Like us!
Follow us!
Connect us!
Watch us!

एउटै चुनाव चिह्नमा चार पार्टी, चार पार्टीका विरुद्व एक्लै

विहीबार, ०८ असार २०७४, १० : ११ मा प्रकाशित

एउटै चुनाव चिह्नमा चार पार्टी, चार पार्टीका विरुद्व एक्लै

अर्थ संसार,खोटाङ–स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् ।

यही असार १४ गतेको निर्वाचनमा गजेन्द्रले आफ्नो पार्टीको चिन्ह हातले समाएको मसालबाट लड्नुपर्ने हो तर उनी नेपाली काँग्रेसको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

अहिले चुनावी घरदैलोमा व्यस्त गजेन्द्रले हातले समातेको मसालमा भोट मागिरहेका छैनन्, काँग्रेसको चुनाव चिह्न रूख देखाएर आफ्ना लागि भोट मागिरहेका छन् । नेकपा ९माओवादी केन्द्र०का तर्फबाट सोही वडाको सदस्यमा उठेकी क्रान्ति श्रेष्ठ र जयन्ती दर्जी पनि काँग्रेसकै चुनाव चिह्न देखाएर आफ्नो लागि भोट मागिरहेका छन् ।

रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्तिले चुनावी तालमेल गरेका छन् । निर्वाचनमा गरिएको चुनावी तालमेलका कारण उनीहरु एउटा पार्टीका भए पनि अर्को पार्टीको चुनाव चिह्न लिएर चुनावमा होमिएका हुन् ।
चार पार्टी बीचको तालमेलपछि उनीहरुले काँग्रेसका गोपालसिं राईलाई वडाध्यक्षको साझा उम्मेदवार बनाएका छन् ।

पहिलो चरणको निर्वाचनमा चुनावी तालमेल गरेपनि कतिपय ठाउँमा आ–आफ्नै चुनाव चिह्नबाट लड्दा मत बिग्रेको र हार बेहोर्नु परेको देखिएकाले एउटै चुनाव चिह्नबाट लड्ने निर्णय गरिएको गजेन्द्रले बताउनुभयो ।

तालमेलका क्रममा काँग्रेसलाई वडाध्यक्ष र एक सदस्य, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई एक सदस्य तथा माओवादी केन्द्रलाई दुई सदस्य बाँडिएको छ । सो वडामा एमालेका लीला चौहान एक्लै तालमेलको सामना गर्दैछन् ।

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–७ मा पनि सङ्घीय समाजवादी फोरमले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्दैछन् । चुनावी तालमेलका क्रममा माओवादी केन्द्रका हरिप्रसाद चौलागार्इंलाई वडाध्यक्ष र कृष्ण थापालाई सदस्य, सङ्घीय समाजवादी फोरमका तर्फबाट टीकाराम राई, इन्द्रकुमारी राई र सोमायाँ सुनारलाई वडा सदस्यको उम्मेदवार बनाइएको छ ।

उक्त वडामा काँग्रेसले महन्त राई र एमालेले दिलचक्र राईलाई वडाध्यक्षमा उठाएको छ । काँग्रेस र एमाले भने एक्ला–एक्लै चुनावी मैदानमा उत्रिएका छन् । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल भए पनि आ–आफ्नै चुनाव चिह्नबाट लड्दैछन् ।

पाथेकामा चार सदस्य माओवादी केन्द्रलाई दिएर अध्यक्ष लिएर तालमेल गरिएको सङ्घीय समाजवादी फोरम खोटाङका अध्यक्ष नवीन राईले बताउनुभयो । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको