Like us!
Follow us!
Connect us!
Watch us!

प्रमुख निर्वाचन आयुक्त डा यादवबाट अनुगमन

आइतबार, ३१ बैशाख २०७४, १९ : २६ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त डा यादवबाट अनुगमन

 

अर्थ संसार 

काठमाडौँ-। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौँका विभिन्न मतदान स्थल र केन्द्रको आज अनुगमन गरी आवश्यक जानकारी लिनुभयो । 

त्यसक्रममा उहाँले मित्रपार्क, जोरपाटी, थली, गोकर्ण दक्षिण ढोकास्थित मतदान स्थल र मतदान केन्द्र पुगेर मतदाता, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि र निर्वाचन कार्यमा खटिएका कर्मचारीबाट समग्र निर्वाचन व्यवस्थापनका बारेमा जानकारी लिनुभएको थियो । 

सो अवसरमा उहाँहरुले मतपत्र ठूलो भए पनि मतदानमा कुनै झन्झट नभएको, शान्ति सुरक्षा र निर्वाचन व्यवस्थापनप्रति गुनासो गर्ने ठाँउ नभएको कुरा प्रमुख आयुक्त यादवसँग जानकारी गराउनुभएको थियो । 

सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले व्यवस्थित, शान्तिपूर्ण र अपार जनताको सहभागितामा भएको निर्वाचन ऐतिहासिक पर्वको रुपमा देखिएको प्रतिक्रिया दिनुभयो । 

यसैबीच, आयुक्त ईश्वरी पौडेलले ललितपुरको भूपू सैनिक प्राङ्गणमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको थियो । 

निर्वाचन आयोगका आयुक्त ईला शर्माले भक्तपुरको मतदान केन्द्रको अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुर नगरपालिका क्षेत्रमा भएका मतदान केन्द्रहरुको अवलोकन गर्दै मतदानको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । 

आयोगका सचिव गोपीनाथ मैनालीले पनि काठमाडौँका विभिन्न मतदान स्थल र मतदान केन्द्रमा पुगेर मतदानमा जनसहभागिता र निर्वाचन व्यवस्थापनका बारेमा जानकारी लिनुभएको थियो । 

उहाँले गोल्फुटारस्थि शान्तिमालिका उच्चमावि, महाँकाल जनजागृति उच्चमावि, चपलीस्थित वडा कार्यालय र ध्रुवतारा उच्चमावि तथा बूढानीलकष्ठस्थित नारायण सतलमा रहेको मतदानस्थल र मतदान केन्द्रको अवलोकन गर्नुभएको थियो । 

मतदान गरेपछि ज्येष्ठ नागरिकदेखि किरियापुत्री समेतले भने– “देशको शान्ति र विकासका लागि मतदान” 

स्थानीय तहको निर्वाचनमा मत खसाल्न उत्साहित हुँदै मतदान गर्नुभएकी भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ८८ वर्षकी भगवती खड्काले देशमा शान्ति र विकास भएको हेर्ने चाहना रहेको बताउनुभएको छ । 

बीस वर्षपछि आफ्नै गाउँको विकासका लागि हुन लागेको चुनावमा भोट हाल्ने रहर जागेर छोरा राजु खड्कालाई आफ्नो इच्छा जाहेर गरेपछि छोरा बुहारीको साथ लागेर मतदान गर्न आउनुभएको हो । 

बालकोटको बालविनायक आधारभूत विद्यालय मतदान केन्द्रमा मत खसाल्दै उहाँले भन्नुभयो– “देशमा शान्ति होस्, देश र गाउँको विकास होस्, देशको मुहार फेरियोस् भनेर भोट हाले, मेरो इच्छा पूरा भएको हेर्न चाहन्छु ।” 

यता सूर्यविनायक नगरपालिका–१ सिरुटारका ९२ वर्षका भीमबहादुर खड्काले पनि मतदान गर्नुभयो । सिरुटार साविक गाविस भवन मतदान केन्द्रमै आएर मतदान गर्नुभएको थियो । 

त्यस्तै सूर्यविनायक नगरपालिकाका–१ सिरुटारका किरियापुत्री रमेश राउतले पनि मतदान गर्नुभएको छ । आमाको किरियामा बस्नुभएका उहाँले २० वर्षपछि आएको स्थानीय चुनावमा सबै गाउँ कै उम्मेदवार उठेकाले भोट हाल्न आएको बताउनुभयो । 

त्यसैगरी चाँगुनारायण नगरपालिका–७ बागेहिनीमा पनि दुई किरियापुत्रीले मतदान गरेका छन् । बाबु अर्जुन घिमिरेको किरियामा बसेका आशिष घिमिरे र सोही ठाउँका शेरबहादुर गिरीको किरियामा बसेका छोरा दीपक गिरीले बागेहिनी मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको