Like us!
Follow us!
Connect us!
Watch us!

बाली बिमा बढाउन सरोकारवालाको माग

शनिबार, ०५ चैत्र २०७३, ०९ : ५४ मा प्रकाशित

बाली बिमा बढाउन सरोकारवालाको माग

अर्थ संसार 
काठमाडौ–नेपालमा बाली बिमा गर्ने क्रम बढ्न नसको सरोकारवालाले बताएका छन् । कृषकहरुका लागि बिमा अत्ति आवश्यक रहेको उनीहरुको भनाइ छ । काठमाडौमा आयोजित लघुवित्त सम्मेलनमा ‘नेपालमा बाली बिमाको अभ्यास’ बिषयक छलफलमा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमा बिमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले उत्पादन, लागत र मौसम सुचांकमा आधारित बाली बिमा योजनाहरु समितिले निर्माण गरिसकेको बताउनु भयो । त्यस्तै, कृषि बिमामा सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । 

जसअनुसार कुनै पनि कृषकले १ लाखको सम्पतिको सुरक्षा गर्न जम्मा २५ प्रतिशत बिमाशुल्क भुक्तानी गरे पुग्छ । त्यसमा सरकारले ७५ प्रतिशत भुक्तानी गर्छ । अर्थात् कृषकहरुले बर्षमा जम्मा १ हजार २ सय ५० रुपैयाँ मात्रै भुक्तानी गरी १ लाख बराबरको सम्पतिको सुरक्षा गर्न सक्छन् । यस्तो सहज अवस्थामा पनि बाली बिमा प्रति कृषकहरु आकर्षित हुन नसक्नु अस्भाविक भएको उनले बताउनुभयो ।

‘कृषि बिमाको पहुँच बढाउन समितिले कम्पनीहरुलाई जिल्ला नै तोकेर बिमा गर्न निर्देशन दिएको छ,’ उहाँले भन्नुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डेभलपमेण्ट प्रोजेक्ट सर्भिस सेन्टर नेपाल (डिप्रोक्स) का उप निर्देशक तोयानाथ पाण्डेले बिमा कम्पनीहरुलाई नै बाली बिमासम्बन्धी पर्याप्त जानकारी नभएकै कारण नेपालमा बाली बिमा बृद्धि हुन नसकेको बताउनुभयो ।

त्यस्तै, ग्रामिण क्षेत्रमा कम्पनीहरुको पहुँच नहुनु, बाली बिमालेख जारी गर्दा बढी खर्च लाग्नु, जोखिम बढी हुनु, अभिकर्ताको अभाव, क्षतिपूर्ति सम्बन्धी बैज्ञानिक आधार नुहुनु, यस बिषयमा अनुसन्धान हुन नसक्नुलगायतका कारणले बिमाको दर बढ्न नसकेको उहाँले बताउनु भयो । 

त्यस्तै, कार्यक्रममा अर्को कार्यपत्र प्रस्तुत गर्दै शिखर इन्स्योरेन्स कम्पनीका कृषि तथा लघु बिमा शाखा प्रमुख उदित काफलेले नेपालमा बाली बिमाको दरलाई बढाउने हो भने मौसम सुचांकमा आधारित बिमा योजना तयार पार्नुपर्ने बताउनुभयो । हाल बिमा कम्पनीहरुले जारी गर्दै आएको बाली तथा पशुपन्छी बिमा उत्पादनमा आधारित छन् । अन्य बिमाका लागी यो आधार उचित भए पनि बाली बिमाका लागी उपयोगी नभएको उहाँले बताउनुभयो ।

उत्पादनको आधारमा बाली बिमालेख जारी गर्दा र क्षतिपूर्ति भुक्तानी गर्दा मूल्यांकन गर्न कठिन हुने भएकाले बाली बिमा प्रति कृषकहरु पनि आकर्षित हुन नसकेको उहाँले बताउनुभयो । ‘मौसम सुचांकका आधारमा बाली बिमा गर्ने हो भने मूल्यांकन गर्न सजिलो हुन्छ । जसका कारण कम्पनीलाई क्षतिपूर्ति भुक्तान गर्न सहज हुन्छ भने क्षतिपूर्तिबाट कृषक सन्तुष्ट हुन सक्छन्,’ उहाँले भन्नुभयो । 

कार्यपत्र माथि टिप्पणी गर्दै नेरुडे लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मणिकुमार अर्यालले नेपालमा कृषि बिमाको पहुँच विस्तार गर्न सरकार तथा कम्पनीहरु लचक हुनु पर्ने बताउनुभयो । ‘हामी कृषि बिमाको सुरुवाती अवस्थामा छौ, त्यसैले कृषकहरुलाई यसको बानी पार्न कम्पनीहरुले नाफा भन्दा सेवामुखी भएर काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो । त्यस्तै, कम्पनीहरुले उत्पादनमा आधारित बाली बिमा जारी गर्न उहाँले सुझाव दिनुभयो ।

त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषका नायव प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले मौसम सुचांकमा अधारित बिमा योजना  जारी गर्दा बाली बिमाको क्षेत्र साघुरिन सक्ने बताउनु भयो । ‘उसै पनि नेपालमा मौसम स्टेशन कम छन् । त्यसमै आधारित भएर बिमा गर्ने हो भने सानो क्षेत्रलाई मात्रै समेटिन सक्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सक्षमका फिल्ड संयोजक ओमकार पाण्डेले बिमा समितिले निर्माण गरेका बिमा योजनालाई मात्रै जारी गरेर नेपालमा बाली बिमाको दर बढ्न नसक्ने बताए । कम्पनीहरु आफैले पनि योजनाहरु निर्माण गर्नुपर्छ । समितिको मात्रै भर पर्नु हुँदैन,’ उहाँले भन्नुभयो । 

चालु आर्थिक बर्ष २०७३/७४ को दोश्रो त्रैमासिक अवधिसम्ममा बिमा समितिमा प्राप्त भएको तथ्याक अनुसार कम्पनीहरुले जारी गरेको कुल कृषि बिमामध्ये बाली बिमाको हिस्सा १३ प्रतिशत मात्रै  छ । त्यस अवधिमा कम्पनीहरूले ४६ करोड ५ लाख रुपैयाँब राबरको बाली बिमा गरेका छन् ।

जसबापत कम्पनीहरूले १ करोड ७९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् भने ८३ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् । बाली बिमाबापत कम्पनीहरूले १ करोड ३४ अनुदानको विरतण गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको