Like us!
Follow us!
Connect us!
Watch us!

दैलोमा अधिकार, सङ्घीयताको उपहार

मंगलबार, १५ चैत्र २०७३, १० : ५९ मा प्रकाशित

दैलोमा अधिकार, सङ्घीयताको उपहार

शुरबहादुर सिंह 

जुम्ला– सरकारले गत फागुन २७ गते स्थानीय निकाय विघटन गरेलगत्तै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिमा परिणत भयो । 

नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत तोकेर गाउँपालिकाबाट काम गर्न दिएको निर्देशन पलसम्म रोकिएन । 

एकाएक हिजोका संरचनामा फेरबदल आउँदा सर्वसाधारण नागरिक मात्र होइन, कर्मचारी स्वयम्मा पनि अनौैठो लाग्दै थियो । यद्यपि त्यही अनौठो अनुभूतिको बीचबाट सीमा तथा सङ्ख्या निर्धारण आयोगले अन्तिम निर्णय गरेका जुम्लाका सात गाउँपालिका र एक नगरपालिकामा फागुन ३० गते नै कार्यकारी अधिकृत तोकिए । 

कार्यकारी अधिकृत नियुक्त कर्मचारीले सङ्घीयता कार्यान्वयनको युगमा आफू ऐतिहासिक व्यक्ति बनेको महसुस गरे । 

यहाँका सर्वसाधारण नागरिकलाई संरचना फेरबदल हुँदा भने कौतुहलताको विषय बनिरह्यो । यसअघिका गाविस वडापालिकामा स्थापना हुँदा नागरिकलाई नयाँ लाग्नु अस्वभाविक होइन । केही महिना अघि सुनेका कुरा आज एकैचोटी कार्य व्यवहारमा आउँदा नागरिक दङ्ग परेका छन् । 

आजसम्म जुम्लाका हिमा, तिला, तातोपानी, कनकासुन्दरी, गुठीचौर र पातारासी गाउँपालिकाको उद्घाटन भएर कार्य प्रारम्भ भइसकेको छ भने वडापालिका पनि स्थापना हुने तयारीमा छन् । 

सरकारले नगर, गाउँ र वडापालिकामा साइनबोर्ड, लेटरप्याड, खाता सञ्चालन गर्ने, सबै दायित्व सार्ने निर्देशन दिएसँगै सबै काम गतिशील ढङ्गबाट हुँदै गएको स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिनुभयो । विकास निर्माणका योजना, वैयक्तिक कामकाजसहित सबै काम गाउँपालिकाबाटै हुने कुराले नागरिकमा भने खुसी छाएको उहाँले बताउनुभयो । 

आफूहरुले प्रयोग गर्न पाउने २२ प्रकारका अधिकारका विषयमा पूर्ण जानकारी भइदिए त्यसले झनै आत्मसन्तुष्टि मिल्ने तिला गाउँपालिका–४ का स्थानीय मानबहादुर शाहीले बताउनुभयो । 

अधिकार भनिएको छ, तर ती के के हुन् ? तल्लोस्तरसम्म थाहा हुन सकेको छैन, उहाँले भन्नुभयो । आफूले नागरिकताको सिफारिस वडापालिकाबाट नलिए पनि हाल वडाबाटै सिफारिस जारी भएको भन्ने कुराले खुसी लागेको उहाँको भनाइ छ । 

सङ्घीयता आफ्नो अधिकारका लागि उपहार नै भएको तिला गाउँपालिका–२ का स्थानीय कल्से रावतले जनाउनुभयो । आफ्नै घरदैलोमा सरकारका सबै संरचना हुने र दूरीका हिसाबले सहज हुने उहाँको बुझाइ छ । 

यता तातोपानी गाउँपालिकाका स्थानीय महिला मोतिपुरा रावलले अधिकार र सेवा सुविधा राम्रै हुने तर धेरै कुरा थाहा हुन बाँकी रहेको बताउनुभयो । “राज्यले महिला, दलित, जनजाति र अपाङ्गलाई सम्मान गर्ने व्यवस्था गाउँसम्म पुग्दा हर्ष त लागेकै छ, त्यसभन्दा बढी महिलाको दुःखका दिन गएको महसुस भएको छ,” उहाँले भन्नुभयो । 

महिला अगुवा दिलमाया शाहीले गरिब, पिछडिएका, कमजोर, महिला वर्ग र क्षेत्रका लागि सङ्घीयता उपहार भएको दाबी गर्नुभयो । अध्ययन नभए पनि राज्यले महिलालाई गरेको सम्मानले आफूहरुमा उर्जा मिलेको उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, “शासन व्यवस्थाले यो देशको एकल महिलालाई राष्ट्रपति बनाउला भन्ने कल्पनामा पनि थिएन तर पनि आँखा अगाडि व्यवस्थासँगै अवस्था परिवर्तन भएको देखियो । यसले स्थानीय तहमा पनि हामीलाई प्रमुख बन्न साहस मिलेको छ ।” रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको