Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्था समाहित र प्राप्तिमा सामेली बढ्दै

आइतबार, ०४ असार २०७४, १२ : १९ मा प्रकाशित

बैंक तथा वित्तीय संस्था समाहित र प्राप्तिमा सामेली बढ्दै


अर्थ संसार, काठमाडौँ– केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था ‘मर्जर एन्ड एक्विजिशन’ अर्थात् एकापसमा गाभिँदा र प्राप्तिमा सामेली बढ्दै गएकाले सहरी क्षेत्रमा केन्द्रित बैंक तथा वित्तीय संस्थाको सङ्ख्या क्रमशः घट्दै गएको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी स्थापना गर्न नेपाल राष्ट्र बैंकले अनुमति नदिएको र पुँजी वृद्धिसम्बन्धी नीतिलाई कडाइका साथ कार्यान्वयन गरेपछि मुुलुकमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्यामा कमी आएको हो ।

केन्द्रीय बैंकका अनुसार गत फागुनसम्ममा सञ्चालनमा रहेका वाणिज्य बैंकको सङ्ख्या २८ थियो भने ५५ वटा विकास बैंक, ३६ वटा वित्त कम्पनी र लघुवित्त कारोबार गर्ने ‘घ’ वर्गका वित्तीय संस्था ५० वटा थिए । उक्त बैंकले १५ वटा सहकारी संस्था र २५ वटा गैरसरकारी संस्थालाई सीमित बैंङ्किङ कारोबार गर्ने अनुमति दिएको थियो ।

चालु आवका आठ महिनामा विशेष गरी वाणिज्य बैंकले उल्लेख्य मात्रामा कृषि, खानी, उत्पादन, निर्माण, धातु उत्पादन, यन्त्र र विद्युतीय उपकरण, यातायातका सामान उत्पादन तथा ‘फिटिङ’, थोक एवम् खुद्रा व्यापारमा कर्जा प्रवाह गरेका थिए ।

बितेका आठ महिनामा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ रु दुई खर्ब ५४ अर्ब १२ करोड कर्जा प्रवाह गरेका थिए । अघिल्लो आवको तुलनमा चालु आवमा वाणिज्य बैंक र वित्त कम्पनीको कुल कर्जामा निस्क्रिय कर्जाको अनुपात घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय स्थायित्व अभिवृद्धि गर्न केन्द्रीय बैंकले अवलम्बन गरेको मर्जर एन्ड एक्विजिसन नीति कार्यान्वयन प्रभावकारी भएसँगै उक्त प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाको सङ्ख्या बढ्दै गएको छ ।

अघिल्लो वर्षको फागुन मसान्तसम्ममा घ वर्गका वित्तीय संस्थासहित एकसय ३४ वटा बैंक र वित्तीय संस्था मर्जर एन्ड एक्विजिसन प्रक्रियामा गएका छन् । तीमध्ये ९१ वटा संस्थाको सञ्चालन अनुमति खारेज भएको छ भने ४३ वटा कायम गरिएका छन् । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको