Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो रहनेछ आजको मौसम

निशा हुमाँगाई

सोमबार, २६ जेठ २०७७, ११ : २१ मा प्रकाशित

यस्तो रहनेछ आजको मौसम

अर्थ संसार, काठमाडौं - सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताएका छन् । गए राति विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको बताइएको छ ।

“अहिले फेरि यी चार प्रणाली विकसित भई सक्रिय अवस्थामा रहेकाले पुनः वर्षाको सम्भावना रहेको हो”, मौसमविद् बासीले बताए । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १० हो तर यस वर्ष औसत समयभन्दा केही ढिलो मनसुन भित्रिने भएको छ । मनसुन शुरु हुनुपूर्व जुन किसिमको वातावरण हुनपर्ने हो त्यो बनिसकेको छैन ।

मौसमविद्का अनुसार मनसुन भित्रिनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा प्रष्टसँग देखिनपर्ने हुन्छ । यसका साथै न्यून चापीय क्षेत्रको विकास भएर न्युन चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको तथा प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा प्रदेश २ र प्रदेश ५ र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको