Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोमा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता

रबिन दङगाल

मंगलबार, ०७ साउन २०७६, १२ : २७ मा प्रकाशित

पहिरोमा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता

अर्थ संसार, बुटवल-गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा एकै परिवारका दुई जना र वडा नं ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोमा अन्य पाँच जना हराइरहेका छन् । 

सत्यवती गाउँपालिका–४ लिम्घामा खसेको पहिरोले स्थानीय दलित बस्तीका तीन घरमा क्षति पुर्याएको सोही वडाका वडा सदस्य डिल्लीराज भट्टराईले जानकारी दिए। “मृतकको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन कठिनाइ भएको छ, कसैको टाउको थिचिएको छ, कसैको शरीर नै चुडिएको छ”, सदस्य भट्टराईले टेलिफोनमा भने। 

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सो गाउँपालिका–३ मा एकै परिवारका आमा छोरा गरी दुई जनाको र वडा नं ४ मा चार जनाको शव स्थानीय र प्रहरीको प्रयासमा निकाल्ने काम भएको र अन्य पाँच जना बेपत्ता भएको पुष्टि गरे । प्रजिअ पौडेलका अनुसार वडा नं ३ मा ३४ वर्षीया तिलकुमारी तरामु र उहाँका नौ वर्षीय छोरा दर्शनको मृत्यु हुनुका साथै वडा नं ४ मा हेमन्त विक, पङ्खु विक, अञ्जली विक र छली विकको शव निकालिएको र अन्य पाँच जनासमेत हराइरहेकाले पहिरोमा खोज्ने काम भइरहेको जानकारी दिए।

पहिरो खस्ने क्रम नरोकिएको र पहिरोबाट अन्य घरसमेत जोखिममा रहेकाले त्यहाँका सम्पूर्ण जनतालाई नजिकैको विद्यालयमा राखिएको समेत उनले जानकारी दिए।    प्रजिअ पौडेलका अनुसार भौगोलिक विकटताका कारण सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा केही समयमै पुग्ने र पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भएको बताए ।

लगातार पानी परिरहेकाले उद्धार गर्न कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए । लगातार पानी परिरहेको र ठाउँठाउँमा पहिरोले बाटोसमेत भत्किएकाले घटनास्थलमा पुग्न समय लाग्ने अध्यक्ष ढकालले जानकारी दिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको