Like us!
Follow us!
Connect us!
Watch us!

प्रेस काउन्सिलबाट सञ्चार निर्देशिका जारी [ निर्देशिकासहित]

बुधबार, १८ फागुन २०७३, १२ : ५३ मा प्रकाशित

प्रेस काउन्सिलबाट सञ्चार निर्देशिका जारी  [ निर्देशिकासहित]

अर्थ संसार 
काठमाडौं– 
प्रेस काउन्सिल नेपालले अपाङ्गतामैत्री सञ्चार निर्देशिका–०७३, बालमैत्री सञ्चार निर्देशिका–०७३ र विज्ञापनसम्वन्धी सञ्चार निर्देशिका–२०७३ जारी गरेको छ ।बिशेषज्ञसम्मिलित कार्यदलले बृहत छलफलपछि तयार गरेको उक्त निर्देशिकाको मसौदाउपर प्रेस काउन्सिल नेपालको शुक्रबार बसेको बैठकले पारित गरेपछि जारी भएको हो । 

आमसञ्चारमाध्यमलाई बालमैत्री, अपाङ्गतामैत्री बनाउँदै स्वस्थ, मर्यादित पत्रकारिताको विकासको लागि पत्रकार आचारसंहिता—२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी काउन्सिलले नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला संघ÷संस्थाको सल्लाह र सम्मतिमा उक्त निर्देशिकाहरु जारी गरेको हो ।

छिट्टै महिला सञ्चार निर्देशिका र दलितमैत्री सञ्चार निर्देशिकासमेत जारी गर्नेगरी तयारी भैरहेको प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले बताउनुभयो ।
महेन्द्रराज सिंह, २०७३ फागुन १७ गते, काठमाडौं ।

निर्देशिकाहरु यस प्रकारको छ । 

बालमैत्री सञ्चार निर्देशिका–२०७३
प्रस्तावना
पत्रकार आचारसंहिता–२०७३ को दफा ४ को उपदफा ४ मा पत्रकार र सञ्चारमाध्यमले बालबालिकाको उत्थान र विकासमा विशेष सहयोगपुर्याउने गरी सूचना सम्प्रेषण गर्नुपर्दछ भन्ने सामाजिक दायित्व तोकिएको हुँदा सो दायित्वको विषयमा विशिष्टीकृत व्यवस्था हुन वाञ्छनीय भएकोले पत्रकार आचारसंहिता–२०७३ को दफा (१२) का आधारमा प्रेस काउन्सिल नेपालद्वारा बालमैत्री सञ्चार निर्देशिका–२०७३ जारी गरिएको छ ।
प्रारम्भिक
१.    नाम, प्रारम्भ र विस्तार : 
        (१)     यस निर्देशिकाको नाम बालमैत्री सञ्चार निर्देशिका–२०७३  रहेको छ ।
       (२)     यो निर्देशिका लागु हुनेछ ।
(३)     यो निर्देशिका नेपालमा सञ्चालित सञ्चारमाध्यम तथा नेपालभित्र रहेर पत्रकारिता गर्ने सम्पूर्ण पत्रकारलाई लागू हुनेछ ।   
२.     परिभाषा ः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,
(१)     ‘काउन्सिल’ भन्नाले प्रेस काउन्सिल नेपाल सम्झनुपर्छ ।
(२)     ‘आचारसंहिता’  भन्नाले पत्रकार आचारसंहिता–२०७३ सम्झनुपर्छ ।
(३)     ‘निर्देशिका’ भन्नाले बालमैत्री सञ्चार निर्देशिका–२०७३ सम्झनुपर्छ ।
(४)     ‘समाचार सम्प्रेषण’ भन्नाले विद्युतीय लगायतका सम्पूर्ण सञ्चारमाध्यमबाट सम्प्रेषित श्रव्य, दृश्य, मुद्रण, चित्रांकन, छायांकन एवम् विज्ञापन लगायतका सामग्री सम्झनुपर्छ ।
(५)     ‘सञ्चारमाध्यम’ भन्नाले पत्रपत्रिका, रेडियो, टेलिभिजन, विद्युतीय सञ्चारमाध्यम, समाचार एजेन्सी तथा इन्टरनेटका माध्यमबाट समाचार, सूचना, विज्ञापन, तथा विचारमूलक लेख वा कार्यक्रम उत्पादन, वितरण एवं सम्प्रेषण गर्ने संघ, संस्था, निकाय, कम्पनी, सेवा प्रदायक र सेवा सम्झनुपर्छ ।
(६)     ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन, सञ्चार र सम्प्रेषण जस्ता कार्यसँग आबद्ध कुनै पनि व्यक्ति वा सो कार्यसँग सम्बन्धित कुनै पनि पद, हैसियत र सम्बन्धमा काम गर्ने व्यक्ति सम्झनुपर्छ ।

पत्रकार र सञ्चारमाध्यमको कर्तव्य
३.     पत्रकार र सञ्चारमाध्यमले बालबालिका सम्बन्धी समाचार सम्प्रेषण गर्दा देहाय अनुसारका कर्तव्य पालना गर्नुपर्छ : 

(क)    बालबालिकालाई प्राथमिकताः पत्रकार र सञ्चारमाध्यमले बालबालिकामा सकारात्मक प्रभाव पार्ने सामग्रीलाई विशेष प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपर्दछ । 
(ख)     बालबालिकाको अधिकारको संरक्षण : पत्रकार र सञ्चारमाध्यमले बालबालिकाको अधिकारको संरक्षण र हित हुने गरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ ।

(ग)    बीभत्स सामग्री सम्प्रेषणमा सजगता : पत्रकार र सञ्चारमाध्यमले हिंसा, हत्या, आगजनी, प्राकृतिक विपत् जस्ता घटना वा दुर्घटनासम्बन्धी तस्वीर वा दृश्य विशेष सजगता र सावधानीका साथ समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर नपुर्याउने गरी विशेष सजगता र सावधानीका साथ  सम्प्रेषण तथा समाचार सामग्री गर्नुपर्छ
(घ)    अन्तर्वार्ता लिनु पूर्व स्वीकृति : पत्रकार र सञ्चारमाध्यमले अभिभावक, शिक्षक वा संरक्षकको पूर्व स्वीकृति लिएर मात्र बालबालिकाको अन्तर्वार्ता वा समाचार सम्प्रेषण  गर्नुपर्छ ।  
(ङ)    विज्ञापनमा बालबालिकाको प्रयोगमा सजगता : पत्रकार र सञ्चारमाध्यमले बालबालिकाको हित र सुरक्षामा प्रतिकूल असर नपर्ने गरी विज्ञापन सम्प्रेषण  गर्नुपर्छ । 
(च)    बालबालिका निम्ति उपयोगी सामग्री सम्प्रेषण : पत्रकार र सञ्चारमाध्यमले बालबालिकाको अभिरुचि, विचार र भावनाका लागि उपयोगी हुने समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ ।
(छ)    बाल–बिज्याइँ वा अपराधका घटनामा बाल संवेदनशील व्यवहार :पत्रकार र सञ्चारमाध्यमले बाल–बिज्याइँमा बालन्यायको सिद्धान्तलाई सधैं आत्मसात् गरी समाचार 
(ज)    बालबालिकाको गोपनीयताको संरक्षण : बालबालिकामाथि उनीहरूका नातेदारबाट यौनहिंसा वा दुव्र्यवहार भएको अवस्थामा बालबालिकाको गोपनीयताको संरक्षण गर्न पत्रकार र सञ्चारमाध्यमले अभियुक्तको समेत परिचय गोप्य राखी समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ । 
(झ)    सनसनी वा अतिरञ्जित सामग्रीमा सम्प्रेषणमा सजगता  ः पत्रकार र सञ्चारमाध्यमले बालबालिकासँग सम्बन्धित समाचार सामग्रीलाई सनसनी वा अतिरञ्जित नबनाईसम्प्रेषण गर्नुपर्छ ।

पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने 
४.     पत्रकार र सञ्चारमाध्यमले बालबालिकासम्बन्धी समाचार सम्प्रेषण गर्दा देहायअनुसार कार्यहरू गर्नहुँदैनः

(क)    बाल मनोविज्ञानमा नकारात्मक असर पार्न नहुने : पत्रकार र सञ्चारमाध्यमले बालमनोविज्ञानमा नकारात्मक असर पार्ने समाचार सामग्री सम्प्रेषण गर्नु हुँदैन । 
(ख)    बालबालिकाको आत्मसम्मानमा ठेस पु¥याउन नहुने: पत्रकार र सञ्चारमाध्यमले बाल संवेदनशीलतामा प्रतिकूल असर पर्ने र बालबालिकाको आत्मसम्मानमा ठेस पुग्ने समाचार सामग्री सम्प्रेषण गर्नु हुँदैन ।    
(ग)     बालबालिकालाई हानि पुर्याउन नहुने: पत्रकार र सञ्चारमाध्यमले  सार्वजनिक हित हुने बाहेक अन्य अवस्थामा बालबालिकालाई हानि पुग्ने, जोखिम हुने वा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने गरी उनीहरूको पहिचान सार्वजनिक गर्नु हुँदैन । 
(घ)    साक्षी वा अभियुक्तको रूपमा परिचय गराउन नहुने: पत्रकार र सञ्चारमाध्यमले बालबालिकालाई घटनाका साक्षी वा अभियुक्तका रूपमा चिनाउन वा स्रोतका रूपमा प्रयोग गरी उनीहरूको परिचय खुलाउन हुँदैन ।
(ङ)    रेखाचित्र, तस्वीर र दृश्यको प्रयोग गर्न नहुने:पत्रकार र सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाहित गर्ने अवस्थामा बाहेक बालबालिकाको व्यक्तिगत परिचय खुल्ने गरी रेखाचित्र, तस्वीर र श्रव्यदृश्यको सम्प्रेषण गरी उनीहरूलाई कुनै किसिमको जोखिममा पार्नु हुँदैन । 
(च)    अश्लील सामग्री प्रस्तुत गर्न नहुने: पत्रकार र सञ्चारमाध्यमले बालबालिकालाई प्रयोग गरी तयार गरिएको अश्लील सामग्री सम्प्रेषण गर्नु हुँदैन । 
(छ)    बालबालिकामाथि जोखिम हुने गरी विज्ञापन सम्प्रेषण गर्न नहुने: पत्रकार र सञ्चारमाध्यमले बालबालिकाको हित र सुरक्षामा जोखिम हुने र उनीहरूलाई निहित राजनीतिक वा व्यापारिक उद्देश्यले  प्रयोग गरिएको विज्ञापन सम्प्रेषण गर्नु हुँदैन । 
(ज)     बालबालिकाको परिचय खुलाउन नहुने: पत्रकार र सञ्चारमाध्यमले यौनहिंसा वा दुव्र्यवहारमा परेका बालबालिकाको परिचय खुलाएर समाचार सामग्री सम्प्रेषण गर्नु हुँदैन । 
(झ)    सकेसम्म अन्तर्वार्ता लिन नहुने ः: पत्रकार र सञ्चारमाध्यमले सकेसम्म बालबालिकाको अन्तर्वार्ता लिनु हुँदैन ।  
विविध
५.     उजुरी र कार्यवाही: पत्रकार आचारसंहिता, २०७३ मा व्यवस्था भएबमोजिम हुनेछ ।
६.     निर्देशन र सुझाव: (१) यो निर्देशिकाको पालना गर्न/गराउनका लागि प्रेस काउन्सिल नेपालद्वारा समय–समयमा जारी गरिएका निर्देशन र सुझावको पालना गर्नु पत्रकार र सञ्चारमाध्यमको कर्तव्य हुनेछ । (२) उपदफा (१) बमोजिम दिइएको निर्देशन र सुझावलाई यसै निर्देशिकाको अभिन्न अंग मानिनेछ ।
७.     कार्यविधि बनाउन सक्ने:(१) यो निर्देशिका लागू गर्न पत्रकार आचारसंहिता–२०७३ अन्तर्गत बनेको कार्यविधि लागू हुनेछ । 
(२) उपदफा (१) बमोजिमको कार्यविधिका अतिरिक्त पनि छुट्टै वा विशेष कार्यविधि बनाउनुपर्ने सक्नेछ ।
८.     आन्तरिक निर्देशिका: (१) यो निर्देशिका लागू गर्न प्रत्येक सञ्चारमाध्यमले बालबालिका सम्बन्धी समाचार सम्प्रेषण सम्बन्धमा आन्तरिक निर्देशिका बनाई लागू गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्देशिका बनेको कुरा प्रेस काउन्सिल नेपाललाई सूचित गर्नुपर्नेछ ।
(३) उपदफा (१) बमोजिमको निर्देशिका लागू भए/नभएको बारेमा प्रेस काउन्सिल नेपालले समय–समयमा बुभ्mन, सूचना लिन वा अनुगमन गर्न सक्नेछ ।
९.     बचाउ : यस निर्देशिकामा लेखिएका विषयमा यसै बमोजिम र यसमा उल्लेख नभएका विषयमा पत्रकार आचारसंहिता– २०७३ बमोजिम हुनेछ ।
१०.     व्याख्या गर्ने अधिकार: यो आचारसंहिता लागू गर्ने सम्बन्धमा बाधा अड्काउ फुकाउने एवं यो आचारसंहिताको व्याख्या गर्ने अधिकार प्रेस काउन्सिल नेपालमा रहनेछ ।

विज्ञापनसम्बन्धी सञ्चार निर्देशिका–२०७३                      
प्रस्तावना
सञ्चारमाध्यममा सम्प्रेषण हुने विज्ञापनको प्रभाव समाचार सामग्री झैं आम जनतामा प्रत्यक्षतः पर्ने हुँदा जनताको हितमा प्रतिकूल असर पर्न नदिनका लागि विज्ञापन सम्बन्धी विशिष्टीकृत व्यवस्था हुन वाञ्छनीय भएकाले पत्रकार आचारसंहिता–२०७३ को दफा (१२) का आधारमा प्रेस काउन्सिल नेपालद्वारा विज्ञापन सम्बन्धी सञ्चार निर्देशिका–२०७३ जारी गरिएको छ ।
प्रारम्भिक
१    नाम, प्रारम्भ र विस्तार : (१) यस निर्देशिकाको नाम विज्ञापन सम्बन्धी सञ्चार निर्देशिका–२०७३ रहेको छ । 
(२)     यो निर्देशिका तुरुन्त लागू हुनेछ । 
(३)     यो निर्देशिका नेपालमा सञ्चालित सबै प्रकारका सञ्चारमाध्यम तथा नेपालभित्र रहेर पत्रकारिता गर्ने  सम्पूर्ण पत्रकारलाई लागू हुनेछ ।   
२.     परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,
       (१)     ‘उपभोक्ता’ भन्नाले सञ्चारमाध्यमको पाठक, श्रोता, दर्शक तथा सञ्चारमाध्यममा सम्प्रेषित   
              विज्ञापन बमोजिमको वस्तु वा सेवा वा विचार उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था सम्झनुपर्छ ।
(२)       ‘ऐन’ भन्नाले प्रेस काउन्सिल ऐन, २०४८ सम्झनुपर्छ ।
(३)    ‘काउन्सिल’ भन्नाले  प्रेस काउन्सिल नेपाल सम्झनुपर्छ ।
   (४)       ‘आचारसंहिता’  भन्नाले पत्रकार आचारसंहिता–२०७३ सम्झनुपर्छ ।
(५)      ‘निर्देशिका’ भन्नाले विज्ञापन सम्बन्धी सञ्चार निर्देशिका–२०७३ सम्झनुपर्छ ।
(६)      ‘व्यवस्थापक’ भन्नाले कुनै सञ्चार प्रतिष्ठानको कार्य सञ्चालनमा अन्तिम निर्णय गर्ने अधिकारप्राप्त    
         व्यक्ति सम्झनुपर्छ ।
(७)   ‘विज्ञापन’ भन्नाले कुनै पनि वस्तु वा सेवाको बजार प्रवद्र्धन गर्न वा सार्वजनिक हित वा अन्य कुनै उद्देश्य प्राप्तिका लागि कुनै सञ्चारमाध्यमबाट मौखिक, लिखित, तस्वीर, दृश्य लगायत कुनै तरीकाले सम्प्रेषण गरिने सार्वजनिक सूचना वा सूचनामूलक सामग्री सम्झनुपर्छ ।
(८)  ‘समाचार सम्प्रेषण’ भन्नाले विद्युतीय लगायतका सम्पूर्ण सञ्चारमाध्यममा वितरित, प्रकाशित एवं सञ्चारित श्रव्य, दृश्य, मुद्रण, चित्रांकन, छायाँकन एवं विज्ञापन लगायतका सामग्री सम्झनुपर्छ ।
(९)     ‘सञ्चारमाध्यम’ भन्नाले पत्रपत्रिका, रेडियो, टेलिभिजन, विद्युतीय सञ्चार माध्यम, समाचार एजेन्सी तथा इन्टरनेटका माध्यमबाट समाचार, सूचना, विज्ञापन, तथा विचारमूलक लेख वा कार्यक्रम उत्पादन, वितरण एवं सम्प्रेषण गर्ने संघ, संस्था, निकाय, कम्पनी, सेवा प्रदायक र सेवा  सम्झनुपर्छ ।
(१०)     ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन, सञ्चार र सम्प्रेषण जस्ता कार्यसँग आबद्ध कुनै पनि व्यक्ति वा सो कार्यसँग सम्बन्धित कुनै पनि पद, हैसियत, र सम्बन्धमा काम गर्ने व्यक्ति सम्झनुपर्छ ।

पत्रकार र सञ्चारमाध्यमको कर्तव्य

३.         पत्रकार र सञ्चारमाध्यमले विज्ञापन सम्प्रेषण गर्दा देहाय अनुसारका कर्तव्य पालना गर्नुपर्छ :
(१)    पत्रकार र सञ्चारमाध्यमले प्रचलित नेपाल कानूनले निषेध नगरेका विज्ञापन सम्प्रेषण गर्नुपर्छ ।
(२)       पत्रकार र सञ्चारमाध्यमले स्पष्ट परिचय खुल्ने आधिकारिक परिचयप पत्र वा दर्ता नवीकरण भएका विज्ञापनदाताको मात्र विज्ञापन सम्प्रेषण गर्नुपर्छ ।
(३)      पत्रकार र सञ्चारमाध्यमले विज्ञापनदाताले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट स्वीकृत लिनुपर्ने विज्ञापन भए स्वीकृति लिएको प्रमाण भए मात्र विज्ञापन सम्प्रेषण गर्नुपर्छ ।
(४)      पत्रकार र सञ्चारमाध्यमले कुनै व्यक्ति, समुदाय वा संस्थाको ख्याति, सम्मान, मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता तथा  जनस्वास्थ्यमा आघात नपर्ने विज्ञापन सम्प्रेषण गर्नुपर्छ ।
(५)     पत्रकार र सञ्चारमाध्यमले खुला तथा स्वच्छ प्रतिस्पर्धी बजारको सिद्धान्त अनुकूलका, कुनै उत्पादन  वा प्रतिस्पर्धीलाई नहोच्याउने खालका विज्ञापन सम्प्रेषण गर्नुपर्छ ।
(६)    पत्रकार र सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य  तथा महामारी लगायत जनस्वास्थ्यसँग सरोकार राख्ने विषयसम्बन्धीे विज्ञापन भएमा पनि उत्तेजना  वा निराशा उत्पन्न नहुने र अतिरञ्जना नफैलाउने भए मात्र सम्प्रेषण गर्नुपर्छ ।
(७)    पत्रकार र सञ्चारमाध्यमले  विज्ञापनदाता वा विज्ञापन एजेन्सी वा विज्ञापन निर्माणकर्ताको प्रत्यक्ष वा परोक्ष  दवाव वा प्रलोभनमा नपरी पत्रकार आचारसंहिता अनुकूलका विज्ञापन सम्प्रेषण गर्नुपर्छ ।
(८)    पत्रकार र सञ्चारमाध्यमले न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ, असहाय, महिला, फरक क्षमता भएका व्यक्ति, दलित तथा अल्पसंख्यक समुदाय, गरीब एवम् पिछडिएको क्षेत्रका मानिसको मर्यादा, भावना, आत्मसम्मानमा प्रतिकूल असर नपार्ने तथा बालबालिकालाई तत्काल र दीर्घकालीन हानि नपुर्याउने खालका विज्ञापन सम्प्रेषण गर्नुपर्छ ।
(९)    पत्रकार र सञ्चारमाध्यमले आधिकारिक परिचयपत्र लिएर मात्र व्यक्ति वा संस्थाको विज्ञापन सम्प्रेषण गर्नुपर्छ । 

पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने 

४.     पत्रकार र सञ्चारमाध्यमले विज्ञापन सम्प्रेषण गर्दा देहाय अनुसारका कार्यहरू गर्न हु“दैन ः 
(१)      पत्रकार र सञ्चारमाध्यमले उपभोक्तामा भ्रम पर्ने, अन्धविश्वासलाई प्रोत्साहन गर्ने, अतिशयोत्तिपूर्ण किसिमले बढाईचढाई गरिएका, आधारहीन, झुटा र धोका दिने किसिमका विज्ञापन सम्प्रेषण गर्नुहुँदैन ।    
(२)      पत्रकार र सञ्चारमाध्यमले उच्च सामाजिक नैतिकता तथा सदाचार प्रतिकूल, अश्लील भाषा वा अश्लील भाव आउने विज्ञापन सम्प्रेषण गर्न हँुदैन ।
(३)    पत्रकार र सञ्चारमाध्यमले जीउ, ज्यान, स्वास्थ्य र सम्पत्तिमा नोक्सान पुर्याउने, पर्यावरण बिगार्ने, वातावरण प्रदूषण गर्ने खालका विज्ञापन सम्प्रेषण गर्न हुँदैन ।
(४)    पत्रकार र सञ्चारमाध्यमले कुनै एक व्यक्ति वा प्रतिष्ठानको मात्र विज्ञापन सम्प्रेषण गर्ने गरी सम्झौता गर्न हुँदैन । तर एकै प्रकारका विज्ञापन प्रसारण गर्नमा कुनै बाधा पर्नेछैन ।
(५)    पत्रकार र सञ्चारमाध्यमले विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनका रूपमा सम्प्रेषण गर्न हुँदैन ।
(६)    पत्रकार र सञ्चारमाध्यमले अनुसन्धान, प्रयोग र सर्वेक्षण गर्ने उद्देश्य प्राप्तिका लागि निर्माण भएका विज्ञापन सम्प्रेषण गर्न हुँदैन ।
(७)    पत्रकार र सञ्चारमाध्यमले समाजमा निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न एवम् क्षतविक्षत दृश्य झल्कने खालका विज्ञापन सम्प्रेषण गर्न हुँदैन।
(८)     पत्रकार र सञ्चारमाध्यमले आधिकारिक निकायबाट प्रमाणीकरण नभएको वा दावी गरिएको अनुभव, परीक्षण आदि प्रस्तुत हुने विज्ञापन सम्प्रेषण गर्न हुँदैन ।
(९)       पत्रकार र सञ्चारमाध्यमले गोपनीयता भंग गर्ने, आतंक, भय, त्रास बढाउने, शान्ति–सुरक्षामा खलल पुर्याउने , विभिन्न अपराध, गैरकानूनी कार्य, आत्महत्या वा हिंसाजनक गतिविधि गर्न उक्साउने विज्ञापन सम्प्रेषण गर्नु हुँदैन ।
विविध
५.     उजूरी र कार्यवाही : पत्रकार आचारसंहिता, २०७३ मा व्यवस्था भएबमोजिम हुनेछ ।
६.     निर्देशन र सुझाव : (१) यो निर्देशिकाको पालना गर्न/गराउनका लागि प्रेस काउन्सिल नेपालद्वारा समय–
       समयमा जारी गरिएका निर्देशन र सुझावको पालना गर्नु पत्रकार र सञ्चारमाध्यमको कर्तव्य हुनेछ ।
      (२) उपदफा (१) बमोजिम दिइएको निर्देशन र सुझावलाई यसै निर्देशिकाको अभिन्न अंग मानिनेछ ।
७.    कार्यविधि बनाउन सक्ने : (१) यो निर्देशिका लागू गर्न पत्रकार आचारसंहिता–२०७३ अन्तर्गत बनेको कार्यविधि लागू हुनेछ । 
(२) उपदफा (१) बमोजिमको कार्यविधिका अतिरिक्त पनि छुट्टै वा विशेष कार्यविधि बनाउनुपर्ने आवश्यकता प्रेस काउन्सिलले ठानेमा सोही मुताबिक विशेष कार्यविधि पनि बनाउन सक्नेछ ।
८.     आन्तरिक निर्देशिका : (१) यो निर्देशिका लागू गर्न प्रत्येक सञ्चारमाध्यमले विज्ञापन सम्प्रेषण सम्बन्धमा आन्तरिक निर्देशिका बनाई लागू गर्नुपर्नेछ ।
        (२) उपदफा (१) बमोजिमको निर्देशिका बनेको कुरा प्रेस काउन्सिललाई सूचित गर्नुपर्नेछ ।
    (३) उपदफा (१) बमोजिमको निर्देशिका लागू भए/नभएको बारेमा प्रेस काउन्सिलले समय–समयमा बुभ्mन, सूचना लिन वा अनुगमन गर्न सक्नेछ ।
९.     बचाउ : यस निर्देशिकामा लेखिएका विषयमा यसै बमोजिम र यसमा उल्लेख नभएका विषयमा पत्रकार आचारसंहिता– २०७३ बमोजिम हुनेछ ।
१०.     व्याख्या गर्ने अधिकार : यो आचारसंहिता लागू गर्ने सम्बन्धमा बाधा अड्काउ फुकाउने एवं यो आचारसंहिताको व्याख्या गर्ने अधिकार प्रेस काउन्सिल नेपालमा रहनेछ ।

अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सन् २००६) ले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र गरिमाको संरक्षण सुनिश्चित गरेको तथ्यलाई हृदयंगम गर्दैै आमसञ्चार प्रक्रियाका क्रममा अक्षर, वचन वा दृश्यद्वारा अपाङ्गता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द, शब्दावली, तस्वीर वा भाषा प्रयोग नहोस् वा त्यस्तो आशय प्रकट नहोस् भन्ने ध्येयका साथ आमसञ्चारमाध्यम तथा पत्रकारले आफ्नो कर्तव्यपालनाको क्रममा अपाङ्गता भएका व्यक्तिप्रति थप जिम्मेवारी, संवेदनशीलता र उत्तरदायित्व वहन गर्न वान्छनीय भएकोले पत्रकार आचारसंहिता—२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघ र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल समेतको सल्लाह र सम्मतिमा प्रेस काउन्सिल नेपालद्वारा अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ जारी गरिएको छ ।
प्रारम्भिक
१.     नाम, प्रारम्भ र विस्तार   
       (१)     यस निर्देशिकाको नाम अपाङ्गतामैत्री सञ्चार निर्देशिका– २०७३ रहेको छ ।
        (२)     यो निर्देशिका प्रेस काउन्सिल नेपालले निर्णय गरेको मिति २०७३/११/१५ गतेबाट लागू भएको छ ।
(३)     यो निर्देशिका नेपालमा सञ्चालित सञ्चारमाध्यम तथा नेपालभित्र रहेर पत्रकारिता गर्ने सम्पूर्ण पत्रकारलाई लागू हुनेछ ।   
२.     परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,
(१)     ‘काउन्सिल’ भन्नाले प्रेस काउन्सिल नेपाल सम्झनुपर्छ ।
(२)     ‘आचारसंहिता’ भन्नाले पत्रकार आचारसंहिता–२०७३ सम्झनुपर्छ । 
(३)     ‘निर्देशिका’ भन्नाले अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३ सम्झनुपर्छ ।
(४)     ‘समाचार सम्प्रेषण’ भन्नाले विद्युतीय लगायतका सम्पूर्ण सञ्चारमाध्यममा वितरित, प्रकाशित एवम् सञ्चारित श्रव्य, दृश्य, मुद्रण, चित्रांकन, छायांकन एवम् विज्ञापन लगायतका सामग्री सम्झनुपर्छ
(५)     ‘सञ्चारमाध्यम’ भन्नाले पत्रपत्रिका, रेडियो, टेलिभिजन, विद्युतीय सञ्चारमाध्यम, समाचार एजेन्सी तथा इन्टरनेटका माध्यमबाट समाचार, सूचना, विज्ञापन, तथा विचारमूलक लेख वा कार्यक्रम उत्पादन, वितरण एवं सम्प्रेषण गर्ने संघ, संस्था, निकाय, कम्पनी, सेवा प्रदायक र सेवा सम्झनुपर्छ ।
(६)    ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन, सञ्चार र सम्प्रेषण जस्ता कार्यसँग आबद्ध कुनै पनि व्यक्ति वा सो कार्यसँग सम्बन्धित कुनै पनि पद, हैसियत र सम्बन्धमा काम गर्ने व्यक्ति सम्झनुपर्छ ।
(७)     ‘अपाङ्गता’ भन्नाले विभिन्न कारणले अपाङ्गता भएका व्यक्ति सम्झनुपर्छ । 
    
पत्रकार र सञ्चारमाध्यमको कर्तव्य

३.     पत्रकार र सञ्चारमाध्यमले अपाङ्गतासम्बन्धी समाचार सम्प्रेषण गर्दा देहाय अनुसारका कर्तव्य पालना गर्नुपर्दछ : 
१)     व्यक्तिको गरिमाको सम्मान : पत्रकार र सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिको गरिमा र मर्यादामा  चोट नपुग्ने वा अवहेलना नहुने वा थप पीडा नदिने गरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ । 
२)     अपाङ्गता भएका व्यक्तिको अभिव्यक्तिको सुनिश्चितता : पत्रकार र सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिको मर्यादाको पूर्ण सम्मानका साथ अन्तर्वार्ता लिई उनीहरूको विचार, भावना र धारणा तोडमोड नगरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ ।
३)     विशेषणको प्रयोगमा सतर्कता : पत्रकार र सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिका नाम वा सन्दर्भ उल्लेख गर्दा अनुपयुक्त र असान्दर्भिक ढंगले अपाङ्गता झल्किने शब्द वा विशेषणको प्रयोग नगरी मर्यादितरूपमा व्यक्तिको व्यावसायिक वा सामाजिक परिचय खुल्ने गरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ ।
४)     थप हानि पुग्न सक्नेमा सजगता : पत्रकार र सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिलाई कुनै घटनाको साक्षी वा प्रत्यक्षदर्शीका रूपमा प्रस्तुत गर्दा उनीहरूको अवहेलना नहुने गरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ ।
५.     अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी जानकारी : पत्रकार तथा सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिको हकअधिकारका सम्बन्धमा विद्यमान व्यवस्थाहरूप्रति सचेतता अपनाई वा अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्तिसरह व्यवहार गरी वा समावेशिताको सुनिश्चितता दिई समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ ।
पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने

४.     पत्रकार र सञ्चारमाध्यमले अपाङ्गता सम्बन्धी समाचार सम्प्रेषण गर्दा देहाय अनुसारका कार्यहरू गर्नु हुंदैनः 

१)     अपाङ्गता भएका व्यक्तिको सम्मानमा ठेस पुर्याउन नहुने : पत्रकार र सञ्चारमाध्यमले सोझो अर्थमा वा सांकेतिक अभिव्यक्तिका क्रममा अपाङ्गता भएका व्यक्तिको गरिमामा प्रतिकूल असर पर्ने परम्परागत प्रचलनमा रहेका शब्द, शब्दावली, उपमा र उखानटुक्काको प्रयोग गरी समाचार सम्प्रेषण गर्नु हुँदैन ।
२)     अपाङ्गता भएका व्यक्तिको सम्मानमा चोट  पुर्याउने शब्द र शब्दावलीको प्रयोग गर्न नहुने : पत्रकार र सञ्चारमाध्यमले अपांगता भएका व्यक्तिको गरिमा प्रतिकूल हुने गरी देहायका शब्द र शब्दावली प्रयोग गरि समाचार सम्प्रेषण गर्नु हुँदैन ।  
प्रयोग गर्न नहुने शब्द, शब्दावली    प्रयोग गर्नुपर्ने शब्द, शब्दावली
अपाङ्ग    अपाङ्गता 
विकलाङ्ग
अपाङ्ग व्यक्ति, बिषेश क्षमता भएको व्यक्ति, भिन्न क्षमता भएको व्यक्ति, फरक क्षमता भएको व्यक्ति,     
अपाङ्गता भएका व्यक्ति 
बहिरो, लाटो, लाटी,     बहिरा व्यक्ति, सुस्त श्रवण भएको व्यक्ति सुनाइ र बोलाइ संबन्धी  अपाङ्गता भएको व्यक्ति
दृष्टिविहीन, अन्धो, कानो    दृष्टिविहीन न्यून दृष्टियुक्त व्यक्ति
सेरेब्रल पल्सी (मस्तिष्क पक्षाघात)    मस्तिष्क पक्षाघात भएको व्यक्ति
अपाङ्ग, खोरन्डो, डुँडो, ढिकिच्याउँ, लंगडो, शारीरिक अपाङ्ग वा शारीरिक रूपमा चुनौतीयुक्त व्यक्ति    शारीरिक अपाङ्गता भएको व्यक्ति, पोलिमाइलाइटिस भएको व्यक्ति
अटिज्म वा अटिस्टिक    अटिज्म भएको व्यक्ति
गोजेँग्रो, लठेब्रो, सुस्त मनस्थिति    बौद्धिक अपांगता भएको व्यक्ति
डुँडो, डुँडी   एम्प्युटी भएको व्यक्ति, शारीरिक अपाङ्गता भएको व्यक्ति, हात वा खुट्टा नभएको व्यक्ति
हेमोफिलिक    हेमोफिलियायुक्त व्यक्ति
डाउन सिन्ड्रम वा डाउन सिन्ड्रमबाट पीडित व्यक्ति    डाउन सिन्ड्रम भएको व्यक्ति 
बौलाहा, पागल, अर्धपागल, साइको    मनोसामाजिक अपाङ्गता भएको व्यक्ति
कुष्ठरोगी    कुष्ठ प्रभावित व्यक्ति
सामान्य विद्यालय    मूलधारका विद्यालय वा अन्य विद्यालय
म्युट    बोलाइ सम्बन्धी अपाङ्गता भएको व्यक्ति
बाखो     भकभके अपाङ्गता भएका व्यक्ति
डल्ले, डल्ली    होचापुड्का
भावना र व्यवहारमा समस्या भएको व्यक्ति    भावना र व्यवहार संबन्धीत अपाङ्गता भएको व्यक्ति
विशेष विद्यालय    विशेष शिक्षा प्रदान गर्ने विद्यालय
समावेशी विद्यालय    समावेशी शिक्षा प्रदान गर्ने विद्यालय

३)     अपाङ्गता भएका व्यक्तिको आत्म सम्मानमा चोट पुर्याउने  उपमाको प्रयोग गर्न नहुने ः पत्रकार र सञ्चारमाध्यमले अपांगता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुग्ने देहायका उपमाहरू प्रयोग गरी समाचार सामग्री सम्प्रेषण गर्नु हुँदैन । 
१)         लाटो जस्तो
२)         कानो सरकार
३)         अन्धो सरकार
४         अपाङ्ग सरकार
५)         अन्धा ेपे्रम र अन्धभक्त 
६)     त्यति पनि कुरा नबुझेको हत लाटा वा लाटी म के म अन्धो हो र? बहिरो हो र? पागल हो र ?
८)         बहिरो सरकार
९)         लंगडो सरकार 
१०)     ए ऊ त साइको भएछ 
११)        अपाङ्ग सरकार 
१२)     कस्तो पागल जस्तो बकबक गरेको 
१३)     कति बोल्न सक्या होला पागल जस्तो 
१४)     यति पनि कुरा नबुझेको कस्तो लाटो भाको होला 
१५)     हामीलाई अपाङ्ग बनाइँदैछ 
१६)     यो त अपाङ्ग जस्तो भएन र ? कस्तो अपाङ्ग चिया बनाएको ?
१७)     कस्तो अपाङ्ग जस्तो कुरा गरेको ?
४)     पत्रकार र सञ्चारमाध्यमले अपांगताको अवस्था वा अपांगता भएका व्यक्तिको गरिमा प्रतिकूल असर पु¥याउने देहायका उखान टुक्का प्रयोग गरी समाचार सामग्री सम्प्रेषण गर्नु हुँदैन ।   
१)     अन्धा(काना)को देशमा आँखा चिम्लनु, लंगडाको देशमा खुट्टो खोच्याउनु
२) आँखाको कानो नाउँ नैनसुख
३) कानो गोरुलाई औसी न पुर्ने 
४) के खोज्छस् काना आँखो 
५) जो होचो उसको मुखमा घोचो
६) ताई भन्दा सेखी- धाक भन्दा धक्कु) ठूलो, हिँड्न लाग्यो खुट्टा लुलो 
७) देख्नेका आँखा फुटे सुन्नेका सही
८) धेरै कराउनेको मुख बाङ्गो
९) नहुने मामा भन्दा कानो मामा निको 
१०) बौलाहा कुकुरलाई फूलबारीको डेरा 
११) लाटाको खुट्टा बाटामा
१२) लाटो देशमा गाँडो तन्नेरी
१३) लाटो खान्छ एक बूल्डयाङ, बाठो खान्छ तीन बल्डयाङ
१४) साउनमा आँखा फुटेको गोरु सधै हरियो देख्छ
१५) होचाकी जोई सबैकी भाउजू

५)     दयाको पात्रका रूपमा प्रस्तुत गर्न नहुने : पत्रकार र सञ्चारमाध्यमले अपाङ्गताको विषयलाई संकेत, प्रतीक, हास्य–व्यंङग्य र दयाको पात्रका रूपमा प्रस्तुत हुने गरी समाचार सामग्री सम्प्रेषण गर्नु हुँदैन । 
विविध
५.     उजूरी र कार्यवाही : पत्रकार आचारसंहिता, २०७३ मा व्यवस्था भए बमोजिम हुनेछ ।
६.     निर्देशन र सुझाव : (१) यो निर्देशिकाको पालना गर्न÷गराउनका लागि प्रेस काउन्सिल नेपालद्वारा समय–समयमा जारी गरिएका निर्देशन र सुझावको पालना गर्नु पत्रकार र सञ्चारमाध्यमको कर्तव्य हुनेछ ।
      (२) उपदफा (१) बमोजिम दिइएको निर्देशन र सुझावलाई यसै निर्देशिकाको अभिन्न अंग मानिनेछ ।
७.     कार्यविधि बनाउन सक्ने : (१) यो निर्देशिका लागू गर्न पत्रकार आचारसंहिता–२०७३ अन्तर्गत बनेको कार्यविधि लागू हुनेछ । 
(२) उपदफा (१) बमोजिमको कार्यविधिका अतिरिक्त पनि छुट्टै वा विशेष कार्यविधि बनाउनुपर्ने आवश्यकता प्रेस काउन्सिलले ठानेमा सोही मुताबिक विशेष कार्यविधि पनि बनाउन सक्नेछ ।
८.     आन्तरिक निर्देशिका : (१) यो निर्देशिका लागू गर्न प्रत्येक सञ्चारमाध्यमले अपाङ्गता समाचार सम्प्रेषण सम्बन्धमा आन्तरिक निर्देशिका बनाई लागू गर्नुपर्नेछ ।
        (२) उपदफा (१) बमोजिमको निर्देशिका बनेको कुरा प्रेस काउन्सिल नेपाललाई सूचित गर्नुपर्नेछ ।
        (३) उपदफा (१) बमोजिमको निर्देशिका लागू भए/नभएको बारेमा प्रेस काउन्सिल नेपालले समय–समयमा बुभ्mन, सूचना लिन वा अनुगमन गर्न सक्नेछ ।
९.     बचाउ : यस निर्देशिकामा लेखिएका विषयमा यसै बमोजिम र यसमा उल्लेख नभएका विषयमा पत्रकार आचारसंहिता– २०७३ बमोजिम हुनेछ ।
१०.     व्याख्या गर्ने अधिकार : यो आचारसंहिता लागू गर्ने सम्बन्धमा बाधा अड्काउ फुकाउने एवम् यो आचारसंहिताको व्याख्या गर्ने अधिकार प्रेस काउन्सिल नेपालमा रहनेछ ।
                                                                      

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको