Like us!
Follow us!
Connect us!
Watch us!

बचतकर्ताको पैसा खाने युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

अर्थ संसार

मंगलबार, ०३ मंसिर २०७६, २१ : ३० मा प्रकाशित

बचतकर्ताको पैसा खाने युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

अर्थ संसार, काठमाडौं -काठमाडौँ महानगरपालिकाको २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा  घोषणा गरिएको छ । कामपाको आज बसेको ३८औँ कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

बैठकले महानगरको वडा २९ मा २०६४ सालमा दर्ता भएर सञ्चालनमा आएको सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्कविहीन भएको पनि जनाएको छ । महानगरको प्रशासन विभागका प्रमुख नमराज ढकालका अनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । “यसअघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रिपरिषद्मा जानुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ । यही व्यवस्थाअनुसार निर्णय भएको हो ।” कामपामा हाल एक हजार ८४८ सहकारी छन् ।

बैठकले कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ‘२५औँ महानगर दिवस मूल समारोह समिति’ गठन गरेको छ । बैठकले वडा ३१ मा निर्माण सम्पन्न भएको पञ्चकुमारी सामाजिक गुठीको नक्सा स्वीकृत दस्तुर फिर्ता गर्ने निर्णय गरेको छ ।

काठमाडौँलगायत देशका विभिन्न स्थानमा आयोजना हुने १३औँ साफ खेलकुदका सम्बन्धमा छलफल गर्दै बैठकले वडा ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा राजस्व, वातावरण, सूचना तथा सञ्चारसहित सम्बद्ध विभागका अधिकारीसहितको सात सदस्यीय समिति गठन गरेको छ । त्यस्तै महानगरलाई आश्रित मानिसमुक्त सहर बनाउने अभियानलाई प्रभावकारी बनाएर सञ्चालन गर्ने, मानव सेवा आश्रमसँगको सहकार्य थप २ वर्षका लागि नवीकरण गर्नेलगायत निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको