Like us!
Follow us!
Connect us!
Watch us!
यस्ता छन् लगानीका लागि तयार भएका ठूला परियोजन

चिनियाँ लगानीको पूर्वाधार बैंकले आलसम्मकै ठूलो लगानी गर्दै

सोमबार, ०५ असार २०७४, १४ : ३१ मा प्रकाशित

चिनियाँ लगानीको पूर्वाधार बैंकले आलसम्मकै ठूलो लगानी गर्दै

अर्थ संसार,काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न ६ वटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

दक्षिण कोरियाको जेजुमा यही असार दुईदेखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन जानु भएका अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा विशेष लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।


दक्षिण कोरियाबाट स्वदेश फर्केपछि नेपाली प्रतिनिधिमण्डलका प्रमुख एवम् मन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालमा लगानीका लागि बैंक इच्छुक देखिएको बताउनुभयो ।

सो परियोजनामा रु १० अर्ब लगानी गर्ने बैंकले जनाएको छ । विगत २० वर्षदेखि काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार हुन नसकेको, प्राविधिक चुहावट बढेको तथा थप विस्तार तथा विकासका लागि समेत समस्या भएपछि सरकारले सुधारको कार्ययोजना अगाडि बढाएको थियो ।

अर्थमन्त्री कार्कीले सो परियोजनामा बैंकले केही समय भित्रै रकम उपलब्ध गराउने वचन दिएको जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार गर्ने परियोजनाका विषयमा लामो समयदेखि छलफल भएपनि प्रक्रिया अगाडि बढ्न नसकेको सन्दर्भमा एसियाली पूर्वाधार लगानी बैंकका अलावा  एसियाली विकास बैंकले लगानी गर्ने भएका हुन् ।

यस्तै तराई मधेसको बस्ती विकास तथा व्यवस्थित शहरीकरण परियोजनामा समेत बैंकले रु २८ अर्ब लगानी गर्ने प्रतिवद्धता जनाएको अर्थमनत्री कार्कीले जानकारी दिनुभयो ।तराई मधेसका २२ जिल्लामा सो कार्यक्रम लागू भएको भएपनि पूर्वाधार बैंक पहिलो चरणमा सात जिल्लामा लगानी गर्नेछ । सो परियोजनामा बैंकले रु २८ अर्ब लगानी गर्दैछ ।


चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले सो परियोजनामा रु ५० करोडका दरले लगानी गर्ने कार्यक्रम राखेको छ ।अर्थ मन्त्री कार्कीकाअनुसार काठमाडौँ सामाखुसीदेखि नुवाकोटको छहरेसम्मको सुरुङ मार्गका समेत पूर्वाधार बैंकले लगानी गर्ने भएको छ । सरकारको प्रस्तावअनुसार सो परियोजनामा बैंकले रु २६ अर्ब लगानी गर्ने छ ।

यस्तै गरी बैंकले पोखरा– बेनी– जोमसोङ सडकलाई स्तरोन्नती गर्ने परियोजनाका लागि रु १६ अर्ब लगानी गर्ने भएको छ । उक्त सडकको स्तरोन्नतीपछि प्रदेश नं ४ कै आर्थिक विकास र नेपाल– चीनबीच सम्पर्क सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यस्तै बैंकले जलविद्युत् परियोजनामा समेत विशेष लगानी गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री कार्कीले शारदा बबई जलविद्युत् आयोजनामा रु २० अर्ब लगानी गर्ने विषयमा प्रक्रिया अगाडि बढेको बताउनुभयो । सो परियोजनाको क्षमता ९३ मेगावाट रहेको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाउन लागेको तामाकोशी पाँचौ मा समेत बैंकको रु १८ अर्ब लगानी हुनेछ । सो परियोजनामा लगानी गर्ने सम्बन्धमा बैंकले सहमति जनाएको छ । सो आयोजनाको क्षमता ८७  मेगावाट रहेको छ ।

काडमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार र तराई मधेसको व्यवस्थित शहरीकरण सम्बन्धी परियोजना तत्काल अगाडि बढ्ने र अन्य परियोजना क्रमशः प्रक्रियामा जानेछन् ।अर्थसचिव शान्तराज सुवेदीले सरोकारवाला मन्त्रालयले जति सक्दो चाँडो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर उपलब्ध गराउँछन् त्यत्ति नै छिटो रकम उपलब्ध हुने जानकारी दिनुभयो ।

अर्थ मन्त्रालय र लगानी बोर्डले परियोजना बैंक बनाउन लागेको जानकारी दिदै अर्थ सचिव सुवेदीले राम्रा र सहज आयोजनामा पूर्वाधार बैंकले लगानी गर्ने वचन दिएको उल्लेख गर्नुभयो ।बैंकमा बेलायत क्यानडा, चीनले विशेष लगानी गर्ने तयारी गरेको सन्दर्भमा थपिएको लगानी अल्पविकसित देशमा लगानी गर्ने कार्ययोजना समेत अगाडि बढेको र नेपालले विशेष फाइदा लिन सक्ने सचिव सुवेदीको भनाइ छ ।

दक्षिण कोरियामा रहँदा अर्थमन्त्री कार्की नेतृत्वको प्रतिनिधिमण्डलले बैंकका अध्यक्ष , उपाध्यक्ष एवम् अन्य देशका जिम्मेवार पदाधिकारीसँग लगानीका विषयमा महत्वपूर्ण छलफल भएको अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

दातृ निकायले उपलब्ध गराउने रकमको उचित सदुपयोगका लागि अनुगमन तथा मूल्यांकन प्रणालीमा मन्त्रालयले विशेष जोड दिने तयारी गरेको सो अवसरमा जानकारी दिइयो ।पूर्वाधार बैंकले अंगीकार गरेको ‘छरितो, स्वच्छ र हरित बैंक’को अवधारणा बमोजिम वातावरणमैत्री पूर्वाधार निर्माण, न्यून वा शुन्य कार्बन उत्सर्जन गर्ने परियोजना कार्यान्वयन र एसियाली मुलुकमा रहेको गुणस्तरीय पूर्वाधारको अभाव पूर्ति गर्ने बारेमा छलफल भएको थियो ।

बैठकको लउद्घाटन दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इले गर्नुभएको थियो भने अध्यक्षता दक्षिण कोरियाका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री यो आइ होले गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको