Like us!
Follow us!
Connect us!
Watch us!

कृषि कर्म गर्न गाउँ फर्किएका पौडेल वडा अध्यक्ष भए

शनिबार, १३ जेठ २०७४, १४ : १८ मा प्रकाशित

कृषि कर्म गर्न गाउँ फर्किएका पौडेल वडा अध्यक्ष भए

अर्थ संसार,  चितवन -  नर्वेबाट उच्च शिक्षा हासिल गरी कृषि कर्म गर्न आफ्नै गाउँ माडीको गर्दिमा फर्किएका एक युवक माडी नगरपालिकाको वडा अध्यक्ष बनेका छन् । 

माडी नगरपालिका वडा नं १ का स्थानीयवासी ३९ वर्षीय कृष्णप्रसाद पौडेल वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

गाउँले र पार्टीको पटक पटकको आग्रहपछि आफू वडा अध्यक्षमा उम्मेदवारी दिन तयार भएको पौडेलले बताउनुभयो । सो नगरपालिकामा नेपाली काँग्रेसले एउटा वडामा मात्र अध्यक्ष जितेको छ । जित्ने व्यक्ति पौडेल हुनुहुन्छ । 

काठमाडौं विश्व विद्यालयबाट गणित विषयमा स्नातकोत्तर गरी नर्वेको युनिभर्सिटी अफ ओस्लोबाट उहाँले एमफिल समेत गर्नुभएको छ । छ वर्षको नर्वे बसाइँपछि झन्डै दुई वर्षअघि कृषि र पशुपालन गर्न उहाँ आफ्नै गाउँ गर्दि आउनुभएको होे । 

उहाँले भन्नुभयो – “काँग्रेसको क्रियाशील सदस्य पनि म होइन, समर्थक मात्र हो । पार्टीका साथीले दुई पटकसम्म आग्रह गर्दा अस्वीकार गरेको थिएँ । सबैको दबाब परेपछि उठेको हुँ ।” जित हासिल गरिसकेपछि भने आफूले नर्वेमा सिकेका सीपलाई समेत प्रयोग गरेर गाउँ बनाउने उहाँको योजना छ । काठमाडौँंका विद्यालयमा करिब १० वर्ष र काठमाडौँ विश्व विद्यालयमा दुई वर्ष ६ महिना पढाउनुभएका पौडेलले फर्किएपछि मासिक रु एक लाख भन्दा बढी तलबको प्रस्तावसहित नेपालमा धेरै काम पाएको भए पनि कृषि कर्म गर्नकै लागि आफू गाउँ आएको बताउनुभयो । 

माडी आएपछि उहाँले आफ्नो पाँच बिगाहा जग्गामध्ये तीन बिगाहामा बीउका लागि गहुँ लगाउनुभएको छ । निकट भविष्यमै ५० वटा भैँसी पाल्ने उहाँको योजना छ । नर्वेमा झै जमिन विभाजन गरेर विकास निर्माण गर्ने र युवालाई लक्ष्य गरी कृषि र पशुपालनमा लगाउन सामूहिक मेगा कृषि परियोजना सुरु गर्ने उहाँको सोच रहेको छ । 

माडीका जनता सबैभन्दा बढी निकुञ्जका वन्यजन्तुबाट प्रभावित भएको र यसका लागि बस्ती र निकुञ्ज जोड्ने ६ किलोमिटर क्षेत्रमा तारजाली लगाउने आफ्नो योजना रहेको पनि उहाँले बताउनुभयो । 

गाउँ फर्किएपछि साथीसँग मिलेर उहाँले माडी यातायात प्रालि स्थापना गरी भरतपुर–माडी बस सेवा सुरु गर्नुभएको थियो । यसको पौडेल महासचिव हुनुहुन्छ । उच्च शिक्षापछि निकुञ्ज पारिको बस्ती माडी छाड्ने युवाका लागि पौडेल प्रेरणाको स्रोत रहेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्रीसमेत रहनुभएका माडिवासी हरि पौडेल बताउनुहुन्छ । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको