Like us!
Follow us!
Connect us!
Watch us!

चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग, बेला बेलामा झ्याप्प झ्याप्प !

अर्थ संसार

मंगलबार, २२ पुस २०७६, १६ : ४१ मा प्रकाशित

चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग, बेला बेलामा झ्याप्प झ्याप्प !

अर्थ संसार, काठमाडौं- राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

 विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक हजार ८९ मेगावाट मात्रै पुगेको थियो । जाडोका कारण देशव्यापीरुपमा नै विद्युत् माग बढेर एक हजार ३५२ मेगावाट पुगेको छ । लक्ष्मीपूजाको दिन सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको उच्च माग ३३१ मेगावाट मापन गरिएको थियो । जाडो बढ्दा माग ११९ मेगावाटले वृद्धि भएको छ । 

 एक्कासि विद्युत् माग बढ्दा सवस्टेशन तथा ग्रीडहरुमा समेत जटिलता देखिएको छ । यस्तै प्रसारण तथा वितरण प्रणालीमा पनि ‘ओभर लोड’ देखिएको छ । जाडोका कारण हरेक घर, कोठा कोठामा न्यायो बनाउने हिटर तथा एसीजस्ता उपकरण चलेका कारण पनि विद्युत् माग ह्वात्तै बढेको छ । प्राधिकरणले औसतमा विद्युत् माग ३५० मेगावाटको हाराहारीमा हुने अनुमान गरेको थियो तर अनुमान गरेभन्दा झण्डै १०० मेगावाट बढी माग प्रणालीमा देखिएको छ ।

 जाडो बढेको खण्डमा अझै विद्युत् माग बढ्न जाने सम्भावना रहेको छ । प्राधिकरणले विद्युत् माग बढ्नुलाई सकारात्मक रुपमा नै लिएको छ । यद्यपि झयाप्प–झयाप्प लाइन काटिदा मर्का पर्ने गरेको उपभोक्ताको गुनासो छ ।

 प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् माग बढेसँगै देखिएका समस्या समाधानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिनुभएको छ । “सवस्टेशन र ग्रीडमा देखिएको समस्या त करिब–करिब समाधान भइसकेको छ । केही वितरण तथा प्रसारण प्रणालीमा देखिएको उल्झनको समाधानका लागि निरन्तर अनुगमन जारी छ”, प्रवक्ता अधिकारीले भन्नुभयो ।

 यस्तै राजधानीमा भइरहेको सडक विस्तारका कारण पनि केही स्थानमा अनिवार्य रुपमा लाइन काटिएको छ । प्रवक्ता अधिकारीका अनुसार चक्रपथमा रुख बिरुवा हटाउने कार्यका लागि पनि दिनभरजसो नै लाइन काट्नुपरेको छ । यस्तै समस्या देखिएको स्थानमा नयाँ ट्रान्सफर्मर थप्न तथा ग्रीडको मर्मत तथा सुधारका लागिसमेत एकाध स्थानमा लाइन काटिएको हुनसक्ने उहाँको भनाइ छ ।  “हामीले नियमित रुपमा विश्वसनीय र समान भोल्टेजको विद्युत् उपलब्ध गराउनका लागि प्रयास गरिरहेका छौँ । जाडोको समयमा औसतरुपमा नै बढी विद्युत् माग हुन जान्छ । हरेक घर, कोठामा समेत हिटर र एसी चलेका छन् । त्यसका कारण पनि माग बढी भएको हो, हामी सकेसम्म विद्युत् नकाटिने गरी नै समस्या समाधानमा लागिपरेका छौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो ।

 प्राधिकरणले ओभरलोड भएका फिडरमा त्यस्तो लोड घटाउन बढी क्षमता भएका ट्रान्सफर्मर जडानलाई समेत निरन्तरता दिएको छ । यस्तै वितरण प्रणालीमा देखिने समस्या समाधानका लागि २४ सैँ घण्टा परिचालित हुने गरी प्राविधिकसहितको जनशक्ति परिचालन गरिएको छ ।

 प्राधिकरणले माग जति बढे पनि पुग्दो विद्युत् उपलब्ध गराउन कुनै समस्या नरहेको उल्लेख गर्दै आएको छ । माग बढे पनि पुरानो प्रणालीका कारण ती स्थानमा ओभरलोडको समस्या भने देखिएको प्राधिकरणले स्वीकार गरेको छ । प्रवक्ता अधिकारीले भन्नुभयो, “विद्युत् नपुगेर कहीँकतै पनि लाइन काटिएको होइन, पुरानो प्रणाली मर्मत तथा सुधार गर्दा केही समय काट्नुपरेको हो । यस्तो समस्या क्रमशः समाधान भएर जान्छ नै ।”

 समस्या आएको छ, तर समाधानका लागि पनि काम भइरहेको र प्रणाली सुधार गर्दा, फिडर परिवर्तन गर्दा केही स्थानमा अनिवार्य रुपमा नै लाइन काट्नुपर्ने प्राधिकरणको भनाइ छ । यस्तै केही स्थानमा थप ट्रान्सफर्मर राख्ने स्थानको अभावमा पनि लोड व्यवस्थापनमा जटिलता देखिएको छ ।

 शहरमा सडक विस्तारको काम जारी छ । विशेष गरी चक्रपथलगायतका स्थानमा सडक विस्तारको काम भइरहेका कारण पोल सार्नुपर्ने अवस्थाका कारण पनि केही समय लाइन काटिएको प्राधिकरणको भनाइ छ । जाडोका कारण विशेष गरी शहरी क्षेत्रमा ट्रान्सफर्मरको क्षमताभन्दा बढी विद्युत् माग भएको छ । ती स्थानमा माग एकै पटक धान्ने भन्दा बढी पनि आउने गरेको छ ।

 यसले सिस्टमको कमजोरी पत्ता लगाउन पनि हामीलाई सहज भएको छ । तर, जनतालाई सास्ती नहोस् भनेर लाइन जानासाथै प्राधिकरणले समस्या समाधान गर्न टोली खटाउने गर्छ । वितरण लाइन पुरानो भएर आएका समस्या हटाउन हामीले सुधारको काम गरिरहेका छौँ । बढी लोड भएका ठाउँमा फिडर थप्दैछौँ, फेर्दैछौँ ।

 प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार विद्युत् माग घण्टापिच्छे नै फरक फरक रहेको छ । यस्तै केही आयोजनामा विद्युत् उत्पादन पनि कम भइसकेको छ । वर्षाको समयमा स्थानीय उत्पादनले नै माग धान्ने अवस्था भए पनि हिउँद लाग्दै गएपछि त्यसलाई व्यवस्थापन गर्न भारतबाट पनि थप विद्युत् आयात भइरहेको छ तर परिणामात्मक रुपमा आयात भइरहेको विद्युत्को मात्रा विगतको वर्षको तुलनामा असाध्यै कम रहेको छ । सुक्खायाम बढ्दै जाँदा माग व्यवस्थापनाका लागि भारतबाट करिब ४०० मेगावाटको हाराहारीमा आयात हुनसक्ने देखिएको छ ।

 प्राधिकरणले समस्या देखिएका स्थानको बारेमा जानकारी दिनसमेत उपभोक्तालाई आग्रह गरेको छ । “हामी कहीँकतै पनि विद्युत् प्रवाहमा समस्या नहोस् भन्ने चाहेका छौँ, त्यस कारण समस्या देखिने बित्तिकै नो लाइट तथा नजिकको वितरण केन्द्रमा सम्पर्क गर्न आग्रह गर्दछौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको