Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा चीनको लगानी बढ्यो

शनिबार, ०२ बैशाख २०७४, १५ : ५५ मा प्रकाशित

नेपालमा चीनको लगानी बढ्यो

अर्थ संसार 
काठमाडौं – नेपालमा छिमेकी राष्ट्रहरुको लगानी गर्ने होड एक पछि अर्को गर्दै बढेको छ ।  सरकारकै पछिल्लो तथ्यांकलाई पत्याउने र मान्ने हो भने नेपालमा अब लगानी गर्ने छिमेकी मुलुकमा चीन अग्रस्थानमा रहेको छ । भारत भने मुखले मात्रै नेपालमा लगानी गरे जस्तो गर्ने अवस्थामा पुगेको छ ।

नेपालको उद्योग क्षेत्रमा चीनको चार प्रतिशतले बढेको छ । तर भारतको लगानी भने क्रमशः खुम्चिदै गएको छ । प्रतिवद्धताको हिसाबले पनि चीनको लगानी बढेको छ भने भारतको घटेको छ ।

उदोग मन्त्रालय मातहतको उद्योग विभागको तथ्याङकलाई मान्ने हो भने  २०७३ को चैत दोस्रो सातासम्ममा नेपालको उद्योगमा चीनले रु १० अर्ब ३५ करोड १८ लाख ७१ हजार लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

 जबकी ०७२ सालमा रु २ अर्ब ५० करोड ३१ लाख मात्र लगानी रहेको थियो ।  चीनले १ हजार ९५ नेपाली उद्योगमा लगानी गर्ने प्रतिवद्धता गरेको र प्रक्रिया समेत सुरु गरेको जानकारी विभागलाई गराएको छ ।

चीनले हालसम्ममा नेपालमा रु  ३३ अर्ब ७८ करोड २७ लाख नेपालका विभिन्न उद्योगहरुमा लगानी गर्ने प्रतिवद्धता जनाएको छ । त्यसमा केही काम पनि प्रत्यक्ष रुपमा देखिने गरी अगाडि बढेको छ ।

विभागको तथ्याङ्क हेर्दा भारतको लगानी भने घटेको र नेपालमा लगानीका लागि अनिच्छुक रहेको देखिन्छ । चालु आवमा  भारतले नेपाली उद्योगमा लगानी क्रमशः घटाउँदै लगेको छ ।

 गत वर्ष रु  २ अर्ब १६ करोड ९८ लाख ९० हजार लगानीको प्रतिबद्धता जनाएको भारतले यस वर्ष रु ६४ करोड ५ लाख मात्र लगानी गर्ने भएको छ । विभागकाअनुसार हालसम्म ६६२ वटा उद्योगमा मात्र भारतको लगानी गर्ने जनाएको छ ।   

अहिलेसम्म भारतले नेपाली उद्योगमा रु ८१ अर्ब ३१ करोड २४ लाख लगानी गर्ने प्रतिबद्धता गरेको छ । तर यो क्रम पछिल्लो दिनमा भने घट्दै गएको छ । मुलुकका विभिन्न उद्योगमा हालसम्म रु ३ खर्ब ७० अर्ब ४४ करोड लगानी भित्र्याउने प्रतिबद्धता आएको छ ।

विभिन्न मुलुकबाट भित्रिएको लगानीको हिस्सालाई तुलना गर्ने हो भने, छिमेकी मुलुक भारत र चीनको लगानी मात्र ३१ प्रतिशत रहेको छ ।त्यस्तै गएको वर्षभन्दा ०७३ मा उद्योगको संख्यात्मकभन्दा गुणात्मकतामा बृद्धि भएकोे छ ।

तुलनात्मक हेर्दा  लगानी गरिने उद्योग कम देखिए पनि लगानी रकम ५९ प्रतिशत बढेको छ । ०७२ मा रु १० अर्ब ८८ करोड ८४ लाख लगानी भित्रिने प्रतिबद्धता रहेकोेमा यो वर्ष बढेर रु १७ अर्ब ३४ करोड ६२ लाख पुगेको छ ।

अघिल्लो वर्ष कुल ३४७ वटा नेपाली उद्योगमा वैदेशिक लगानी गर्ने प्रतिबद्धता आएकोमा यो वर्ष घटेर २५५ वटामा मात्रै सिमित भएको छ । तर सरकारले लगानी सम्मेलन तथा अन्य विभिन्न उपायहरु अपनाएका कारण आगामी दिनमा लगानीकर्ता ओइरिने विश्वास लिएको छ ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले ऊर्जा संकट समाधान भएकाले लगानीकताृमा विश्वास बढेका बताए । उनले लगानीकर्ताको विश्वास बढ्नुले पनि लगानीको वातावरण बनेको बताए ।
ऊर्जा मन्त्री जनार्दन शर्माले उद्योग व्यावसायमा कति विद्युत् चाहिने हो, कुन कुन स्थानमा विद्युत् जरुरी हो, त्यसको फेहरिस्त पठाउन उद्योगी तथा व्यावसायीलाई आग्रह गरेको बताए । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएपछि विद्युत् खेर जाने अवस्था आउन नदिन उद्योगी तथा व्यावसायीसँग विद्युत् कति चाहिने हो आग्रह गरिएको जानकारी दिए । २०७५ असारमा माथिल्लो तामाकोशी सञ्चालनमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको