Like us!
Follow us!
Connect us!
Watch us!

खनिज उद्योग भदौभित्र सञ्चालन

शनिबार, ०६ जेठ २०७४, १० : ३६ मा प्रकाशित

खनिज उद्योग भदौभित्र सञ्चालन

अर्थ संसार 

काठमाडौँ-  सरकारले आगामी भदौभित्र नेपालमा  पहिलो पटक आधुनिक प्रविधि सहितको खनिज उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

 लामो सयमदेखि बन्द रहेको नेपाल मेटल कम्पनी लिमिटेडलाई पुनः सञ्चालनमा ल्याएर देशकै पहिलो खनिज उद्योगका रूपमा निरन्तरता दिने उद्योग मन्त्रालयले योजना बनाएको छ ।  गणेश हिमाल जस्ता सिसा परियोजना नाम दिइएको यो नयाँ योजना अन्तर्गत जस्ता बाहेक सिसाको धाउ उत्खनन तथा प्रशोधन गरी विदेशमा बिक्री गर्ने मन्त्रालयको लक्ष्य छ ।  

यसअघि छोटो समय मात्रै सञ्चालनमा आएको मेटल कम्पनीले जस्ताको प्रशोधन गर्दैआएको थियो ।  सरकार अन्तर्गत रहेका बन्द उद्योग सञ्चालन गर्ने प्रयास स्वरूप मन्त्रालयले मेटल कम्पनी ब्युताउने प्रक्रिया अघि सारेको हो ।

 यसअघि वैशाख २४ गते नेपाल औषधि लिमिटेड सञ्चालनमा आइसकेको छ ।  भदौ १५ गतेभित्र जस्ता तथा सिसाको धाउ उत्खनन गर्ने लक्ष्यअनुसार प्रक्रिया अघि बढिसकेको छ, शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले भन्नुभयो ।  उद्योग सञ्चालनका लागि विदेशी लगानी तथा सरकारको पनि केहि स्वामित्व रहने गरी मोडालिटी तय गरिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले यसका लागि कम्पनीको जारी पुँजी २५ करोडबाट  नौ अर्ब ४० करोड ६० लाख रुपियाँ पु¥याउने निर्णय गरिसकेको छ ।  कम्पनीमा सरकारको तीस प्रतिशत र विदेशी लगानीकर्ताको ७० प्रतिशत हिस्सा रहने प्रारम्भिक अनुमान छ ।

 अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयको सहमतिमा बढीमा असार पहिलो हप्ताभित्र कम्पनीमा विदेशी लगानी भिœयाइसक्ने मन्त्रालयको लक्ष्य छ ।  कम्पनी सञ्चालनमा आएपछि सरकारले रोयल्टी, आफ्नो हिस्साबापतको नाफा र आम्दानी बापतको कर प्राप्त गर्नेछ ।

 खनिज उद्योगले तीन सयजनालाई प्रत्यक्ष र छ सयजनालाई अप्रत्यक्ष रोजगारी पनि दिन्छ, मन्त्री जोशीले भन्नुभयो ।  गणेश हिमालको प्राकृतिक वातावरणमा प्रतिकूल प्रभाव नपार्ने गरी खनिज उत्खनन गरिने उहाँले जानकारी दिनुभयो ।  गणेश हिमाल आसपासमा छवटा खानी क्षेत्र रहेका छन् ।

 त्यसमध्ये प्राविधिक रूपले सम्भावना रहेका लारी र शुप्ले क्षेत्रमा मात्रै २४ लाख मेट्रिक टन बराबरको खनिज रहेको अनुमान छ ।  त्यस्तै अन्य खनिज क्षेत्रसमेत गणना गर्दा करिब ३० लाख मेट्रिक टन बराबरको खनिज सो क्षेत्रमा उपलब्ध रहेको अनुमान गरिएको छ ।

 लण्डन मेटल एक्सचेञ्चका मूल्यका आधारमा त्यहाँ रहेको खनिजबाट ६१ अर्ब ८० करोड रुपियाँ बराबरको आम्दानी हुने मन्त्रालयको प्रक्षेपण छ ।  सिमेण्ट जस्ता खानी उद्योग सञ्चालनमा रहे पनि व्यवस्थित रूपमा नेपालमा अहिलेसम्म खनिज उद्योग भने सञ्चालनमा छैन ।  खनिज उद्योग सञ्चालनपछि निजी क्षेत्र पनि यसतर्फ आकर्षित हुँदैजाने मन्त्री जोशीको विश्वास छ ।

दस ठाउँमा पेट्रोलियम अन्वेषण
उद्योग मन्त्रालयले देशका विभिन्न दस ठाउँमा पेट्रोलियम अन्वेषणका लागि आगामी असार १५ गते विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) आयोजना गर्नेभएको छ ।  धनगढीदेखि विराटनगरसम्मका विभिन्न दस ठाउँमा अन्वेषणका लागि योग्य कम्पनीबाट आवेदन माग गरिने उद्योगमन्त्री जोशीले जानकारी दिनुभयो ।

 आवेदन माग गर्दा प्राविधिक रूपमा सक्षम कम्पनीलाई मात्र प्राथमिकता दिइने उहाँको भनाइ छ ।  पेट्रोलियम नियमावली र खानी तथा खनिजजन्य उद्योगमा आकर्षण बढाउने लक्ष्यसहित सरकारले खनिज उद्योग सञ्चालन तथा पेट्रोलियम अन्वेषणको काम अघि बढाएको उहाँले बताउनुभयो ।  

क्रस बोर्डर सेजमा हस्ताक्षर
नेपालले चीनसँगको सीमामा सञ्चालन गरिने विशेष आर्थिक क्षेत्र स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको हालैको चीन भ्रमणका क्रममा यो सम्झौता भएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।  

सहमतिमा हस्ताक्षर भए पनि सञ्चालनको मोडालिटी भने अर्को चरणमा मात्र तय हुने मन्त्रालयले जनाएको छ ।  मन्त्रालयको कार्यक्रममा उद्योगमन्त्री जोशीले कुनै विशेष उत्पादनका लागि निजी क्षेत्रबाट माग भएको अवस्थामा औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले पूर्वाधार निर्माणमा सहयोग पु¥याउने जानकारी दिनुभयो ।

 त्यस्तै राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रलाई प्रभावकारी बनाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभ्न आगामी साउन एक गतेदेखि प्रक्रिया अघि बढाइने पनि उहाँले बताउनुभयो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको