Like us!
Follow us!
Connect us!
Watch us!

महानगरीय प्रहरी कार्यालय भन्छ उपत्यकामा अपराध बढ्यो

मिलन खड्का

शुक्रबार, २४ साउन २०७६, १५ : २९ मा प्रकाशित

महानगरीय प्रहरी कार्यालय भन्छ उपत्यकामा अपराध बढ्यो

अर्थ संसार, काठमाडौं–  काठमाडौँ उपत्यकामा विगतका वर्षको तुलनामा अपराधको सङ्ख्यामा वृद्धि भएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आव २०७५/७६ मा अपराधको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७४/७५ मा आठ हजार ३८५ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा उक्त सङ्ख्या बढेर १० हजार १५९ मुद्दा दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढी हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बढ्दो जनसङ्ख्या र प्रहरीको सक्रियतासँगै उपत्यकामा अपराधको सङ्ख्या बढेको बताउनुहुन्छ । 

“आव २०७५/७६ मा काठमाडौँमा आठ हजार ४६०, भक्तपुरमा ६७९ र ललितपुरमा एक हजार २० मुद्दा दर्ता भएको थियो”, उहाँ भन्नुहुन्छ । मुलुकको राजधानी काठमाडौँ उपत्यकामा देशभरका मानिस आएर बसोबास गर्ने ठाउँ भएकाले पनि यहाँ धेरै अपराध हुने गरेको उहाँको भनाइ छ । 

नेपाल प्रहरीले उपत्यकामा हुने अपराधलाई पत्ता लगाउन मुख्य त सिसिटिभीमार्फत अपराधी पत्ता लगाउँदै आएको छ । महानगरीय प्रहरी कार्यालयअन्तर्गत काठमाडौँमा १५, भक्तपुरमा तीन र ललितपुरमा तीन प्रहरी कार्यालयबाट मुद्दा चलाउने व्यवस्था गरिएको छ । उपत्यकाको सुरक्षाका लागि नेपाल प्रहरीले झण्डै १२ हजार जनशक्ति खटाएको छ । 

 

मुलुकभर अपराध घट्यो 

काठमाडौँ उपत्यकामा विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा अपराधको सङ्ख्यामा वृद्धि भएपनि देशभर भने अपराधको सङ्ख्यामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७४/०७५ मा ३९ हजार ३१५ अपराधका मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा उक्त सङ्ख्या घटेर ३८ हजार ३८९ मुद्दा दर्ता भएको थियो । 

प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै देशभर अपराधको घटनामा कमी आएको बताउनुहुन्छ । “प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि अपराधका घटनामा कमी आएको छ”, उहाँ भन्नुहुन्छ । 

देशभर ७५ हजारको हाराहारीमा प्रहरी कर्मचारीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् । जिल्लामा भने जिल्ला प्रहरी कार्यालयमार्फत मुद्दा चल्ने गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको