Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा कोरोनाबाट झण्डै दुई करोड मानिस संक्रमित

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, १४ : १० मा प्रकाशित

अमेरिकामा कोरोनाबाट झण्डै दुई करोड मानिस संक्रमित

अर्थ संसार, काठमाडौं -  अमेरिकामा कोरोना भाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ । देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका हुन् ।

स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमित भइसकेको हुनसक्ने अनुमान गरेका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्रले सङ्क्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी हुनसक्ने पनि जनाएको छ ।

सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सास राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो तथ्य सार्वजनिक भएको हो ।

अमेरिकामा अहिलेसम्म संसारकै सबैभन्दा धेरै २४ लाख जना सङ्क्रमित भएको तथ्यांक रहेको छ । त्यसैगरी हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको अमेरिकामा कोरोनाका कारण मृत्यु भएको छ ।

देशका दक्षिणी र पश्चिमी केही राज्यहरूमा पछिल्लो समय अत्यधिक धेरै मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भएका छन् । यस बारेमा अध्ययन अनुसन्धान गरिरहेका वाशिङ्गटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।

उनीहरुले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा त्यो सख्या १ लाख ४६ हजारमा सिमित हुन सक्ने अनुमान पनि गरेका छन् । रोग नियन्त्रण केन्द्रका निर्देशक डा रोबर्ट रेडफिल्डले अहिले जति सङ्क्रमितको तथ्यांक सार्वजनिक भएको छ, ती हरेकबाट अन्य दश जनाको दरले सङ्क्रमित भएको हुनसक्ने देखिएको बताएका छन् ।

अहिलेसम्म लक्षण देखिएका र चासो देखाएकाहरुलाई मात्रै कोरोना परिक्षण गर्ने गरिएकाले सङ्क्रमितको संख्या अहिले सार्वजनिक भएको भन्दा दश गुण हुनसक्ने अनुमान गरिएको उनको भनाई छ । यसरी हेर्दा अमेरिकाका पाँचदेखि आठ प्रतिशतसम्म मानिसलाई कोरोना भाइरसले असर गरिसकेको हुनसक्ने देखिएको छ । - (रासस/एपी)

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको