शुक्रबार, १२ जेठ २०७४, ०५ : ३७
इलामको गाँउ गाँउमा फस्टाउँदै ब्यूटीपार्लर ब्यबसाय
शनिबार, २३ बैशाख २०७४

अर्थ संसार 
काठमाडौँ -जीतपुरकी सुजिता केसीलाई व्यवसाय भन्दा पनि जागिर खाने इच्छा थियो । कक्षा १२ को अध्ययन गरेर घरमै बसेकी सुजितालाई गाउँ घरमै व्यवसाय गर्ने सोच पनि थिएन ।

तर घरको बाध्यता, चारतिर धाएपनि जागिर नपाएपछि ऊनी अन्ततः घरमै व्यूटिपार्लर व्यवसाय गर्न थालिन् ।  ९० हजारको लगानीमा व्यवसाय थालेकी सुजितालाई आजभोली भ्याइनभ्याइ हुन्छ । ‘दिनहुँ सेवाग्राहीको भीड लाग्ने गरेको छ, अब एक जना कामदार पनि राख्नुपर्ला,’ उहाँले भन्नुभयो ।

केसीले अहिले ९० हजारदेखि बढाएर दुई लाख रूपैयाँ लगानी गरिसक्नुभएको छ । जीतपुरे बजारमै घर भएकी सुजिताका लागि ब्यूटिपार्लर व्यवसाय मुख्य आम्दानीको गतिलो माध्यम बनेको छ ।

 सुजिता जस्तै उच्च शिक्षा हासिल गरेर युवतीहरू ब्यूटिपार्लर व्यवसायमा आकर्षित बन्दै गइरहेका छन् । शहरी क्षेत्र मात्र नभएर ग्रामिण भेगका प्रायःजसो १८ देखि ३० वर्ष उमेर समूहका महिलाले यस व्यवसायलाई अँगाल्दै आएका छन् ।

पछिल्लो समय घरेलु तथा साना उद्योग विकास समिति इलामले सञ्चालन गर्दै आएका ब्यूटिपार्लर सम्बन्धिका तालिममा सहभागिता जनाउने महिलाको सङ्ख्या उल्लेख्य हुँदै आएको छ ।

पहिले–पहिले शहर बजार क्षेत्रमा मात्र ब्यूटिपार्लर व्यवसाय सिमित मात्रामा रहँदै आएकोमा अहिले गाउँ–गाउँमा महिलाहरूले यस व्यवसायलाई रोजेर स्वरोजगार र आम्दानी गर्ने माध्यम बनाएका छन् ।

इलाम बजार, फिक्कल, पशुपतिनगर, मङ्गलवारे क्षेत्रमा मात्रा ब्यूटिपार्लर व्यवसाय हुँदै आएकोमा अहिले गाउँ–गाउँमा यो व्यवसाय फस्टाएर गएको घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख नविन पौड्यालले बताउनुभयो ।

ब्यूटिसियन सम्बन्धि तालिम लिइसकेपछ कार्यालयले व्यवसाय गर्न चाहने आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई विशेष छुटमा व्यवसाय गर्दा चाहिने आवश्यक सामग्रीहरू पनि खरिद गरेर दिने गरेको छ ।

बढ्दो बेराजगारीकै कारण यो व्यवसाय रोज्न महिलाहरू बाध्य भएको उक्त व्यवसायमा लागेका युवतीहरू बताउँछन् । ग्रामिण भेगमा खुलेका ब्यूटिपालर विशेष गरेर गाउँकै बजार र विद्यालय नजिक क्षेत्रमा खोलिएका छन् ।

हालसम्म जिल्लामा ७० वटाको हाराहारीमा व्यूटीपार्लर व्यवसाय दर्ता छन् । तर दर्ता बिना पनि व्यवसाय गर्नेको सङ्ख्या भने उल्लेख्य रहेको घरेलुले जनाएको छ ।

© Arthasansar.com 2016, All Rights Reserved