Like us!
Follow us!
Connect us!
Watch us!

चोकदेखि चिया पसलसम्म निर्वाचनको माहोल बढ्यो

शनिबार, ०९ बैशाख २०७४, १३ : २० मा प्रकाशित

चोकदेखि चिया पसलसम्म निर्वाचनको माहोल बढ्यो

अर्थ संसार 

रत्ननगर – स्थानीय तह निर्वाचनको चहलपहल चितवनमा बढेको छ । यहाँका चोक–चौतारा, चियापसल, दोकान तथा होटलमा निर्वाचनका बारेमा कुराकानी हुने गरेका छन् । 

यहाँको भरतपुर, नारायणगढ, रत्ननगर, माडी, पर्सा, भण्डारा, खैरहनीलगायत क्षेत्रका चोक–चौतारामा दुईजना भेट हुने बित्तिकै निर्वाचनकै बहस हुने गरेका छन् । 

चोक चौतारा र चियापसल मानिसको जमघट हुने भएकाले पनि त्यहाँ निर्वाचनसम्बन्धी छलफल हुने गरेको रत्ननगरका चन्द्रकान्त न्यौपानेले बताउनुभयो । ‘हरेक पार्टीका कार्यकर्ता चिया पिउन आउँछन्, अनि छलफल हुन्छ, सबैको कुरा सुन्दा चुनावमा कुन दलका योजना कस्ता छन् भन्ने पनि थाहा हुन्छ,’ उहाँले भन्नुभययो । 

रत्ननगरको बकुलहरमा रहेको दूध डेरीमा चियापसल छ । यो पसलमा प्रायः चिया खानेको भिड हुन्छ । उनीहरु सबै निर्वाचनकै विषयमा बहस गरिरहेका भेटिन्छन् । अर्का स्थानीय शिव शर्मा पौडेल ‘कहीँ नभेट्ने मान्छे पनि चिया चौतारोमा भेटिने भएकाले आउन मन लाग्ने बताउनुहुन्छ ’। 

चोक र चौतारोमा अहिले नगरप्रमुख र उपप्रमुख पदमा कसले टिकट पाउला भनेर चर्चापरिचर्चा हुने गरेका छन् । टिकट पाउने सम्भावना भएका, पाएका र अलि राजनीतिमा बढी सक्रिय भएकाहरु अहिले पार्टी कार्यालय, गाउँमा चुनावी प्रचार प्रसार तथा नेताहरुले खटाएको स्थानमा क्रियाशील हुन थालेका छन् । 

महिला अधिकारकर्मी शान्ति अधिकारीले यो बेलामा दलले चुनावी प्रचार तीव्र पारेकाले पनि गाउँघरमा मान्छे भेटिन मुस्किल हुने भएकाले चोक चौतारा र चियापसल प्रचारप्रसारका लागि उपयुक्त ठाउँ हुने गरेको बताउनुभयो । 

रत्ननगरमा ईश्वर राज अधिकारी हरेक ठाउँमा दुई जना भेट हुने बित्तिकै चुनावकै विषयमा छलफल हुने गरेको आफ्नो अनुभव सुनाउनुभयो । 

निर्वाचनमा तीन हजार ३७० जनशक्ति परिचलन हुने 

स्थानीय तह निर्वाचनमा चितवनबाट तीन हजार ३७० जनशक्ति परिचालन हुँदै छन् । जिल्ला निर्वाचन अधिकारी हरि ढकालकाअनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वम्सेवक गरी ३ हजार ३७० जनशक्ति परिचालन हुने छन् । 

गाउँगाउँमा टोली खटाइएकाले मतदाता शिक्षाको काम तीव्र भइरहेको ढकाल बताउनुहुन्छ । चितवन जिल्लामा यस पटक नयाँ संरचना अनुसार एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका छ । 
चितवनमा पनि निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन अधिकारी हरि ढकालकाअनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरेर काम सुरु भएको छ । 

निर्वाचनमा तीन लाख १३ हजार दुई मतदाताले कुल ५०४ जना जनप्रतिनिधिलाई छान्ने छन् । झन्डै २० वर्षको अन्तरालमा हुन लागेको निर्वाचनलाई सफल पार्नु सबैको साझा कर्तव्य हो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको