Like us!
Follow us!
Connect us!
Watch us!

गुम्बा निर्माणका लागि रु साढे पाँच करोड सङ्कलित

शनिबार, १० असार २०७४, ०९ : ४५ मा प्रकाशित

गुम्बा निर्माणका लागि रु साढे पाँच करोड सङ्कलित

अर्थ संसार, पोखरा– पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा आधुनिक र सुविधासम्पन्न गुम्बा निर्माणका लागि हालसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ ।

चालिस वर्षअघि बनेको सानो गुम्बा जीर्ण, साँगुरो र बारम्बार आएका भूकम्पले क्षतिग्रस्त बनाएकाले झन्डै रु १० करोडको लागतमा नयाँ गुम्बाको निर्माण गर्न लागिएको बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो । उक्त रकम स्वदेश तथा विदेशमा बस्ने गुरुङ समुदायबाट प्राप्त भएको हो ।

उहाँका अनुसार निर्माणमा हुने कुल खर्चमध्ये रु दुई करोड २५ लाख पनि गुरुङ समुदायका विभिन्न सामाजिक संस्थामा प्राप्त भइसकेको र छिट्टै बौद्ध अघौँ सदनलाई हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।

गुम्बा निर्माणका लागि थप रकम जुटाउन अन्य बौद्ध धर्मावलम्बी ताङ्गवे, थकाली, तामाङ, ह्याल्मो र मगर समाजसँग पनि आग्रह गरिने बताइएको छ । बुद्धको मूर्ति बनाउन पोखरा–लेखनाथ–८ न्युरोड निवासी हर्कबहादुर गुरुङले रु २३ लाख र विशिष्ट बुद्ध गुरुहरु बस्ने अतिथिगृह निर्माणका लागि रामघाट निवासी विजय गुरुङले रु १० लाख सहयोग गर्नुभएको छ ।

गुम्बा निर्माणका लागि बेलायत र हङकङ बस्ने गुरुङ दाजुभाइ तथा दिदीबहिनीले क्रमशः रु एक करोड र रु २० लाख सहयोग गरेको बताइएको छ । रकम सङ्कलन भइसके पनि भूकम्प, नाकाबन्दी र स्थानीय तहको निर्वाचनका कारण केही ढिला भएको र अब सबै समस्या समाधान भइसकेकाले निर्माण तुरुन्तै सुरु गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसका लागि नक्सा, बोलपत्रबाट ठेकेदारको छनोट र जग्गाको माटो परीक्षण समेत भइसकेको छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको