Like us!
Follow us!
Connect us!
Watch us!

भुटानीहरुले अमेरिकामा यसरी मनाए दशैं

सोमबार, ०८ कार्तिक २०७३, १६ : ११ मा प्रकाशित

भुटानीहरुले अमेरिकामा  यसरी मनाए दशैं

तारा भट्टराई
न्युयोर्क–अमेरिकाको अतिव्यस्त न्यूयोर्क शहरको भिडभाडबाट ३ घण्टाको ड्राईभपछि पेन्सिलभानिया राज्यको ह्यारिसबर्ग पुग्दा ८३ बर्षिय नारायण बाँस्कोटाको घरमा दशैंको टिकाका दिन विहानैदेखि आफन्तको आवतजावत बाक्लिँदै थियो । पुरुषहरु कमिज, सुरुवाल, जुहारीकोट र ढाकाटोपीमा सजिएका थिए । महिलाले चुरा, पोते, तिलहरी, जन्तरलगायतका झपक्क गरगहनाका साथ रंगीविरंगी साडी, कुर्ता शुरुवाल लगाएर आएका छन् । 

बैठक कक्ष आधुनिक सोफा, कार्पेट र फर्निचर सजिएका छन् । किचनमा भने नेपालमा जस्तै दालभात, तरकारी र मुलाको खाँदेको अचार, सेलरोटी, बुनियाँ, समोसालगायतका परिकार पाकेका छन् । पूजा कोठाको भूर्इंमा पलेंटी कसेर बसेका बाँस्कोटा दम्पत्तिले आगन्तुकहरुलाई निधारभरि रातो टिका र जमारा लगार्इ दिएर अशिर्वाद दिन्छन् । एक अर्कालाई प्रणाम गरिसकेपछि प्रशन्न मुद्रामा रहेका ती पाहुनाहरु सोफामा बसेर एक अर्कासँग गफिंदै खाना खान थाल्छन् । 

उनीहरु बाँस्कोटाकै छोरा, छोरी, नाती, नातिना र भान्जाभान्जीलगायतका आफन्त नै हुन् । ‘मेरा आठ भाई छोरा, तिनका बुहारी, चार छोरी र उनका सन्तान,  भान्जा, भान्जी, जुवाई र नातागोतालाई टिका लगाउँदैमा खानसमेत फुर्सद हुँदैन’, उनी भन्छन् । अमेरिकामा बसोबास गरिरहेका भुटानी शरणार्थीहरुको घरमा दशैंको एक दृष्यको उदाहरण मात्र हो ।  सन् १९९० मा आफ्नै देश भुटानबाट लखेटिएदेखि नेपालमा शरणार्थी जीवन विताउन बाध्य भएका भुटानीहरुलाई सन् २००८ देखि अमेरिकाले पुनःस्थापना गरेदेखि भने अमेरिकामा निर्धक्कसँग दशैं मनाउन पाएको बताउँछन् ।


बाँस्कोटाका अनुसार ग्रामिण परिवेशबाट आएका भुटानीहरु नेपालमा शरणार्थी शिविरमा छाप्रोमा बस्दा विभिन्न खाले हण्डर खानुपरेको थियो, कहिले हावाहुरीले छाप्रो उडाउने, कहिले आगलागी हुने, अर्काले खटाएर दिएको रासनले दैनिकी चलाउनुपर्ने जस्ता समस्यै समस्याविच चाडवाड आउँथ्यो । त्यसमाथि नेपालमा युद्ध चलिरहेकाले दिनहुँ मान्छे मारेको र मरेको खबरले त्यसै मन अमिलो हुन्थ्यो । शिविरमा शरणार्थी भएर बसेता पनि राजनीतिले नछुने कुरै थिएन । औपचारिकता पूरा गर्न आफ्ना छोरा छोरीलाई यसो टिका लगाएर आशिर्वाद दिने त गर्थे तर मन भने त्यति प्रशन्न हुँदैन थियो । 
तर सन् २०११ मा अमेरिका आएपछि भने चारकोठाको दुई तल्ले आफ्नै घर, मखमली र सयपत्री अनि तरकारी रोप्ने बगैंचा भएपछि भने दशैं रमाईलो लाग्न थालेको बताउँछन् । ‘दशैं कि त भुटानमा छँदै रामाईलो थियो कि त अमेरिकामा नै’, उनी भन्छन् । 

छोराछोरी र नातीनातिनाका निक्कै धनी बाँस्कोटालाई शरणार्थी जीवनका २० बर्ष दशैंमा दक्षिणा दिनलाई पैसा नहुँदा पनि निक्कै दिक्क लाग्थ्यो । अहिले अमेरिकी सरकारले दम्पत्तीलाई दिने मासिक १ हजार १ सय डलरले दशैंमा भान्जाभान्जी र ज्वाइँहरुलाई हात खाली नगरिकन दक्षिणा दिन पाएकोमा निक्कै खुसी लाग्ने उनी बताउँछन् । 

बाँस्कोटालाई नेपालको शरणर्थी शिविरबाट अमेरिका आउनलाई शुरुमा मन लागेको थिएन । आफ्नो रितिरिवाज, सँस्कार, चालचलन, भेषभुषा सबै गोराहरुको देशमा आएपछि त्याग्नु पर्ला भन्ने उनलाई थियो । शाकाहारी खाना खाने उनी गाईको मासु खानु पर्ने चिन्तामा थिए । अर्को कुरा आफ्ना छोरी, नातिनीलाई गोराहरुले जर्वजस्ती समातेर म्वाई खाइदेलान् भन्ने लाग्थ्यो ।

‘आफ्ना छोरीचेलीलाई आफ्नै आँखा अगाडि त्यस्तो गरेको कसरी हेर्नु भन्ने चिन्ताले सताउँथ्यो,’ उनले भने । छोराहरुले सम्झाई बुझाई गरेपछि भने उनी प्लेन चढेर आउन राजी भए । मन भने खुशी थिएन । यहाँ आएपछि भने आफूले सोचेभन्दा फरक पाएको उनी बताउँछन् ।सबै रितीरिवाज परम्परालाई निर्धक्क अगाडि बढाउन पाएकामा उनी खुशी छन् । 

अर्का भुटानी गंगा धिमाल पनि अमेरिकामा आफ्नो चाडबाड, रितीरिवाज एक ईन्च तलमाथि नगरि नियमपूर्वक मानिरहेको बताउँछन् । नियमपूर्वक जमरा राख्ने, दुर्गा पूजा गर्ने, साईतको टिका लगाउने, व्यस्तताका बाबजुद  चाडबाडमा छुट्टी लिएर मान्यजनकहाँ टिका लगाउने गरेको उनी बताउँछन् । ‘अमेरिकामा स्वतन्त्रपूर्वक आफूले चाहेको काम गर्न सकिने रहेछ,’ धिमालले सुनाए । 

उता अर्की ४८ बर्षिया भुटानी ईन्दिरा घिमिरे भने फरक धारणा राख्छिन् । उनलाई अमेरिका र भुटानभन्दा नेपालमा दशैं रमाईलो हुन्थ्यो । निधारभरि टिका, कानमा मुठै जमारा, रातो साडी र नक्कली भए पनि गरगहना लगाएर बसमा कहिले कोचिएर, कहिले छतमा साथिभाईसँग सुसेला हाल्दै, गित गाउँदै, नाच्दैै हिंड्दा कम्ता रमाईलो हुँदैन थियो उनलाई । टोल छिमेक सबैले कति राम्री भन्थे ।

टक्क उभिएर सबैले हेर्थे । फलानी भनेर चिन्थे । अमेरिकामा जति राम्रा महँगा साडी वा गरगहना लगाए पनि कसैले नहेर्ने, नाच्न गाउन मन लागे पनि कसैले मललब नगरिदिने,  सधैं काममा व्यस्त हुनुपर्ने ।  ‘साडी, चोलो, गहना व्यागमा कोचेर प्राईभेट कारमा चढेर गयो,’ उनले भनिन्, ‘हतारहतार लगायो । अनि टिका लगाईसकेपछि एउटा फोटो खिचेर फेसबुकमा राख्यो । साथीहरुले लाईक गर्छन । अनि चाड सकियो ।’ अमेरिकामा लाउन, खान मात्र पाएको उनी बताउँछिन् । ‘यहाँ देखाउन पाईएन,’ उनले भनिन्, ‘नेपालमा देखाउन पाईन्थ्यो । लाउन खान पाईदैनथ्यो । फरक त्यत्ति हो ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको