Like us!
Follow us!
Connect us!
Watch us!

किन पक्राउ परे राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक ?

निशा हुमाँगाई

शनिबार, १३ असार २०७७, १० : ४१ मा प्रकाशित

किन  पक्राउ परे राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक ?

अर्थ संसार, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रबन्धक पक्राउ परेका छन् । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको हाे ।

एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् ।

उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ । जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए ।

प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिएका छन् । २५ लाख रूपैयाँभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा एक करोड २५ लाख रूपैयाँ ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसूरको अनुसन्धान गरिने प्रहरीले जनाएको छ । - रासस

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको