Like us!
Follow us!
Connect us!
Watch us!
नागरिक लगानी कोष वार्षिकोत्सव

८४ अर्ब रकम : प्रभावकारी छैन लगानी

शुक्रबार, ०४ चैत्र २०७३, १० : ५३ मा प्रकाशित

८४ अर्ब रकम : प्रभावकारी छैन लगानी

अर्थ संसार 
काठमाडौँ– ठूलो साधन र स्रोत भएपनि नागरिक लगानी कोषले सोचेजति प्रगति र लगानीको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको पाइएको छ । कोषसँग हाल रु ८५ अर्ब २६ करोड १२ लाख रकम रहेको छ । कोषले केही महत्वपूर्ण आयोजनामा लगानी गरेको भएपनि जुन स्तरमा लगानीको वातावरण बनाउनुपर्ने हो त्यतातिर भने ध्यान दिन सकेको छैन । 

सरकारको निर्देशनमा कोषले माथिल्लो तामाकोशीलगायतका केही जलविद्युत् आयोजनामा लगानी भने गरेको छ । तर व्यवासायिक योजना र क्रियाशिलताको अभाव भने कोषसँग रहँदै आएको समस्या हो । नीजि क्षेत्रसँग मिलेर काम गर्ने तर्फ कोषले हालसम्म कुनै योजना बनाउन सकेको छैन ।

कोषमा हाल पाँच लाख ७० हजार सेवाग्राहीले कोष कट्टी गरिरहेका छन् । वचत वृछि, अवकाश कोष, सावधिक जीवन बिमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, पूँजीबजार सेवा, धितोपत्र निस्काशन जस्ता योजना ल्याएर सेवाग्राहीको मन जित्न खोजेपनि आर्थिक उर्पाजन तथा आर्थिक समृद्धितर्फको यात्रामा भने ठोस र गर्न सकिने जति काम भने गर्न नसकेको पाइएको छ । 

कोषले लगानी गरेको छैन भन्दा हालसम्म रु ८० अर्ब लगानी गरेको छ । त्यो लगानीले दिने प्रतिफल र आर्थिक वृद्धिको क्षेत्रमा भने सोचेजति प्रगति हुन नसक्नु दुखद रहेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त, जलविद्युत्, कृषि पर्यटन तथा उत्पादनमूलक पूर्वाधारमा लगानी गर्ने भन्ने कोषको योजना भएपनि जलविद्युत्को सिमित क्षेत्र बाहेक अन्य क्षेत्रमा कोषको लगानी ठोस र प्रतिफल दिने तवरले काम गर्न नसकेको नै हो ।

कोषका अध्यक्ष महाश्रम शर्मा कोषलाई व्यावसायिक एवम् प्रतिस्पर्धी बनाएर अगाडि जाने गरी कार्ययोजना अगाडि सारिएको बताउँछन् । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने गरी कार्ययोजना अगाडि सारिएको र त्यसका लागि प्रभावकारी र वैज्ञानिक योजनाका साथ काम हुने, सार्वजनिक, नीजि क्षेत्रसँग मिलेर जाने नै आफूहरुको प्रमुख लक्ष्य रहेको उनको भनाइ छ । 

तर कोषले लिने व्याज तथा सेवाशुल्क भने महंगो रहेको र सेवाग्राहीकै अपेक्षा भन्दा बढी रहेको गुनासो पनि आएको छ । प्रतिस्पर्धात्मक बजारको परिणामस्वरुप सिर्जित अवसरको उपयोग गर्दै कोषले कोषले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहकार्य र साझेदारका माध्यमबाट स्रोत पहिचान र उपयोगका लागि नयाँ रणनीतिहरु कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।

पूँजी विस्तारका लागि प्रक्रियागत सरलीकरण एवम् सूचना प्रविधिको प्रभावकारी उपयोग, सक्षम र दिगो व्यवस्थापन, उत्पादनमूलक, प्रतिफलयुक्त र राष्ट्रिय दृष्टिले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नु पर्ने अवस्था रहेको छ । 

कोषको कार्यालय पनि केन्द्रीतकृत रुपमा काठमाडौँमा मात्रै रहेको अवस्था छ । केही समयपहिले पोखरा र विराटनगरबाट सेवा सुरु गरेपनि अन्य क्षेत्र तथा स्थानमा कार्यालय स्थापना गर्ने तर्फ ध्यान दिएको छैन ।

कोषले धितोपत्र खरिद तथा व्यवस्थापनको काम गर्दै आएको भएपनि सेवा शुल्क महंगो लिने तर व्यवस्थापन कार्य भने सोचजति प्रभवकारी रुपमा गर्न नसकेको गुनासो पनि व्याप्त रुपमा रहेको छ । 

कोषको रकम आम जनताको भएकाले पनि त्यसको पारदर्शिता महत्वपूर्ण एवम् जरुरी कडीको रुपमा रहेको छ । त्यसतर्फ ध्यान नदिने हो भने पैसा भएर पनि लगानी गर्न नसक्ने संस्थाको रुपमा कोष रहने र देखिने अवस्था रहनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको