Like us!
Follow us!
Connect us!
Watch us!

नुवाकोटमा अवैध खानी छ्यापछ्याप्ती

शुक्रबार, १५ बैशाख २०७४, १३ : ५० मा प्रकाशित

नुवाकोटमा अवैध खानी छ्यापछ्याप्ती

अर्थ संसार 

नुवाकोट । नुवाकोटको विभिन्न स्थानमा अबैध बालुवा खानीहरु निर्बाध रुपमा सञ्चालन हुदै आइरहेका छन् । नियन्त्रणको मुख्य जिम्मेवारी रहेका निकायले कानुनी दायरामा ल्याउन नसक्दा समुदायमा जोखिम पुर्याउदै खानीहरु सञ्चालनमा छन् ।

हिउद्यामको समयमा नदीबाट बालुवा झिक्नेहरु डाँडा उत्खननतर्फ अबैध कार्यमा संलग्न हुनेको सङ्ख्या निकै बढेको छ ।दर्ता नभई जोखिमपूर्ण रुपमा सञ्चालन भइरहेका खानीहरु नियमन गर्न जिल्ला समन्वय समिति, प्रहरी, स्थानीय प्रशासन कारबाहीको दायरामा ल्याउन मौन छन् ।

निजी खानी सञ्चालन गर्न कम्तिमा एक सय रोपनी जग्गा आवश्यक पर्ने सहितको तोकिएको मापदण्ड पूरा गर्नुपर्ने भएपनि अबैध सञ्चालन भएका  खानी निर्वाध रुपमा चलिरहेका छन् ।जिल्लाको विदुर नगरपालिका भित्रको माझीटार, पिपलटार, बुनीवेशी, माझीगाँउ, मान्द्रेढुङ्गा, खङ्गभञ्याङ्ग लगायतको स्थानमा राजनीति र पहुँचको आधारमा अबैध खानी सञ्चालनमा रहेका छन् ।

बुनीबेशीमा जिल्ला समन्वय समितिको जग्गा नै खानी चलाइएको छ भने माझीगाँउमा समुदायिक वन  भित्र हाइटेन्सन लाइनलाई क्षति पुग्ने गरी अबैध उत्खनन् जारी छ । खानी दर्ताको लागी जिल्ला समन्वय समितिसंगको समन्वयमा खानी तथा भूगर्भ विभागले अनुमति दिने र जिल्लाका निकायले अनुमगन तथा व्यवस्थापन गर्नुपर्ने कानुनी प्राबधान छ ।

दर्ता नभई सञ्चालनमा रहेकाहरु रोक्नको लागी पहल भइरहेको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताउनुभयो । “पुर्ननिर्माणको बाहनामा अहिले अबैध खानीहरु निकै बढे” एलडियो पण्डितले भन्नुभयो  “रोक्न र व्यवस्थापन गर्न प्रहरी र प्रशासनसंग पहल गरिरहेका छौ । तर, लुकीचोरी काम हुने गरेकाले कठिनाई भएको छ ।”

कानुनी आधार पूरा नगरी सञ्चालनमा रहेका खानीहरु ‘आर्थिक प्रलोभन’मा नरोकिएका यहाँका सरोकारवालाको आरोप छ । नदीमा पानीको मात्रा कम भएपछि बालुवा लगायतका नदीजन्य साामग्रि उत्खनन गर्दै आएकाहरु अहिले डाँडाँखन्न तर्फ लागेका छन् ।

दर्ता नभई जोखिमयुक्त रुपमा सञ्चालनमा रहेका खानीलाई बैधता खोज्न पत्राचार गरी नियमनको प्रयास भइरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले बताउनुभयो । “नदीको उत्खनन् अहिले प्राय बन्द छ ।” प्रहरी प्रमुख बोहराले भन्नुभयो “निजी क्षेत्रमा सञ्चालन भएका खानी रोक्न माथिल्लो निकायबाट परिपत्र नआएको र बैध-अबैध भए-नभएको नियमनकारी निकाय मार्फत सहयोगको माग नहुदाँ बन्द नै गराउन कठिन भएको छ ।”

अबैध खानीहरु सञ्चालन हुदाँ मापदण्ड मिचाई राजश्व छली, मानवबस्ती, विद्युतीय प्रशारण लाईन, सामुदायिक जंगल क्षेत्र, पुल लगायतको स्थानमा क्षति, साँघुरो स्थानबाट ठूलो परिणाममा उत्खनन हुदाँ जोखिमको त्रासदी, अब्यवस्थित कारोबारीले मूल्य एक रुपता चुनौती बन्दै गएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको