Like us!
Follow us!
Connect us!
Watch us!
अमेरिका र युरोपबाट धेरै लगानी जम्मा

सगुनमा जुट्यो १० करोडभन्दा बढी लगानी

सोमबार, ०२ फागुन २०७३, १२ : १३ मा प्रकाशित

सगुनमा जुट्यो १० करोडभन्दा बढी लगानी

अर्थ संसार
काठमाडौं–नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा उत्साहजनक सहभागिता देखिएको छ ।सार्बजनिक निस्कासन गरेको तीन दिनमै सगुनमा १ हजारभन्दा बढीले लगानी गरेका छन् ।

उनीहरुले १० लाख डलर (करिव १० करोड रुपैयाँ) भन्दा बढी लगानी गरेको सगुनका संस्थापक गोविन्द गिरीले जानकरी दिए । ‘एउटा स्टार्ट अप कम्पनीले सेयर निस्कासन गरेको ७२ घन्टा नवित्दै यतिधेरै रकमको आवेदन परेकाले हामी निकै उत्साहित भएका छौं, उनले भने, ‘हामीले छिट्टै टार्गेट मिट गर्ने लक्षण देखिएको छ ।’ उनले खासगरी अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक सहभागिता देखिएको बताए ।

सगुनले मिनी आइपीओमार्फत २ करोड डलरको सेयर निस्कासन गरेको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नु पर्छ । यस हिसाबले कम्तीमा २९९ डलर लगानी गर्नुपर्ने हुन्छ । सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी)ले अघिल्लो साता मिनी आइपिओ जारी गर्न अनुमति दिएको थियो ।

विदेशमा शनिबार र आइतबार सार्बजनिक विदा हुने भएकाले लगानीकर्ताको सबै तथ्यांक आइनसकेको सगुनले जनाएको छ । नेपालीले पहिलो पटक अनलाइनबाट आवेदन गन पाएकाले सबैमा चासो, कुतुहल र अन्यौल पनि देखिएको छ । अमेरिकाबाहेक अन्य मुलुकबाट आवेदन गर्दा अनलाइन फर्म भरेपछि प्राप्त हुने कन्फर्मेसन फर्म लिएर बैंकमा जानु पर्ने हुन्छ । बैंकले त्यसलाई स्वीकारेर रकम स्थानान्तरण गरिदिने हुनाले केही लगानीकर्ताले प्रक्रिया लामो र झण्झटिलो भएको गुनासो गरेका छन् ।

लगानीकर्ताले रकम पठाइसकेपछि ब्रोकिङ फर्मले लगानीको स्रोतको समेत छानविन गरेर स्वीकृति दिएपछि मात्रै सगुनको खातामा रकम पुग्ने हुन्छ । यसरी विभिन्न चरण पार गर्नु पर्ने भएकाले कति लगानी जम्मा भयो भन्ने यकिन तथ्यांक आउन अझै केही समय लाग्ने सगुन इंकले जनाएको छ ।

ग्लोबल सेयर मार्केटमा आफ्नै दाजुभाइले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेकाले विदेशमा बस्ने नेपाली निकै उत्साहित भएका छन् । प्रवासमा रहेका हरेक नेपालीले सगुनमा लगानी गर्न पाउनुलाई अभूतपूर्व अबसरका रुपमा लिएका छन् । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा ठूलै लगानी भित्र्याउने घोषणा गरिसकेकाले नेपालमा समेत तरंग ल्याएको छ ।

मिनी आइपिओ के हो ?
सगुनले भर्खरै अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकामा मिनि आइपीओ निस्कासन गर्ने अनुमति पाएको हो । मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।

सगुन डटकम के हो ?
सगुन इंक अमेरिकामा दर्ता भएको स्टार्टअप आइटी कम्पनी हो । यसले भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर आफ्ना प्रोडक्टहरु डेभलपमा लागिरहेको छ । एक अर्कालाई सामाजिक संजालमा जोड्ने फरक प्लेटफर्म उपलब्ध गराउने र यसले आफ्ना प्रयोगकर्ता बढाएर गरेको आय तिनै प्रयोगकर्तालाई बाँड्ने फरक अवधारणाका साथ  ब्यवसायिक योजना सार्बजनिक गरेको छ ।

कस्तो प्रतिफल देला सगुनले ?
स्टार्ट अप कम्पनी भनेको भोलि राम्रो विस्तार हुन सक्ने सम्भावना भएको कम्पनीको सुरुआतको स्टेज हो । यस्तो अबस्था फेसबुक सुरुआत हुँदा ताका थियो । अहिलेको सगुनको अबस्था आजभन्दा १० बर्षअघि अहिलेको चर्चित कम्पनी फेसबुकको थियो । लगानी जुटाउन त्यति बेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्नु परेको थियो ।

त्यतिखेर सर्बसाधारणलाई त्यस्ता कम्पनीमा लगानी गर्न पाउने कानुन थिएन । त्यसैले ठूला लगानीकर्ताहरुले फेसबुकमा त्यतिखेर गरेको लगानीबाट १ हजार २ सय गुना कमाइ गरिसकेका छन् । अहिले दोस्रो बजारमा फेुसबुकको सेयर किन्न चाहनेहरुले त्यही बढेको मूल्य तिर्नुपर्छ । अहिले किनेको सेयरले त्यति प्रतिफल दिने कल्पना गर्नै सकिन्न । त्यसको बजार विस्तारको सीमा निकै साँघुरो भइसकेको छ ।

सगुनमा अहिले लगानी गर्दा भोलि यसले आफ्नो स्वरुप फेसबुकले जस्तै विस्तार गरेको अबस्थामा त्यसको प्रतिफलको हकदार तिनै सेयरधनी हुने छन् । नेपालकै उदाहरण हेर्दा एक दशकअघि नेपाल लिभरको १ हजार रुपैयाँको सेयर किन्नेहरुको सेयर मूल्य अहिले ३ लाख रुपैयाँ नाघेको छ ।

तीन दशकअघि तत्कालीन नेपाल अरब बैंक (अहिलेको नविल बैंक) मा ६ सय रुपैयाँ लगानी गर्नेहरुको सम्पत्ति अहिले १ लाख रुपैयाँभन्दा बढी भएको छ । लगानीकर्ताले बर्षेनी पाएको नगद लाभांशको त हिसावै छैन । नेपाल लिभरका १० वटा सेयरमा १ हजार लगानी गर्नेहरुले यस बर्षमात्र १० हजार रुपैयाँ नगद लाभांश बुझेका छन् ।

सुरुआतको कम्पनी भएको सगुनको भविष्यको अनुमान अहिल्यै लगाउन सकिन्न । त्यसैले यसमा लागनी गर्नु जोखिम मोल्नु जस्तै हो । त्यसैले बजारमा यसको सेयर मूल्य पनि कम छ । हुनतः सगुनको सुरुआतमा लगानी गर्ने संस्थापक लगानीकर्ताको सम्पत्तिको बजार मूल्य अहिले २३ गुणाले बढी सकेको छ । त्यसैले सगुनले प्रतिसेयर २३ डलरका दरले मिनी आइपिओ विक्री गर्ने अनुमति पाएको हो । भोलि यही दरमा मूल्य नबढ्ला भन्न सकिन्न ।
 
कहाँबाट गर्न सकिन्छ लगानी ?
सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न सकिन्न । नेपालको कानुनले विदेशमा लगानी लैजान रोक लगाएको छ । संसारका अन्य अधिकांश मुलुकबाट मिनी आइपिओमा लगानी गर्न सकिन्छ । तोकिएको कित्ता बराबरको आवेदन जम्मा भएपछि सेयर निस्कासन बन्द हुन्छ ।

कसरी गर्ने लगानी ?
सगुन डटकम/इन्भेस्टमा त्यहाँ दिइएको फर्म भरेर लगानी गर्न सकिन्छ । अमेरिकामा रहेकाहरुले विद्युतीय माध्यमबाट रकम तिर्न सक्नेछन् । त्यसका लागि बैंक खाता नम्बर र बैंकको राउटिङ नम्बर आवश्यक पर्छ । उनीहरुले चेकबाट पनि रकम तिर्न सक्नेछन् ।

अमेरिका बाहिर बसोबास गर्नेहरुले भने विद्युतीय माध्यमबाट मात्र पठाउन सक्छन् । लगानीकर्ताले किनबेच विवरणपत्र र सेयर दलाल कम्पनीको बैंक खाताको विवरण स्थानीय बैंकलाई उपलब्ध गराएपछि स्थानीय बैंकले रकम पठाइ दिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको