Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले पायो सौर्य उर्जा उत्पादन गर्ने अनुमति, १९.५ मेगावाट विद्युत उत्पादन गर्ने

सोमबार, ०८ कार्तिक २०७३, १६ : ३० मा प्रकाशित

अपि पावरले पायो सौर्य उर्जा उत्पादन गर्ने अनुमति, १९.५ मेगावाट विद्युत उत्पादन गर्ने

अर्थ संसार
काठमाडौं– अपी पावर कम्पनीले विभिन्न ८ आयोजनाबाट सौर्य उर्जा उत्पादन गर्न विद्युत प्राधिकरणबाट अनुमति पाएको छ । विद्यमान उर्जा संकट निवारण गर्न सरकारले चालु आर्थिक वर्ष नेपाल विद्युत प्रधिकरणसँग मिलेर ६४ मेगावाट सौर्य उर्जा उत्पादन गर्न आह्वान गरेको टेन्डर अनुसार सञ्चालन गर्ने अनुमति आइतबार पाएको छ ।

अपी पावरले ढल्केवरमा १ मेगावाट, दुहवीमा १.५ मेगावाट, परवानीपुरमा ८ मेगावाट, सिमरामा १ मेगावाट, चन्द्रनिगाहपुरमा ४ मेगावाट, वर्दघाटमा १ मेगावाट, चनौटामा १.५ मेगावाट, र कावासोतीमा १.५ मेगावाट गरी ८ स्थानका लागि विद्युत प्राधिकरणबाट अनुमति पाएको हो । सबै परियोजनमा गरी १९.५ मेगावाट विद्युत उत्पादन गर्ने अपि पावरले जनाएको छ । 

अपि पावरले अनुमति पाएपछि ती आयोजनाको काम तुरुन्त अगाडि बढाउने छ । कम्पनीले अनुमति पाएको १ बर्षभित्रै विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष लिएको प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले जानकारी दिए । 

एक पटकको लगानीले सौर्य उर्जामा वर्षौ ढुक्क हुन सकिन्छ । नेपालमा सौर्य उर्जाको प्रसस्त सम्भावना छ । यही सम्भावनालाई ध्यानमा राखेर उर्जा संकट निवारण गर्न सरकारले २०७२ मंसिर ८ गते विद्यमान उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र २०७२ मा सौर्य उर्जासम्बन्धी केही बुँदाहरु थपेको थियो । 

अवधारणा पत्रमा उल्लेख भएअनुसार चालु आर्थिक वर्ष २०७२÷७३ मा सौर्य उर्जाको उत्पादन कुल जलविद्युत उत्पादनको १० प्रतिशत अर्थात १ सय मेगावाट गर्ने लक्ष्य राखिएको छ । त्यस्तै आगामी वर्ष सौर्य उर्जा २ सय मेगावाट उत्पादन गर्ने लक्ष्य छ । 

अवधारणापत्रमा उल्लेखित लक्ष्यअनुसार सरकारले नेपाल विद्युत प्रधिकरणसँग मिलेर चालु आर्थिक वर्षमा ६४ मेगावाट सौर्य उर्जा उत्पादन लागि टेन्डर आव्हान गरेको थियो । प्राधिकरणले आव्हान गरेको टेन्डरबाट उत्पादित सौर्य उर्जालाई देशको २२ स्थानको राष्ट्रिय प्रसारण लाइनका स्टेसनहरुमा जोड्ने व्यवस्था मिलाइएको छ । विभिन्न स्थानमा ०.५ मेगावाटदेखि ८.५ मेगावाटसम्म सौर्य उर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । 
यही अवसरलाई ध्यानमा राख्दै देशको चरम विद्युत संकट समाधानमा योगदान पुर्याउन अपी पावर कम्पनीले प्राधिकरणले आह्वान गरेको टेन्डर प्रक्रियामा भाग लिएको थियो । अपी पावरले दार्चुलाको नौगाड खोलाबाट ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेर विद्युत उत्पादन गरिरहेको छ ।

उक्त आयोजना सकिएलगत्तै ८ मेगावाट क्षमताको नौगाड दोस्रो जलविद्युत आयोजना निर्माण सुरु गरेको छ । कम्पनीले दोस्रो अपर नौगाड निर्माण सकिएलगत्तै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । यस्तै कम्पनी ७५ मेगावाटको त्रिशूली गल्छीको समेत निर्माणमा जुटेको छ । 

अपि पावरले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर उपलब्ध गराउने निर्णय गरेको छ । कम्पनीले विभिन्न आयोजना निर्माण गर्न पूँजी जुटाउन १ बराबर २ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । यसका लागि अनुमति लिन धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको