Like us!
Follow us!
Connect us!
Watch us!

पुल नहुँदा पढाइ छोड्न बाध्य

रबिन दङगाल

शुक्रबार, १० साउन २०७६, ११ : २० मा प्रकाशित

पुल नहुँदा पढाइ छोड्न बाध्य

अर्थ संसार, नवलपरासी- वर्षाको मौसमसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् । माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका–१२ भूमही पुग्नुपर्ने बाध्यता रहेका त्यहाँका बालबालिका स्थानीय डम्बरभार खोलामा पुल नभएकै कारण विद्यालय जान नपाएका हुन् । 

हिँउदमा खोलामा पानी नहुने भएकाले सजिलै आवातजावत गर्ने उनीहरु अहिले खोला बढेपछि पढाइ छोड्न बाध्य भएको स्थानीयवासी देवान गुरुङले जानकारी दिए । “बर्दघाट र सुनवल नगरपालिका जोड्ने गरी सुखौरा र जर्गाहाको बीचमा रहेको डम्बरभार खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्छ, स–साना बालबालिका तर्न सक्ने अवस्था हुँदैन, वर्षाभरि हाम्रा बालबालिका विद्यालयबाट वञ्चित हुनुपरेको छ ।”, उनले भने। 

त्यहाँका ५० बढी विद्यार्थी मावि तह तथा क्याम्पस तहको पढाइका लागि भूमहीका विभिन्न विद्यालयमा अध्ययनरत छन् । बर्दघाटमा पर्ने सुखौरामा प्राथमिक तहभन्दा माथिको विद्यालय नहुँदा यहाँका विद्यार्थी सुनवलको भूमहीमा पढ्न आउनुपर्ने बाध्यता छ । खोला बढेपछि त्यस क्षेत्रमा सञ्चालन हुने यातायात बन्द भएको छ । 

खोलामा पानी बढेपछि जोखिम मोलेर तर्नुपर्ने बाध्यताका कारण धेरै बालबालिकाले बीचमै पढाइ छाड्नुपर्ने अवस्था रहेको सोही गाउँबाट भूमहीको मोतीलाल क्याम्पसमा स्नातक अध्ययनरत नेत्रबहादुर थापाको गुनासो छ । भूमही–जर्गाहा–धुरकोट सडकखण्डअन्तर्गत उक्त खोलामा प्रदेश नं ५ स्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोडको बजेटमा असारभित्रै सम्पन्न गर्ने गरी आरसिसी भेन्टेड कजवे पुल निर्माण थालिएको थियो । पुल समयमा नबनेपछि यस वर्ष पनि यहाँका स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । 

पुल निर्माण समयमा सम्पन्न हुने र आफूहरुलाई सहज हुने विश्वास गर्दै खुशी भएका स्थानीयवासी अहिले निराश बनेको स्थानीयवासी गुरुङले बताउनुभयो । पुल निर्माणको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । समयमा पुल निर्माण नभएपछि रु ४० लाख ‘फ्रिज’ भएको छ । चालू आव २०७६-०७७ का लागि पुनः मन्त्रालयले रु ८० लाख बजेट विनियोजन गरी सडक कालोपत्रे र अधुरो पुल निर्माण गर्ने योजना बनाएको प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए ।

मन्त्री चौधरीले सुखौरावासीले सडक, पुल, शिक्षा, जग्गालगायतमा भोग्दै आएको समस्या समाधानमा पनि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए । सुखौरामा करीब १४० घरधुरी छन् । भौगोलिकरूपमा विकट रहेको सुखौराका नागरिकले दैनिक उपभोग्यलगायतका सामान किनमेलका लागि पनि भूमही नै पुग्नुपर्ने बाध्यता छ । खोला बढेको र पुल पनि नभएपछि अहिले निकै समस्या भएको स्थानीयको गुनासो छ । 

तिरुपति निर्माण तथा सप्लायर्स सुनवल नवलपरासीले निर्माणको जिम्मा पाएको उक्त पुल लम्बाइ ३५ मिटर, चौडाइ छ मिटर र उचाइ तीन मिटर र दशवटा बक्सको कजवे निर्माण हुनेछ । उक्त खोलामा पुल नहुँदा सुखौराका बासिन्दा आफ्नै वडा कार्यालय जान, बजार आवतजावत गर्न तथा बालबालिकालाई वर्षाको समयमा विद्यालय छाड्नुपर्ने बाध्यता रहेको हो । 

प्रशासनिक र राजनीतिक हिसाबले बर्दघाट नगरपालिकामा परे पनि सुखौराका बासिन्दा सामाजिक र वित्तीय पहुँचको दृष्टिले सुनवल नगरपालिकामा निर्भर छन् । “पुल नहुँदा हामीले धेरै सास्ती पाउनुपरेको छ, सडकसमेत ग्राभेलमात्र छ, आवतजावत गर्न कठिनाइ भइरहेको छ, एम्बुलेन्स आउन नसक्दा औषधि उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने, किनमेलका लागि बजार आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।”, गुरुङले भने ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको