस्थाहरुलाई म्युचुअल फन्ड अर्थात् सामूहिक लगानी कोष भनिन्छ । सेयरसम्बन्धी ज्ञानको अभाव भएका विशुद्ध नयाँ लगानीकर्ताहरुले सुरुमा यस्ता फन्डहरुमार्फत लगानी गर्नु उपयुक्त हुन्छ । 

यस्ता संस्थाहरुले कम्पनीहरुको प्राविधिक तथा बजार विश्लेषण गरेर सर्वसाधारणको पैसा सेयरमा लगानी गरिदिन्छन् र आवश्यक परामर्श प्रदान गर्नुको साथै पोर्टफोलियो म्यानेजमेन्ट पनि गरिदिन्छन् । लगानी व्यवस्थापनमा यस्ता फन्डहरु निकै दक्ष मानिन्छन् । यसबाट नयाँ लगानीकर्ताहरुको लगानी बढी सुरक्षित हुन्छ । सिद्धर्थ म्युचुअल फन्ड, नबिल म्युचुअल फन्डलगायतका संस्थाहरुले नेपलमा सामूहिक लगानी कोषको रुपमा काम गर्दै आएका छन् ।

(५)​मर्चेन्ड बैङ्क

 मर्चेन्ट बैङ्कधितोपत्र बजारमा साधारण सेयर निष्काशन, आवेदन सङ्कलन, सेयर बाँडफाँट तथा पैसा फिर्ता गर्ने जिम्मेवारी पाएका संस्थाहरुलाई मर्चेन्ड बैङ्क भनिन्छ । यस्ता कम्पनीहरुले हकप्रद तथा बोनस सेयर वितरणसम्बन्धी कार्यहरु पनि गर्दछन् । सगरमाथा मर्चेन्ट यसको उदाहरण हो ।

(६) मार्केट मेकर

नेपाल सरकारको मान्यता प्राप्त गरी धितोपत्र बजारमा ठूलो मात्रामा सेयर कारोबार गरी बजारको विकास र विस्तारमा सहयोग पुर्याउने कम्पनीहरुलाई मार्केट मेकर भनिन्छ । नेपालमा यस्ता ठूला मार्केट मेकरहरुको अभावका कारण बजार अस्थिर भइरहेको छ । पछिल्लो समय सरकारले नागरिक लगानी कोषलाई बजार निर्माताको रुपमा अगाडि बढाउने भने पनि यथोचित प्रगति भएको छैन् । 

(७) सेयर रजिस्टार

कम्पनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राखिदिने, दाखिला खारेज, नामसारी, लगत अध्यावधिक लगायतका सेयरसम्बन्धी काम गर्ने संस्थाहरुलाई सेयर रजिस्टार भनिन्छ । एस क्यापिटल, सिभिल क्यापिटल, ग्लोबल क्यापिटल लगायतले यस्तो काम गर्दै आइरहेका छन् ।

(८) प्रिमियम

साधारण सेयर, हकप्रद सेयर निष्काशन गर्दा अङ्कित मूल्यभन्दा बढीमा निष्काशन गरेमा सो अधिक मूल्यलाई प्रिमियम भनिन्छ । प्रायः कम्पनीहरुको अङ्कित मूल्य १०० हुन्छ । सोभन्दा बढी लिएमा त्यो प्रिमियम हो ।

नाफामा गएका राम्रा कम्पनीहरुले नियमअनुसार प्रिमियम लिन सक्ने व्यावस्था धितोपत्र ऐनमा रहेको छ । ९९० प्रतिसेयर आम्दानी सेयरमा लगानी गर्दा कम्पनीको विश्लेषण गर्ने प्रमुख आधार प्रतिसेयर आम्दानी हो । कम्पनीहरुले कमाएको कुल नाफलाई उक्त कम्पनीको कुल सेयरले भाग गर्दा प्रतिसेयर आम्दानी निस्किन्छ । प्रतिसेयर आम्दानी बढी छ भने सो कम्पनीको सेयर मूल्य राम्रो हुन्छ ।

(१०) नेटवर्थ  
चुक्ता पुँजीमा कम्पनीको जगेडाकोष जोड्दा नेटवर्थ आउँछ । नेटवर्थ राम्रो छ भने कम्पनीको अवस्था राम्रो छ भन्ने बुझ्नुपर्छ । नेटवर्थ धनात्मक वा क्रृणात्मक दुवै हुन सक्छ । यो महत्वपूर्ण वित्तीय सूचक हो ।

 नेटवर्थ खराब रहेका सेयरमा बैङ्कले ऋण प्रदान गर्दैनन् । तत्कालीन ग्रान्ड बैङ्कको नेटवर्थ ऋणात्मक रहेका कारण धेरै बैङ्कहरुले सो बैङ्कको सेयरमा मार्जिन ल्यान्डिङ कर्जा बन्द गरेका थिए । राष्ट्रबैङ्कको दबाबपछि पनि समस्याग्रस्त अवस्थामा नै भएको सो बैङ्कलाई पछि प्रभु बैङ्कले किनेको थियो । 

(११) भित्री कारोबार

धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरुको सूचना जुन सार्वजनिक नै नभई गोप्य रुपमा प्राप्त गरी कम्पनीसँग सम्बन्धित व्यक्ति तथा तिनका नातेदारहरुले पहिले नै कारोबार गरे भने त्यो भित्री कारोबार हो । 

जस्तैः कुनै कम्पनीले ५० प्रतिशत बोनस दिने निर्णय बाहिर सार्वजनिक हुनु अगावै कम्पनीभित्रकै व्याक्तिले थाहा पाई सेयर कारोबार गरी गलत फाइदा उठाए भने त्यो गैरकानुनी हुन्छ । विश्वभरीको धितोपत्र बजारमा इन्साइडर ट्रेडिङलाई गम्भीर अपराधको रुपमा लिइन्छ । नेपालमा पनि यो गैरकानुनी छ । भित्री कारोबारको आरोपमा एक महिना अगाडि केही ब्रोकर कारबाहीमा परेका थिए ।

(१२) मार्जिन ल्यान्डिङ 

कम्पनीले जारी गर्ने साधारण सेयरमा लगानी गर्नका लागि बैङ्कहरुले प्रदान गर्ने ऋणलाई मार्जिन ल्यान्डिङ भनिन्छ ।

(१३) सर्किट ब्रेकर

धितोपत्र कारोबारको समयमा बजार अत्यधिक बढ्न वा घढ्न गएमा सोको नियन्त्रणका लागि उतावचढावको प्रतिशतअनुसार प्याकेजमा बजार बन्द गरिन्छ । त्यसलाई सर्किट ब्रेकर भनिन्छ ।

कुनै कम्पनीको हकमा कारोबार अवधिमा १० प्रतिशतभन्दा माथिको उतारचढाब भयो भने कारोबार दिनभरीकै लागि बन्द गरिन्छ ।समग्र बजारमा भने ३, ४ र ५ प्रतिशतको उतारचढावलाई आधार मानेर सर्किट ब्रेकर लगाउने प्रचलन छ । ५ प्रतिशतले बजारमा उतारचढाव आयो भने समग्र नेप्सेको कारोबार सो दिनका लागि बन्द नै गरिन्छ ।

(१४) प्रोक्सी 

कम्पनीको वार्षिक साधारण सभामा यदि कुनै सेयरधनी उपस्थित हुन सकेन भने उसले तोकिएको ढाँचा बमोजिम विवरण भरेर अन्य कुनै व्यक्तिलाई मतदान गर्ने अधिकार दिएमा सो व्याक्तिलाई प्रोक्सी (प्रतिनिधि)
भनिन्छ ।

(१५) मार्केट डेफ्ट

कारोबार समयमा कुनै कम्पनीको माग आपूर्ति र मूल्यको विवरण हेर्न पाउने प्रणली नै मार्केट डेफ्ट हो । यो व्यावस्था पहिले ब्रोकरका लागि मात्र रहे पनि पछिल्लो समयमा
सर्वसाधारण लगानीकर्ताले पनि हेर्न पाउँछन् । यो नेप्सेको वेबसाइडमा हेर्न सकिन्छ । सोही आधारमा सेयर खरिद बिक्रिको निर्णय लिन सकिन्छ ।

(१६) पुँजीगत लाभकर

सेयर बेच्दा भएको फाइदाबाट नेपाल सरकारलाई तिर्नुपर्ने करलाई पुँजीगत लाभकर अर्थात् क्यापिटल गेन ट्याक्स भनिन्छ । यो सेयर बेच्दा भएको फाइदामा मात्र लाग्छ । व्याक्तिगत लगानीकर्ताका लागि ५ प्रतिशत र संस्थागत लगानीकर्ताका लागि १० प्रतिशत लाग्ने गर्छ ।

(१७)वियरिष्ट ट्रेण्ड

बजारको घट्ने प्रबृतीलाई वियरिष्ट ट्रेण्ड भनिन्छ ।

 (१८) बुलिस्ट ट्रेन्ड 

बजारको बढ्दो प्रवृत्तिलाई बुलिस्ट ट्रेन्ड भनिन्छ । नेपालको पुँजी बजार इतिहासमा १८८१ सबैभन्दा उच्चतम बुल हो । जुन गत साउनमा पुगेको थियो ।

(१९) ब्रोकर कमिसन

सेयर कारोबार गर्दा ब्रोकरलाई धितोपत्र बोर्डले तोकेअनुरुपको शुल्क बुझाउनुपर्छ । त्यसलाई ब्रोकर कमिसन भनिन्छ । सार्क राष्ट्रमा नै सबैभन्दा धेरै रहेको नेपालको ब्रोकर कमिसन पछिल्लो समय भएको चौतर्फी विरोधपछि भने घटाइएको छ । जुन यस
प्रकार छ :
– ५०,००० सम्मको कारोबारमा ०.६ प्रतिशत
– ५०,००० देखि ५,००,००० सम्म ०.५५ प्रतिशत
–५,००,००० देखि २,०००,००० सम्म ०.५ प्रतिशत
– २०,००,००० देखि एक करोडसम्म ०.४५ प्रतिशत
– एक करोडमाथि सबैमा ०.४ प्रतिशत

(२०) ब्लु चिप सेयर

व्यवस्थापन पक्ष राम्रो भएका, संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, सेयरधनीको विश्वास जितेका कम्पनीहरुको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनीहरुले लगानीकर्ताहरुलाई नियमित रुपमा लाभांश दिने क्षमता राख्दछन् । यस्ता कम्पनीको बजार मूल्य पनि बढी हुन्छ । 

नविल बैङ्क, एभरेस्ट बैङ्क, एसबीआई बैङ्क, स्टेर्डड चार्टड बैङ्कलगायतका कम्पनीका सेयरहरुलाई लगानीकर्ताहरुले ब्लु चिप सेयरको रुपमा लिने गर्छन् ।

(२१) बजार पुँजीकरण

नेप्सेमा सूचीकृत कम्पनीहरुका सेयर सङख्यालाई कारोबार भएको दिनको सम्बन्धित कम्पनीको बजार मूल्यले गुणान गर्दा बजार पुँजीकरण आउँछ । गत साउनमा २० खर्ब भन्दा बढी रहेको नेपाली पुँजी बजारको बजार पुँजीकरण हाल १६ खर्बको हाराहारीमा रहेको छ । यसको मतलब भदौ पछि लगानीकर्ताहरुले ४ खर्बभन्दा बढी गुमाएका छन् ।

(२२) स्टक डिभिडेन्ड

कम्पनीले सर्वसाधारण सेयर होल्डरलाई सेयरको रुपमा दिने लाभांशलाई स्टक डिभिडेन्ट अर्थात् बोनस सेयर भनिन्छ । कम्पनीले प्रतिफलका रुपमा निश्चित प्रतिशत बोनस  सेयर दिन्छ ।

(२३) क्यास डिभिडेन्ड

सूचीकृत कम्पनीहरुले लगानीकर्ताहरुलाई प्रतिफलका रुपमा नगद प्रदान गर्दछन् भने त्यसलाई क्यास डिभिडेन्ट भनिन्छ । यो नगदका रुपमा आउँछ ।

(२४) चुक्ता पुँजी

कम्पनीले जारी गरेको सेयरको कुल पुँजीलाई चुक्ता पुँजी भनिन्छ । धितोपत्रवालाले कम्पनीलाई तिरेको सेयर मूल्य नै चुक्ता पुँजी हो । जस्तैः कम्पनीले १००० को दरमा जारी गरेको सेयरमा १००० नै भुक्तान वा चुक्ता भएमा त्यो १००० चुक्ता पुँजी हो ।

(२५) हकप्रद सेयर

हकप्रद सेयरलाई राइट सेयर पनि भनिन्छ । कम्पनीले एक पटक साधारण सेयर निष्काशन गरिसकेपछि भविष्यमा फेरि थप पुँजी आवश्यक पर्यो भने त्यतिबेला राइट सेयर निष्काशन गर्न सक्दछ ।

त्यो हकप्रद अर्थात् राइट सेयर खरिद गर्न पाउने पहिलो अधिकार वर्तमान सेयरधनीलाई हुन्छ । यदि आवह्वान अनुसार  हकप्रदमा कम आवेदन पर्यो भनेपछि उक्त सेयर लिलामीमा जान्छ । त्यतिबेला सबैले उक्त सेयर किन्न पाउँछन् ।

(२६) पोर्टफोलियो

बजारमा रहेका विविध क्षेत्रका कम्पनीहरुमा पुँजी लगानी गर्ने कला नै पोर्टफोलियो हो ।
बिमा, बैङ्क, जलविद्युत, होटललगायतका कम्पनीहरुको अवस्था हेरेर लगानी गर्दा फाइदा कमाउन सजिलो हुन्छ । सबै लगानी एउटै कम्पनीमा हाल्दा जोखिम हुने भएकाले पोर्टफोलियो मिलाउनु आवश्यक छ ।

(२६) अड लट ट्रेड
नियमित कारोबार समयमा नेप्सेमा १० कित्ताभन्दा माथिको सङ्ख्याका सेयरहरु कारोबार हुन्छन् । १० कित्ताभन्दा मुनिको सेयर कारोबार गर्ने कार्यलाई अड लट ट्रेड भनिन्छ । नेप्सेले यस्ता कित्ताहरुको कारोबार गर्ने समय सुक्रबारका लागि मात्र छुट्याइएको छ । यो दिन १० कित्ताभन्दा कम सेयरको मात्र कारोबार हुने गर्दछ ।

(२७) ट्रेडिङ टाइम
नेप्सेले सेयर कारोबारका लागि बिदाको दिनमा बाहेक आइतबारदेखि विहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार समय निर्धारण गरेको छ । यसलाई नै ट्रेडिङ टाइम भनिन्छ । निर्धारित समयबाहेकको समयमा कारोबार गर्न पाइदैन । यसअघि १२ देखि ३ बजे कारोबार हुने गरेकोमा बजारको चापलाई ध्यान दिँदै धितोपत्र बोर्डले १ घण्टा समयावधि थप गरी ११ बजेदेखि नै कारोबार हुने गरेको छ ।

(२८) पे आउट

धितोपत्र बजारमा सेयर बेचेको पैसा आउन करिब ५ दिन लाग्छ । सेयर बेचेर आउने पैसालाई यस पुँजी बजारको बोलीचालीको भाषामा पे आउट आएको भनिन्छ । पे आउट ले सेयर बेचेर प्राप्त गरिने पैसालाई जनाउँछ । 

(२९) फ्लोर सिट

बजारमा कारोबार भएका कम्पनीको सेयर परिणाम, सेयर मूल्य, कुन ब्रोकरले बेच्यो र कुन ब्रोकरले किन्यो भनेर नेप्सेको वेब साइडमा एउटा विवरण हुन्छ उक्त विवरणलाई फ्लोर सिट भनिन्छ ।

यसबाट कुन कम्पनीको कति कित्ता सेयर कुन मूल्यमा कुन ब्रोकर मार्फत खरिद बिक्री भएको छ भनेर सजिलै हेर्न सकिन्छ । यसले बजार विश्लेषण गर्न सजिलो हुन्छ । नेप्सेको अफिसियल वेबसाइड www.nepalstock.com.npमा फ्लोर सिट हेर्न सकिन्छ ।

(३०) सेयर रोक्का (प्लेजड)

सेयर धितो राखेर बैङ्कहरुले कर्जा प्रदान गर्छन् । सोका लागि बैङ्कहरुले कर्जा प्रदान गर्ने सेयरलाई कर्जा चुक्ता नभएसम्म कारोबार गर्न नमिल्ने गरी रोक्का गरिदिएका हुन्छन् । पछिल्लो समय राष्ट्र बैङ्कले सेयर कर्जामा कडाइ गर्दै अधिकतम ५० प्रतिशत मात्र सेयर कर्जा गर्न पाउने व्यावस्था गरेको छ । 

यसअधि उक्त सीमा अधिकतम ६० प्रतिशत थियो । सेयर रोक्का सेयर दलाल बैङ्क र डीपीको समन्वयनमा हुने गर्छ । कर्जा चुक्ता भइसकेपछि उक्त सेयर फुकुवा भई कारोबारका लागि बाटो खुल्छ ।

Traders Voice

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको