Like us!
Follow us!
Connect us!
Watch us!

सफलताको सिढी चढ्दै हेटौडा सिमेन्ट उद्योग

आइतबार, १४ जेठ २०७४, १३ : ५० मा प्रकाशित

सफलताको सिढी चढ्दै हेटौडा सिमेन्ट उद्योग

अर्थ संसार,    काठमाडौँ - सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड पछिल्लो समय व्यवसायीक बन्दै गइरहेको छ ।स्थापनाको ३१ वर्षपछि अहिले सबैभन्दा धेरै सिमेन्ट उत्पादन गरी व्यवसायीक बन्दै गएको हो । 

एशियाली डेभलपमेन्ट बैँक लिमिटेडको क्रृण सहयोगमा विस २०३३ सालमा १३५ विघा क्षेत्रफलमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले विस २०४३ मङ्सिरदेखि आफ्नो उत्पादन सुरु गरेको भएपनि सोचेजस्तो सिमेन्ट उत्पादन गर्न सकेको थिएन ।  

 उद्योगका महाप्रवन्धक इन्जीनीयर प्रेमशङ्कर सिंह पछिल्लो समय कम्पनीको क्षमता बराबरको सिमेन्ट उत्पादन गर्न लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रतिदिन ७५० टन उत्पादन क्षमता भएपनि अहिले ७०० टन बराबरको उत्पादन गरेका छौँ आगामी दिनमा त्यसलाई बढाएर शतप्रतिशत उत्पादन गर्ने सोच बनाएका छौँ ।”

उद्योग सञ्चालका क्रममा सुरुका दिनमा चुनढुङ्गाको समस्या भएपनि अहिले मकवानपुरको भैँसे, ओखरे र धादिङको जोगीमाराबाट चुनढुङ्गा ल्याएर सिमेन्ट उत्पादन गरीरहेको छ ।

 देशमा भएको राजनीतिक उतारचढावका कारण लामो समयदेखि धराशायी बन्दै गएको उद्योग पछिल्लो समय सरकारको सहयोग र कर्मचारीको कार्यदक्षताका कारण उत्पादनलाई बढाउन सकिएको महाप्रवन्धक सिंह बताउनुहुन्छ ।
 
 केही वर्षयता विद्युत कटौतीका कारण थोरै सिमेन्ट उत्पादन गरेको उद्योगले यो आर्थिक वर्षको दश महिनामा नै एक लाख २३ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गरिसकेको छ । केही वर्ष अगाडि वार्षिक ७० देखि ८० हजारमात्र क्लिङ्कर उत्पादन हुँदै आएको थियो । उद्योगका महाप्रवन्धक सिंहले यो आर्थिक वर्षमा एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्यका साथ काम गरिहेको जानकारी दिनुभयो ।
 
गत आर्थिक वर्षसम्म ८३ करोड घाटा रहेको उद्योगले यो आर्थिक वर्षको दश महिनामा मात्रै २३ करोड नाफा गरिसकेको छ भने आगामी वर्ष ६० करोड नाफा कमाएर क्रृण तिर्नेगरी काम गरिरहेको छ ।
 
 १५८ डिलर रहेको उक्त उद्योगबाट उत्पादन भएको सिमेन्ट हेटौँडा र काठमाडौँमा विक्रि हुँदै आएपनि आगामी दिनमा वुटवल र पोखरामा समेत विक्रि वितरण गरीने गरी उद्योगले काम अगाडि बढाएको सिंहले बताउनुभयो । अहिले प्रतिवोरा भ्याटसहितको  सिमेन्टको मुल्य रु ७९५. ५२ रहेको छ ।
 
यसअघि उद्योगमन्त्री नविन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योग देशकै गौरब उद्योगका रुपमा रहेको सरकारले विशेष सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
 
उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले पछिल्लो समय उद्योग सुःखद रुपमा अगाडि बढेको बताउनुभयो । “सरकारी उद्योग कमजोर भयो भन्ने मान्यतालाई यस उद्योगले चुनौती दिँदै अगाडि बढेको छ” अध्यक्ष न्यौपानेले भन्नुभयो ।
 
 उहाँले आगामी वर्षदेखि भारतको पेन्टा कम्पनीसँग सहकार्य गरेर उद्योगको क्षमता बढाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म दैनिक ७५० मेट्रिकटन क्लिङ्कर उत्पादन हुँदै आएको छ आगामी वर्षदेखि प्रतिदिन ९५० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्नेछौँ ।”
 
सरकारको स्वामित्वमा रहेको अर्को सिमेन्ट उद्योग उदयपुर सिमेन्ट कारखानाको मुख्य समस्या विद्युत भएपनि हेटौँडा सिमेन्ट कारखानामा भने विगत तीन महिनादेखि विद्युतको समस्या भएको छैन । ६५५ को सङ्ख्यामा दरबन्दी रहेको हेटौँडा सिमेन्ट कारखानामा हाल ३८० कर्मचारी काम गरीरहेका छन् ।
 
अध्यक्ष न्यौपाने कर्मचारी थोरै भएपनि पूर्ण रुपमा उत्पादन गर्न पाएकोमा उद्योगले फेरी पनि आफुलाई चिनाउन सफल भएको बताउनुहुन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको