Like us!
Follow us!
Connect us!
Watch us!

भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : लालबाबु पण्डित

निशा हुमाँगाई

शुक्रबार, १७ माघ २०७६, १६ : ४४ मा प्रकाशित

भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : लालबाबु पण्डित

अर्थ संसार, काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नु पर्ने धारणा राखेका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ दोलखास्थित प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालले ‘भ्रमण वर्ष–२०२०’ लाई सफल पार्नको लागि नेपाल सरकार, गैरसरकारी संस्था र व्यक्तिहरू सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

उनले भने,‘भ्रमण वर्षलाई असफल पार्नको लागि एक खालको समूह लागिपरेको छ । ती समूहलाई रोक्नको लागि सरकार प्रतिबद्ध र कटिबद्ध छ ।’

भ्रमण वर्ष सफल बनाउनको लागि वर्तमान सरकार गम्भिर भएर लागिपरेको उनको धारणा छ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार पार्नको लागि त्यही अनुसार काम गरिरहेको पनि पूर्वमन्त्री पण्डितले विश्वास दिलाएका छन् । उनले नेपाल पर्यटनको सम्भावना बोकेको देश भएकोले प्रत्येक नागरिक र सरोकारवालाहरूले भ्रमण वर्षलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट पारेका छन् । 

उनले भने,‘नेपाल एउटा सुन्दर मुलुक हो । नेपाल भ्रमणको लागि विश्वमै उपयुक्त गन्तव्य हो भन्ने सन्देश हामीले विश्वभरि नै फैलाउनुपर्छ ।’ उनले भ्रमण वर्ष सफल पार्नको लागि प्रेमपूर्ण प्रताप फाउण्डेशन नेपालले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेका थिए । 

त्यस्तै, फाउण्डेशनले ब्राण्ड एम्बासडरको रूपमा अघि बढाएका ‘नेपाली माईकल ज्याक्सन’ को उपनामले चिनिने कलाकार रेवन सापकोटाले गरेका कामको समेत पण्डितले प्रशंसा गरेका थिए ।

 कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले कलाकारहरूको माध्यमबाट भ्रमण वर्ष सफल पार्नको लागि देशव्यापी रूपमा कार्यक्रमहरू भैरहेको सुनाए । राज्यले पनि कलाकारहरूलाई उचित सम्मान दिनुपर्ने उनको भनाई छ ।

‘अहिले राज्यले कलाकारहरूलाई उपेक्षा गरेकोजस्तो देखिएको छ, यस्तो गर्नुभएन । आगामी दिनमा कलाकारहरूलाई सरकारले उचित सम्मान दिइयाेस् ।’– सिम्खडाले भने । 

त्यस्तै, कार्यक्रममा सामाजिक अभियन्ता पुण्य गौतम, अधिवक्ता प्रविन प्रधान, फाउण्डेशनकी उपाध्यक्ष शान्ति श्रेष्ठ र फाउण्डेशनकी कोषाध्यक्ष देवी गुरूङले भ्रमण वर्ष सफल पार्नको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने धारणा राखेका थिए ।

 फाउण्डेशनका अध्यक्ष शिवजी प्रधानले आफूहरूको मुख्य लक्ष्य भनेको नेपाल सरकारले घोषणा गरेर अघि बढाएको ‘भिजिट नेपाल–२०२०’ लाई सफल तुल्याउन भूमिका खेल्ने र कलाकार रेवन सापकोटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा अघि बढाउनु रहेको सुनाए ।

भ्रमण वर्ष सफल बनाउनको लागि आफूहरूको फाउण्डेशनका संस्थापक संरक्षक पद्यमा प्रधानले संयुक्त राज्य अमेरिकामा बसेरपनि सहयोग प्रदान गरेको अध्यक्षले सुनाए । 

कलाकार रेवन सापकोटाले नेपाल सरकारले सुरू गरेको भ्रमण वर्षलाई सफल तुल्याउनको लागि त्यसको प्रचारप्रसारमा विभिन्न देश समेत पुगेको सुनाए । उनका अनुसार चीन र भारतका विभिन्न पर्यटकीय स्थलमा पुगेका छन् । नेपालमा पनि देशव्यापी रूपमा आफू अभियानमा हिँडिरहेको उनले सुनाए ।

त्यस्तै, आजको पत्रकार सम्मेनलको सञ्चालन फाउण्डेशनका सदस्य राजन बस्नेतले गरेका थिए । बस्नेतका अनुसार उक्त फाउण्डेशनले शिक्षा, स्वास्थ्य, संस्कृति, कला र पर्यटनसम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । त्यस्तै, फाउण्डेशनले सेवा निवृत्त तथा बृद्धहरूको संरक्षण अभियानसमेत चलाउँदै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको