Like us!
Follow us!
Connect us!
Watch us!

एक महीनामा १०६ मा डेङ्गु

निशा पाण्डे

विहीबार, ०५ भदौ २०७६, १२ : ५१ मा प्रकाशित

एक महीनामा १०६ मा डेङ्गु

अर्थ संसार, काठमाडौं – साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् ।

भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेङ्गुको जोखिम देखिएको केसीले जानकारी दिनुभयो । महानगरको कमलनगर, पुलचोक क्षेत्र बढी प्रभावित रहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमण बढेसँगै डेङ्गुको प्रकोप फैलन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहनसमेत आग्रह गरेको छ । महानगरका १, २, ३, ४, १० नं वडा डेङ्गुको उच्च जोखिममा रहेको किट नियन्त्रक केसीले बताउनुभयो । यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटल धेरै छन् ।

ती स्थानमा बढी डेङ्गुको जोखिम देखिएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/७६ मा एक हजार ९५१ जनाको रक्त परीक्षण गरिएकामा ३१ जनामा सो रोग देखिएको थियो । डेङ्गु रोग एडिस एजेप्टाइ नामको पोथी लामखुट्टेको टोकाइबाट लाग्दछ । यो लामखुट्टेको टोकाइबाट बच्नसकेमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने हुँदा सतर्क रहन केसीले सुझाव दिनुभयो । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार डेङ्गुको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, कम्मर दुख्ने, रक्तचाप परिवर्तन भइरहने, झाडाबान्ता हुने लगायतका सङ्केत देखिएका छन् ।

अघिल्ला वर्षमा तीन दिनमा मात्रै सङ्क्रमण देखिने गरेको भए पनि अहिले शुरुकै दिनमा सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो । साधारणतया भदौदेखि कात्तिकसम्म डेङ्गुको सङ्क्रमण जोखिम उच्च रहन्छ । तर साउन महीनामा नै धेरै सङ्ख्यामा बिरामी देखिएको हो । जिल्लामा सन् २०१०, २०१३ र २०१६ मा डेङ्गु महामारीकैरुपमा फैलिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको