Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा लगानी गर्ने उत्कृष्ट मौका : अर्थमन्त्री खतिवडा

बुधबार, २५ भदौ २०७६, १८ : ५४ मा प्रकाशित

नेपालमा लगानी गर्ने उत्कृष्ट मौका :  अर्थमन्त्री खतिवडा

अर्थ संसार, काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको बताउनु भएको छ । प्रायःजसो वैदेशिक लगानीमा कम्तिमा पनि २५ प्रतिशतको प्रतिफल प्राप्त भइरहेको भन्दै उहाँले विश्वपरिवेशमा यस्तो प्रतिफल १० प्रतिशतको हाराहारीमात्रै रहेको बताउनुभयो ।

उहाँले हाल क्रेडिट रेटिङ कम्पनीहरु आक्रामक रुपमा आइरहेको र नेपालेल पनि मुलुकको क्रेडिट रेटिङको अन्तिम चरणमा रहेको बताउनु भयो । सरकारलाई सामाजिक सुरक्षामा बढी दायित्व रहेको उहाँले बताउनुभयो । ‘३० भन्दा बढी मौलिक हक संविधानले व्यवस्था गरेको र त्यसमध्ये धेरैजसो सामाजिक क्षेत्रसँग सम्बन्धित छन्,’ उहाँले भन्नुभयो, ‘यसबाहेक संघीयताअन्तरगत ७६१ वटा सरकारको व्ययभार, सामाजिक सुरक्षामा कुल बजेटको १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने अवस्था, दीगो विकासका लक्ष्य हासिल गर्न भौतिक, सहरी, जल तथा ऊर्जाजस्ता क्षेत्रमा लगानी बढाउनुपर्ने बाध्यताले सरकारले निजी क्षेत्रको सहभागिता खोजेको छ ।’

मन्त्री खतिवडाले मुख्य पूर्वाधारको क्षेत्र सडक, रेलमार्ग, विमानस्थल र पर्यटन पूर्वाधारमा आवस्यक लगानी गरेपछि मात्रै निजी क्षेत्रको प्रवेश सहज हुने बताउनु भयो । यसबाहेक सरकारले संस्थागत, कानूनी र नियामकीय पुनर्संरचनाको पनि पहल थालिसकेको उहाँले बताउनुभयो । जोखिम विविधिकरणका लागि पनि सरकारले निजी क्षेत्रको सहयोग खोजेको भन्दै उहाँले कतिपय पूर्वाधार परियोजनालाई व्यवसायिक मोडेलमा पनि लान सकिने भएकाले यस्ता परियोजनामा सरकारले लगानी गरिरहनु नपनेर्् बताउनुभयो । सरकारको हस्तक्षेप कुन तहसम्म राख्ने र पूँजी बजारलाई स्वपूँजी लगानीको स्रोत कसरी बनाउने भनेर सरकार बहसका तयार रहेको खतिवडाले बताउनुभयो ।

लगानी बोर्डका पूर्व सीईओ राधेश पन्तले नेपालमा गुणस्तरीय लगानीको आवस्यकता रहेको बताउनु भयो । यसका लागि सरकारको तर्फबाट अनुदान तथा उचित सहकार्यको आवस्यकता रहेको उहाँले बताउनुभयो । सरकारले सृजनात्मक खालका परियोजनाका लागि थप पहल गर्नुपर्ने भन्दै सार्वजनिक निजी साझेदारीका परियोजनालाई सरकारी आम्दानीको स्रोत बनाउन नहुने उहाँको भनाइ थियो । यस्ताखाले परियोजनाले दीर्घकालिन रुपमा आम्दानी दिने उहाँले बताउनुभयो । सरकारका तर्फबाट सहुलियत, ग्याप फण्डिङ, हेजिङ, ग्रीड बण्डजस्ता औजारमार्फत् वैदेशिक लगानी आकर्षण गर्न सक्ने उहाँले बताउनुभयो ।

उहाँले केही सफल परियोजनाको कथा विश्वसामु प्रस्तुत गरेर लगानीकर्ताको आत्मविश्वास बढाउन सकिने बताउनुभयो । दीर्घकालिन विकासको आधार तयार गर्न हालको समय उपयुक्त भएको उहाँको बुझाइ छ ।
विश्व बैंकका उपाध्यक्ष चिङतोङ हुआले नेपालमा निजी क्षेत्रउन्मुख आर्थिक बृद्धि, समावेशीकरण र विविधिकरणका लागि विश्व बैंकले उल्लेखनीय योगदान गरेको बताउनुभयो । हाल विश्वबैंकद्वारा सञ्चालित २५ भन्दा बढी परियोजनाले सक्रीय रुपमा काम गरिरहेको भन्दै उहाँले नेपालमा २.६ अर्ब अमेरिकी डलर बराबरको परियोजना विश्व बैंकले अघि बढाएको बताउनुभयो ।

नेपालले मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्नका लागि लिएको तदारुकतालाई स¥हाना गर्दै उहाँले नेपालको समष्टिगत आर्थिक सूचक सकारात्मक रहेको बताउनुभयो । उहाँले वित्तीय तथा पूँजी बजारको विकासमा विश्वबैंक अन्तरगतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले सहयोग गरिरहेको बताउनुभयो । पूँजीगत औजारका माध्यामद्वारा नै पूर्वाधार विकास गर्न सकिने उहाँको भनाइ छ ।

अमेरिकाले उद्यमशीलता विकास, नियामकीय प्रभावकारीता र धितोपत्र बजारका माध्यमद्वारा विकासको मार्ग प्रशस्त गरेको उहाँले बताउनुभयो । यसैगरी चीन, दक्षिण कोरिया र मलेसियाजस्ता मुलुकले पनि ऋणपत्र बजारको विस्तार गरेर विकासको गति समातेको उहाँको भनाइ छ । ऋणपत्रको विस्तारद्वारा दीर्घकालिन पूर्वाधारका लागि पूँजी निर्माण गर्न सकिने उहाँको भनाइ थियो ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वित्तीय संस्थाहरुले आफ्नो कुल लगानीको २० प्रतिशत हाराहारी पुर्वाधार क्षेत्रमा लगानी गरेको बताउनुभयो । त्यसमध्ये धेरैजसो जलविद्युत् र नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भएको उहाँले बताउनुभयो । वित्तीय संस्थाहरुले अनुभवका आधारमा परियोजना छनोट, मूल्यांकन र व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो । सरकारको लक्ष्य अनुरुपको आर्थिक बृद्धि हासिल गर्न पर्याप्त लगानीको आवस्यकता रहेको भए पनि वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव भइरहेको बताउनुभयो । यस्तो समस्या सुल्झाउन सरकारले अफशोर बजारबाट पैसा ल्याउन सहजीकरण गरिदिनुपर्ने बताउनुभयो ।

चार्टर्ड एकाउण्टेण्टहरुको संस्था आइक्यानका अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्यले ओईसीडीको प्रतिवेदन २०१५ को प्रसङ्ग उल्लेख गर्दै नेपालमा पारदर्शिताको अभाव मुख्य चूनौती रहेको बताउनुभयो । पूर्वाधार विकासका लागि सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रको साझेदारी महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सरकारले प्रशासनिक क्षमता विस्तार र अनुगमन तथा मूल्यांकन बढाउनुपर्ने, निजी क्षेत्रले खरीद प्रक्रिया पारदर्शी बनाउनुपर्ने तथा वित्तीय क्षेत्रले तथ्यांक व्यवस्थापन र विश्लेषणद्वारा सही निर्णय लिनसक्नुपर्ने उहाँको भनाइ छ । परियोजनामा आधारित ऋणपत्र, कर्पोरेट बण्ड तथा स्थानीय सरकारले जारी गर्ने ऋणपत्रजस्ता नयाँ वित्तीय औजारहरुमार्फत् पुर्वाधारका लागि आवस्यक लगानी जुटाउन सकिने उहाँले बताउनुभयो । तर नेपालले हालसम्म परम्परागत ढर्राका ऋण परिचालनमा मात्रै निर्भर रहेको उहाँको भनाइ छ ।

कोरिया विश्वविद्यालयका प्राध्यापक डा ताइ योङ चुङले आफ्नो मुलुक विश्व बजारमा प्रतिस्पर्धी क्षमता विकास गरेर विकसित भएको बताउनुभयो । उहाँले वित्तीय स्रोतको आश्यकता रहेको नेपालजस्तो मुलुकले आफ्नो प्राथमिकताको क्षेत्र पहिचान गरेर लगानीयोग्य वातावरण बनाउनुपर्ने बताउनुभयो । निजी ऊर्जा उत्पादकहरुको संस्था इपानका उपाध्यक्ष आशिस गर्गले सरकारले निजी क्षेत्रसँग लगानीको उच्च आकांक्षा राखेको भन्दै त्यसअनुरुप उचित वातावरण तयार पार्न नसकेको बताउनुभयो ।

गत वर्ष निजी क्षेत्रबाट ५०० मेगावाट विद्युत् उत्पादन भएको भन्दै उहाँले लगानीयोग्य वातावरण नभए पनि निजी क्षेत्र सधैं लगानीका लापिग तत्पर रहेको बताउनुभयो । उचित प्रतिफलको सुनिश्चितता, हेजिङको व्यवस्था र परियोजनाका आधारमा लगानी गर्ने व्यवस्थाको लागि सरकारले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको