Like us!
Follow us!
Connect us!
Watch us!

यी २८ बैंकले कमाए नाफा २१ अर्ब

विहीबार, ०५ फागुन २०७३, ११ : ५१ मा प्रकाशित

यी २८ बैंकले कमाए नाफा २१ अर्ब

काठमाडौः चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २८ वटा वाणिज्य बैंकले २१ अर्ब ८ करोड खुद मुनाफा कमाएका छन् । यस वर्षको यो अवधिमा कमाएको नाफा गएको वर्षको सोही अवधिको तुलनामा ४२.८१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ३० वटा वाणिज्य बैंकले १४ अर्ब ७६ करोड नाफा गरेका थिए । यस वर्षको पुस मसान्तसम्म ३ वटा वाणिज्य बैंकले साढे एक अर्बभन्दा बढी नाफा कमाएका छन् भने ३ वटा बैंकको नाफा अर्बभन्दा माथि छ । उक्त अवधिमा अन्य वाणिज्य बैंकहरूको मुनाफा पनि उल्लेख्य रूपमा बढेको देखिन्छ । गतवर्ष ग्रान्ड बैंक प्रभुमा र लुम्बिनी बैंक बैंक अफ काठमाडौंमा गाभिएका थिए ।

बैंकहरूको नाफा बढ्नुको पहिलो कारण पुँजी वृद्धि भएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडाले बताए । गत वर्षसम्म ७०.७५ प्रतिशतसम्म रहेको कर्जा निक्षेप अनुपात समीक्षा अवधिमा बढेर ८० प्रतिशतभन्दा माथि पुगेको छ । ‘राम्रो’ लगानी भएको र निष्क्रिय कर्जा करिब दुई प्रतिशतमा झरेको तथा बचतकर्तालाई थोरै ब्याज दिएका कारण बैंकहरूको नाफा बढेको उनको भनाइ छ ।

गत वर्षको पुससम्म जम्मा चारवटा वाणिज्य बैंकले मात्रै एक अर्बभन्दा बढी नाफा कमाउन सफल भएका थिए । यस वर्ष प्रभु र हिमालयन बैंक ६ महिनामै अर्बभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा थपिएका हुन् । गत पुससम्म नेपाल बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा साढे एक अर्बभन्दा माथि छ भने राष्ट्रिय वाणिज्य बैंक, प्रभु र हिमालय बैंकको नाफा पनि एक अर्बभन्दा माथि छ ।

यस वर्षको दोस्रो त्रैमासिकसम्म २६ वटा निजी बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक छ भने निजीतर्फको दोस्रो बढी नाफा कमाउने बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक छ । यी दुबै बैंकले गत वर्षको भन्दा क्रमशः २९.३५ र ४७ प्रतिशतले बढी नाफा कमाएका हुन् । प्रभु बैंकले गत वर्षको तुलनामा १७४.२१ र हिमालयन बैंकले २८.१३ प्रतिशत बढी नाफा कमाएकाको आजको अन्नपुर्ण दैनिकले समाचार छापेको छ । 
यस वर्षको पुस मसान्तसम्म ३ वटा वाणिज्य बैंकले साढे एक अर्बभन्दा बढी नाफा कमाएका छन् भने ३ बैंकको नाफा अर्बभन्दा माथि छ ।सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा परेको नेपाल बैंकले यस वर्षको समीक्षा अवधिमा एक अर्ब ८९ करोड नाफा कमाएको छ । सो नाफा गत वर्षको सोही अवधिको भन्दा ८०.८० प्रतिशतले बढी हो भने वाणिज्य बैंकको नाफा १३.६० प्रतिशतले बढेको छ ।

यस वर्षको दोस्रो त्रैमासिकसम्म नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले सबैभन्दा कम नाफा कमाएको छ । गत वर्षको पुससम्म २४ करोड ६८ लाख नाफा कमाएको उक्त बैंकले यस वर्ष यो अवधिसम्म ७ करोड ७६ लाख १९ हजार मात्र नाफा कमाएको छ ।

यस वर्षको बीचमा बैंकले मर्जरको प्रक्रियामा विभिन्न समस्या झेल्नुपरेकाले अन्य बैंकहरूको तुलनामा कम नाफा कमाएको हो । यस वर्षको सो अवधिमा जनता बैंकले १६ करोड १३ लाख नाफा कमाएको छ भने सिभिल बैंकले १६ करोड ७३ लाख नाफा कमाएको छ ।

नेपाल राष्ट्र बैंकले यस वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूको चुक्ता पुँजी बढाएर अर्ब र्पुयाउन गरेको निर्देशनका कारण बैंकहरूले लगानी विस्तार गर्दा नाफा बढ्न गएको हो । गत वर्षको असार मसान्तसम्म १३ खर्ब ८२ करोड १२ लाख रहेको वाणिज्य बैंकहरूको कर्जा प्रवाह यस वर्षको यो अवधिसम्म आइपुग्दा १५ अर्बभन्दा माथि कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले त्रैमासिक सकिएको एक महिनाभित्र अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ । भूकम्प र नकाबन्दीका कारण अधिक तरलता खेपिरहेका बैंकहरूले त्यसपछिका दिनमा लगानी बढाउँदा उनीहरूको नाफा बढ्न गएको हो ।

त्यसो त वित्तीय क्षेत्र विभिन्न व्यवसायमध्ये पारदर्शी र नियामक निकायको निर्देशनमा रहेर कार्य सम्पादन गर्ने क्षेत्र भएकाले पनि यसको प्रभाव राम्रो देखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले बताउँदै आएका छन् । उनका अनुसार पछिल्लो समय लगानीको क्षेत्र विस्तार हुँदै जानुले पनि नाफा बढ्न सहयोग पुगेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको