Like us!
Follow us!
Connect us!
Watch us!

१ र २१ जेठमा स्थानीय तहको निर्वाचन प्रस्ताव

विहीबार, ०५ फागुन २०७३, ०९ : ३७ मा प्रकाशित

१ र २१ जेठमा स्थानीय तहको निर्वाचन प्रस्ताव

काठमाडौं-निर्वाचन आयोगले जेठमा स्थानीय तहको निर्वाचन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको छ । ८ फागुनभित्रै निर्वाचन मिति घोषणा गर्न आयोगले सरकारलाई प्रस्ताव गरेको छ ।

आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने प्रस्ताव तयार गरेको छ । पहिलो चरणको १ जेठ र दोस्रो चरणको निर्वाचन २१ जेठमा गर्ने कार्यतालिका आयोगले सरकारलाई बुझाएको छ । सोही कार्यतालिकाका आधारमा सरकारले निर्वाचन मिति घोषणाको तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन मिति घोषणाको तयारीका लागि बुधबार निर्वाचन आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् । आयोगको प्रस्तावित कार्यतालिकाअनुसार नै निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भएको यादवले बताए ।

उनका अनुसार निर्वाचन तयारी गर्न आवश्यक जनशक्ति र आर्थिक व्यवस्थापनका लागि पनि चिन्ता नगर्न प्रधानमन्त्री प्रचण्डले आश्वस्त पारेका छन् । ‘प्रधानमन्त्रीले निर्वाचन आयोगको प्रस्तावित कार्यतालिकाअनुसार नै अगाडि बढ्ने हो भनेर विश्वास दिलाउनुभएको छ,’ डा। यादवले नयाँ पत्रिकासँग भने ।

आयोगको प्रस्तावित कार्यतालिकाअनुसार स्थानीय तहका गाउँपालिका र नगरपालिकाका कार्यालय स्थापना र सञ्चालन ८ फागुनभित्र भइसक्नुपर्नेछ । ती कार्यालय सञ्चालनमा आएकै दिन निर्वाचन मिति घोषण भएको अवस्थामा काम गर्न सहज हुने आयोगका सचिव गोपीनाथ मैनालीले बताए । ‘स्थानीय तहको निर्वाचनका लागि गाउँपालिका र नगरपालिकाको सीमा र केन्द्र अनिवार्य आवश्यक हुन्छ,’ मैनालीले नयाँ पत्रिकासँग भने ।

मतदान केन्द्र पुनरावलोकन फागुन दोस्रो सातादेखि चैत पहिलो सातासम्ममा गर्ने आयोगको प्रस्ताव छ । सोही अवधिमा मतदाता नामावली अद्यावधिक गर्ने तथा मतदाता नामावली प्रशोधन र ठेगाना अद्यावधिक भने चैत तेस्रो सातासम्म गर्ने आयोगको प्रस्ताव छ ।

पहिलो चरणमा मतदान हुने जिल्लाका लागि मतपत्र छपाइ चैत महिनाभर हुनेछ । आयोगले सरकारलाई गरेको प्रस्तावित कार्यतालिकाअनुसार मतदाता शिक्षा र तालिम सञ्चालन भने चैतको पहिलो सातादेखि वैशाखभर हुनेछ ।

पुनर्संरचना आयोगको टिओआरसहित म्याद थपौँ स् मोर्चा
स्थानीय तहको प्रतिवेदनमाथि सुझाब दिन मन्त्रिपरिषद्ले गठन गरेको अध्ययन तथा सुझाब समितिलाई मधेसी मोर्चाका नेताहरूले स्थानीय तह पुनर्संरचना आयोगको टिओआर थप गरी म्याद थप्न सुझाब दिएका छन् ।

बुधबार भएको छलफलमा मोर्चाका नेताहरूले आयोगले तयार गरेको प्रतिवेदन मान्य नभएको भन्दै टिओआर परिवर्तन गर्न सुझाब दिएका हुन् । शीर्ष तहमा छलफल गरी स्थानीय तहको संख्याबारे टुंगो लगाउने वातावरण बनाउन पनि मोर्चाका नेताहरूले आग्रह गरेका छन् ।

छलफलमा मोर्चाका नेताहरूले प्रतिवेदन अध्ययन नै नगरेका कारण सुझाब दिन नसकिने बताएका थिए । स्थानीय तहलाई प्रदेशको मातहतमा राख्ने सैद्धान्तिक मत मोर्चाको रहेकाले पहिला यसैमा प्रस्ट पार्नुपर्ने धारणा आफूहरूले राखेको छलफलमा सहभागी मोर्चाका नेता केशव झाले जानकारी दिए ।

यसअघि मोर्चाका नेताहरूको बैठकमा समितिसँग छलफल गर्ने–नगर्ने भन्ने टुंगो थिएन । तर, बैठकले आफूहरूको दबाबमा बनेको उच्चस्तरीय समितिसँग छलफल गर्ने निर्णय गरेको थियो ।

हामी निर्वाचनको तयारीमा जुटेका छौँ
डा. अयोधीप्रसाद यादव 
प्रमुख आयुक्त, निर्वाचन आयोग

प्रधानमन्त्री प्रचण्डले जेठमा हुने स्थानीय तहको निर्वाचनका लागि अगाडि बढ्नुहोस् भन्नुभयो । जेठमै निर्वाचन हुनेमा उहाँले मलाई विश्वास दिलाउनुभएको छ । आयोगलाई आवश्यक जनशक्ति र आर्थिक व्यवस्थापनमा चिन्ता नगर्नु पनि भन्नुभएको छ । मैले प्रधानमन्त्रीलाई स्थानीय तहको निर्वाचनका लागि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आवश्यक पर्छ र त्यो नभई हुँदैन भनेको थिएँ । उहाँले तुरुन्तै आउँछ, चिन्ता नगर्नु भन्नुभयो । प्रतिवेदन चाँडै आउँछ भनेर आयोगले आशा गरेको छ । हामी निर्वाचन तयारीमा अगाडि बढेका छौँ ।

प्रस्तावित निर्वाचन कार्यतालिका 

  • ८ फागुन स् स्थानीय तह निर्वाचन गर्न कार्यालय सञ्चालन

  • ८ फागुन स् स्थानीय निर्वाचन मिति घोषणा

  • फागुन दोस्रो सातादेखि जेठसम्म स् निर्वाचन आचारसंहिताको कार्यान्वयन र अनुगमन

  • फागुन दोस्रो सातादेखि चैत पहिलो सातासम्म स् स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल दर्ता

  • फागुन दोस्रो सातादेखि चैत पहिलो सातासम्म स् मतदान केन्द्र पुनरावलोकन

  • चैत पहिलो साताभित्र स् निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक

  • चैत तेस्रो साता स् मतदाता नामावली प्रशोधन र ठेगाना अद्यावधिक

  • चैतभर स् पहिलो चरणमा मतदान हुने जिल्लाका लागि मतपत्र छपाइ

  • वैशाख तेस्रो साता स् निर्वाचनका अन्य आवश्यक सामग्री व्यवस्थापन

  • चैतको पहिलो सातादेखि वैशाखभर स् मतदाता शिक्षा र तालिम सञ्चालन

  • वैशाख पहिलो साता स् पहिलो चरणमा निर्वाचन हुने जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन

  • १ जेठ स् स्थानीय तहको पहिलो चरणको निर्वाचन

  • वैशाख दोस्रो साता स् दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन

  • २१ जेठ स् दोस्रो चरणको स्थानीय तहको मतदान


योगेश ढकाल/नयाँ पत्रिका

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको