Like us!
Follow us!
Connect us!
Watch us!

पहाडमा मूल्य बढ्यो, काठमाडौँमा सामान्य

विहीबार, २५ जेठ २०७४, २१ : ३६ मा प्रकाशित

पहाडमा मूल्य बढ्यो, काठमाडौँमा सामान्य

अर्थ संसार,काठमाडौँ - पहाडी क्षेत्रमा अन्य भन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ ।

यस्तै तराईमा ३.६ प्रतिशत र हिमालमा २.८ र काठमाडौं उपत्यकामा १.९ प्रतिशतको हाराहारीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११, तराईमा ८.६, हिमालमा ९.१ र काठमाडौं उपत्यकामा ११.५ प्रतिशत रहेको थियो ।
 
यस्तै सरकारले प्रभावकारी रुपमा बजार अनुमगनलाई निरन्तरता दिएको र कुनै पनि बन्द तथा हड्ताल नभएका कारण मूल्यवृद्धि नियन्त्रणमा नै रहेको पाइएको छ । ‘वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत कायम भएको छ ’ नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्षको सोही अवधिमा मुद्रास्फीति दर १० प्रतिशत  थियो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको बैंकले जनाएको छ ।

यस्तै समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतमा रहेको  छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १३.४, तरकारीको मूल्यमा १३.१ र घ्यू तथा तेलको मूल्यमा १.९ प्रतिशत कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सो  अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.७ र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशत वृद्धि भएको छ ।समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति भने  ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.४ प्रतिशत थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्य लगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको हो ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५.३ प्रतिशत वृद्धि भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको