Like us!
Follow us!
Connect us!
Watch us!

यातायात व्यवसायी भन्छन्, "गाडी चलाउँदैनौँ, सरकारलाई चाबी बुझाउछौँ"

निशा हुमाँगाई

शनिबार, २७ असार २०७७, ११ : ०० मा प्रकाशित

यातायात व्यवसायी भन्छन्, "गाडी चलाउँदैनौँ, सरकारलाई चाबी बुझाउछौँ"

अर्थ संसार, काठमाडौं – यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरूले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिएका छन् ।

हिजाे एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पाँच बुँदे माग प्रस्तुत गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ । 

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीबिना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको बताए । आफूहरूलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भने, हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं । आफूहरूको व्यवसाय चौपट भएको भन्दै अब यातायात सञ्चालन गर्न नसकिने उनले बताए । 

अधिकारीले सरकारलाई सार्वजनिक यातायातको राष्ट्रियकरण गर्न भनेका छन् । उनले भने, यातायात सञ्चालन गर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रियकरण गरेर चलाओस् । राष्ट्रियकरण गर्दा आफूहरूले यातायातको लागत मुल्य पाउनुपर्ने बताए । सरकारले आफूहरूलाई कर्जा एक वर्ष पछि तिर्न मिल्ने बनाउनभन्दा पनि बेवास्ता भएको भन्दै अब कुनै हालतमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए । 

सरकारले एकपछि अर्को निजी क्षेत्रलाई समाप्त पार्न लागिपरेको उनको आरोप थियो । सरकारले सञ्चालन गरेका यातायात डुबेको स्मरण गराउँदै अहिले ती संस्थाहरू जग्गा विक्री गरेर खाने भाँडो बनेको बताए । निजी क्षेत्रको यातायात क्षेत्रमा ९९ प्रतिशत योगदान रहेको भन्दै यसलाई पनि ध्वस्त पारेर मुलुकलाई दुर्घटनातर्फ धकेल्ने काम भएको बताए । 

यातायात व्यवसायी चार महिनायता मारमा परेको भन्दै मजदुरहरू पनि समस्यामा परेको बताए । यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग गरे । 
कार्यक्रममा महासंघका महासचिव भरत नेपालले सरकारले यातायात व्यवसायीहरूसँग कुनै संवाद नगरी एकपक्षीइ निर्णय गरी सार्वजनिक यातायात सञ्चालन गर्न भनेकोमा आपत्ती जनाए । उनले यातायात व्यवसायीको तत्कालको मागबारे जानकारी गराएका छन् । 

महासंघका महासचिव नेपालले पाँच बुँदे मागबारे जानकारी गराएका थिए । जसमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार याताया मजदुर र आम यात्रुहरूको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्ण तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजन लगायत छन् । 

त्यसैगरी, कार्यक्रममा वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले यातायात व्यवसायी ठुलो मारमा परेको बताए । यस्तै अवस्था भए यातायात क्षेत्रको असरले देशको अन्य क्षेत्रमा पनि असर पर्ने औल्याए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको