Like us!
Follow us!
Connect us!
Watch us!

स्याङजामा सौर्य ऊर्जाले ल्यायो क्रान्ति, काकाकुल जस्तो बस्तीमा फर्कियो खुसीयाली

शनिबार, १० असार २०७४, १२ : ५३ मा प्रकाशित

स्याङजामा सौर्य ऊर्जाले ल्यायो क्रान्ति,  काकाकुल जस्तो बस्तीमा फर्कियो खुसीयाली

अर्थ संसार, काठमाडौ–  स्याङजाको चापाकोट नगरपालिका–१ मगरेका २३ घरधुरीमा चौबिसै घन्टा खानेपानीको सुविधा पुगेको छ । यसअघि काकाकुल जस्तो भएको बस्तीमा त्यसरी खानेपानी सेवा पुग्नुको पछाडि सौर्य ऊर्जा नै प्रमुख कारणको रुपमा रहेको छ ।
 
 गाउँभन्दा धेरैमुनि रहेको चिलाउनेघारी मूलबाट खानेपानी बोकेर गुजारा चलाउँदै आएका यहाँका बासिन्दाले अहिले घर घरमा धारा निर्माण गरी खानेपानी प्रयोग गर्दै आएका छन् ।
 
संसद् विकास कोषको रु १० लाख, चापाकोट नगरपालिकाको रु डेढ लाख, रिनेवल वल्र्ड र आँधीखोला सामुदायिक विकास केन्द्रको रु छ लाख, आइडी नेपाल र आँधीखोला सामुदायिक विकास केन्द्रको रु डेढ लाख, समुदायको रु एक लाख १० हजार र बाँकी जनश्रमदान गरी रु २६ लाखको लागतमा निर्माण भएको आँधीखोला सामुदायिक विकास केन्द्रका कार्यक्रमका संयोजक ऋषि पौडेलले बताउनुभयो ।
 
 “झन्डै ७९ मिटर ठाडो तल रहेको चिलाउनेघारी मुहानबाट नौ वटा सोलार प्यानलमार्फत लिफ्ट गरेर गाउँमाथि रहेको ट्यांकीमा पानी सङ्कलन गरेका छौँ” चिलाउनेघारी सोलार लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष पदम थापाले भन्नुभयो, “प्रत्येक घरधुरीमा छुट्टाछुट्टै धारा निर्माण गरी खानेपानीको उपभोग गर्दै आएका छौँ ।”
 
 आँधीखोला सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक पौडेलले गाउँमा सम्भवतः आफूहरूले पहिलो पटक मिटर सिस्टम लागू गरेको बताउँदै न्यूनतम रु २० र त्यसपछि प्रतियुनिट रु १० का दरले पैसा सङ्कलन गरिएको र उक्त रकम मर्मत तथा भैपरी आउने खर्च व्यवस्थापनका लागि प्रयोग गरिएको जानकारी दिनुभयो ।
 
  सो ठाउँमा खानेपानीको सुविधासँगै स्थानीयवासीलाई तरकारी खेतीप्रति आकर्षित गर्नका लागि पनि सिँचाइका लागि २५ हजार लिटर क्षमताको प्लास्टिक पोखरी निर्माण गरिएको छ ।

 “वर्षौंदेखि पिँठ्युमा पानी बोकेर खान बाध्य बनेका गाउँलेको पानीसँगै दिनचर्यामा पनि परिवर्तन आएको छ” अध्यक्ष थापाले भन्नुभयो, “उत्कृष्ट र धेरै तरकारी उत्पादन गर्ने छ जना किसानलाई हामीले पानीको महसुस मिनाहा गरी व्यावसायिक तरकारी खेतीतर्फ प्रेरित गरेका छौँ ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको