Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनका कारण रगत अभाव

शुक्रबार, ०५ जेठ २०७४, १३ : ४९ मा प्रकाशित

निर्वाचनका कारण रगत अभाव

अर्थ संसार 

भरतपुर– निर्वाचनको कारण दुई सातायता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा जिल्लामा रगतको अभाव भएको छ । 

रगत आवश्यकपर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार निर्वाचनको मनोनयन दर्तासँगै सबै निर्वाचनमा जुटेपछि रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव भएको हो । 

अस्पतालका बिरामीले रगत नपाएपछि भरतपुरको मनकामना अस्पतालले आज आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

अस्पतालका सञ्चालक ध्रुव काफ्लेले आफ्नो अस्पतालमा रगत चाहिएका बिरामीले रगत नपाएपछि अस्पतालले नै रक्तदान कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो “बिरामीले रगत पाउन छोडे, मानवीय सेवा र कर्तव्य दुबै हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेका हौंँ ।” 

सो अस्पतालले सबैलाई रक्तदान गर्न आह्वान समेत गरेको छ । आज बिहान ७ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रम गरिएको थियो । सो क्रममा ४१ जनाले रक्तदान गरेको अस्पतालका अध्यक्ष प्राडा अर्जुन श्रेष्ठले बताउनुभयो । 

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडेलका अनुसार जिल्लामा दैनिक एक सयदेखि १५० युनिटसम्म रगत आवश्यक पर्छ । गत वर्ष ३५ हजार युनिट रगत प्रयोग भएको थियो । भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीका लागि बढी रगत आवश्यक पर्छ । 

जिल्लामा युवाद्वारा गठित “युथ फर ब्लड” समूहले रक्तदाता खोजेर रगत उपलब्ध समेत गराउँदै आएको छ । अन्य समयमा अरु जिल्लाबाट रगत ल्याएर परिपूर्ति गर्ने गरेको भए पनि यस पटक यस क्षेत्रका सबै जिल्लामा निर्वाचन भएकाले अन्यत्रबाट रगत ल्याउन नपाएको पौडेलले बताउनुभयो । 

यसैबीच भरतपुरको मनकामना अस्पतालले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा तीन दिनयता निःशुल्क ओपिडि सेवासमेत सञ्चालन गर्दै आएको छ । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको