Like us!
Follow us!
Connect us!
Watch us!

किस्तामा ५० लाख माग्दा ३० लाख दिन्छु भनेँ...

अर्थ संसार

शनिबार, २५ साउन २०७६, १९ : २६ मा प्रकाशित

किस्तामा ५० लाख माग्दा ३० लाख दिन्छु भनेँ...

 नारायण ढुङ्गाना

अर्थ संसार, काठमाडौं- रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महीनादेखि निक्कै तनावमा हुनुहुन्थ्यो । अपरिचित व्यक्तिबाट फोनमार्फत रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरहयो । त्यसैले उहाँ पछिल्लो समयमा गाउँपालिका फर्कनु भएको थिएन । काठमाडौँस्थित घरमा बस्नुहुन्थ्यो ।

खड्काले रासससँग भन्नुभयो, “यति बजे त घरबाट निस्किस्, फलानो ठाउँमा पुगिस्, तैले यस्तो कपडा लगाएको छस्, एक पटकलाई केही नगरौँ भनेर छाडेका हौँ र आज त बाँचिस्, सधैँ यस्तो हुन्न, भनेर भन्यो ।” “मैले जे गतिविधि गरिरहेको हुन्छु त्यो सबै फोनबाट भन्थ्यो, यस्तो भएपछि कसलार्ई डर लाग्दैन रु” उहाँले थप्नुभयो ।

विक्षिप्त मन लिएर बस्दै गर्दा एकाएक शुक्रबार उहाँलाई प्रहरीबाट फोन आयो, “ल तपाईंलाई धम्की दिने मान्छे हामीले पक्राउ गरेका छौँ, ट्रमा सेन्टरमा राखिएको छ ।”

आफूलाई पैसा मागेर मार्ने भन्दै दिनहुँ धम्की दिएर सताइरहने व्यक्ति पक्राउ परेको खबरले उहाँ खुशी हुँदै ट्रमा सेन्टरमा जानुभयो । जब त्यो व्यक्तिलाई देख्नुभयो, त्यसपछि उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । आफ्नै गाउँपालिका–७ का व्यक्ति थिए उनी । उनको वास्तविक नाम बाबुराम तामाङ हो । तर उनले लोप्साङ र मिलनको नामसमेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

खड्काको उजूरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शुक्रबार काठमाडौं महानगरपालिका १५ स्वयम्भूको विजेश्वरी हाउजिङस्थित एक क्याफेमा बाबुराम तामाङलाई फेला पारेको थियो ।

नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिँदासमेत अटेर गरी भाग्न खोजेपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो । उनका सहयोगी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

खड्काका अनुसार उनले रु दुई करोडको माग गर्दै पैसा नदिए परिवारकै अपहरण गरेर मार्ने धम्की तारन्तार दिएका थिए । यो कुरा फोन रेकर्डमासमेत छ । कुराकानीका क्रममा अहिले किस्तामा रु ५० लाख दिए हुन्छ बाँकी विस्तारै दिनुहोला भनेको थियो । यति गरेपछि गाउँपालिकाको विवाद सल्टिने कुरासमेत फोनमै भनेको थियो । गाउँपालिका अध्यक्ष खड्काले गत वैशाखमा वडा नं– ७ का वडाध्यक्ष सुवास बोहरासँग गाउँपालिकाको सभामा विवाद भएको कुरा बताउनुभयो । सो बेला बोहराकै पक्ष लिनेमध्यका एक बाबुराम रहेको उहाँको भनाइ छ । उनी वडाध्यक्ष सुवास बोहराको छिमेकीसमेत हुन् । बोहरालेसमेत बाबुराम आफूले चिनेको आफ्नै वडाको भएको रासससँग बताउनुभयो ।

 त्यही विवादबाट शुरु भएको घटना यहाँसम्म आइपुगेको दाबी खड्काको छ । वडाध्यक्ष बोहराले भने खड्काको आरोप अस्वीकार गर्नुभएको छ । फोनको धम्की र पैसाको बार्गेनिङ चल्दै गयो । “मैले ३० लाखसम्म दिने बताएँ, तर उसले अडान छाडेको थिएन, पैसा दिनका लागि नेपालगञ्ज या कोहलपुर आउन भनेको थियो ।” खड्काले भन्नुभयो । रातिराति फोन आउने धम्की दिने र परिवारकोसमेत अपहरण गर्ने धक्की आउन छाडेन । परिवारै पीडामा थियो ।

साउन १८ गते पनि त्यस्तै फोन आएको थियो । उसले विगत झैँ धम्की दिन छाडेन । यही साउन २० गते फेरि वडाध्यक्ष सुवास बोहराको नाम लिएर रु दुई करोडको व्यवस्था गर्नुहोस्, त्यसपछि गाउँपालिकामा जाने वातावरण बन्छ भनेर धम्की दिएको उहाँले सुनाउनुभयो । अति भएपछि उहाँले साउन २१ गतेबाट भने सबै वार्तालापको अभिलेख राख्न शुरु गर्नुभएको थियो । त्यो अभिलेखको विवरण पेन ड्राइभ मै हालेर उहाँले महानगरीय अपराध महाशाखालाई बुझाउनुभएको छ ।

आर्थिक सहायता गर्ने भए गाउँपालिकाको विवाद सबै मिलाउँछौँ भनेर धम्की आउन छाडेको थिएन । पैसा नदिने भए मार्छौँ भनेपछि असह्य पीडा भयो । लगत्तै गृहसचिव प्रेमकुमार राईमार्फत घटना प्रहरीकहाँ पुग्यो । त्यसपछि खड्काले प्रहरीमा उजूरी दिनुभयो । त्यही उजूरीको आधारमा विगत २२ गतेदेखि महानगरीय अपराध महाशाखाले धम्की दिनेको खोजी थालेको थियो ।

गाउँपालिका–७ का वडाध्यक्ष सुवास बोहराकै कारण आफूलाई धम्की आएको दाबी खड्काको छ । वैशाख १३ को गाउँ सभामासमेत बोहरासँग ठूलै विवाद निस्किएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई धेरै ठाउँबाट मिल्न दबाब आएको छ, म अडिग छु, अपराधीलाई कारवाही गर्नुपर्छ ।”

वडाध्यक्ष सुवास बोहराले गाउँपालिकाको विद्युतीकरण विषयमा विवाद हुँदा हामीलाई मिटिङबाट निकालेको र त्यसपछि अध्यक्षसँग सम्पर्क नै नभएको जिकिर गर्नुभएको छ । उक्त घटनाको विषयमा बोल्दै बोहराले भन्नुभयो, “विवाद भएको चाही दुई महीना भइसक्यो, तर पक्राउ परेका व्यक्तिसँग साठगाँठ भनेर जसरी आरोप लगाइएको छ, उनीहरुसँग बोलचाल साठगाँठ मेरो केही छैन ।” उहाँले शुक्रबारै विज्ञप्ति जारी गरी घटनामा आफ्नो सङ्लग्नताको खण्डन गर्नुभएको छ ।

बाबुराम तामाङ आफ्नै वडाका व्यक्ति भएको बताउँदै उहाँले आफूलाई फसाउन गलत आरोप लगाइएको दाबी गर्नुभयो । “आरोप पुष्टि गर्न भन्दै मैले विज्ञप्ति जारी गरेको छु, उहाँलाई धम्की कसरी गयो मलाई थाहा छैन”, वडाध्यक्ष बोहराले भन्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको